सेनाको पल्टन विदेशतिर सुटुक्क
राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जानुअगाडि नै नेपाली सेनाको एउटा टुकडी त्यतै गएको छ । संयोग पनि कस्तो भने सन् १९७५ मा भारतले एकार्काबाट अलग्याइदिएका दुई मुलुक बंगलादेश र पाकिस्तानमा फागुन २९ गते विदेशी सैनिकसहित यहाँबाट दुई टोली अधिकृतहरु गएका हुन् ।
नौ महिनादेखि टोखाको डाँडामा स्टाफ कलेज कोर्स गर्दै रहेका ६९ जनामध्ये बंगलादेशी, बेलायती, अमेरिकी, नाइजेरियन, श्रीलंकन र पाकिस्तानी पनि छन् । गुप्तचर, प्रहरी, सशस्त्रका एक–एक अफिसर र चार जना महिला सैनिकसहितको यो कोर्शका सहभागीहरु भोलि नेपाल फर्किएर १३ गते दीक्षान्त समारोहमा सामेल हुनेछन् । दुईवटै टोलीलाई नियमानुसार क्वारेन्टाइनमा राखेर पोहोर इण्डोनेशियाबाट किनेको कासा एयरक्राफ्टमा पठाइएको हो ।
त्यस्तै, नेपाली सेनाको इतिहासमै अहिले सबैभन्दा बढी अधिकृतहरू कारवाहीमा परेका छन् । अनियमितता, आचरण विपरितका काम र प्रशासनिक जालझेल गरी जागिर खानेप्रति असहिष्णु बन्नुभएका प्रधानसेनापति पूर्णचन्द्र थापाले चलाएको यो कदमलाई सैन्य स्वच्छताको पक्षमा भन्ने गरिन्छ ।
तर, सँगै प्रश्न उठेको छ, के फेरि आउने प्रधानसेनापतिले यस्तै शून्य सहनशीलता अपनाउलान् ? वैशाखदेखि यता मात्रै जर्नेलसहित ४७ अधिकृतमाथि विभिन्न किसिमका कारवाही भयो । त्यसमा आठ जनाको बढुवा रोक्का भएको छ भने दुई जना दर्जा घटुवामा परेका छन् । एक जनालाई जेल पठाइएको छ, दुई जनालाई दण्ड तिराइएको छ, पाँच जनालाई नसिहत दिइएको छ भने १३ जना सेवा बर्खास्तीमा परेका हुन् । १६ जनाले सचेतपत्र भेट्टाएका छन् । भर्खरै आर्थिक अनियमिततामा संलग्न भएको प्रमाणित हुँदा सहायक रथी प्रयोगजंग राणा र महासेनानी नविन सिलवाल बर्खास्तीमा परेका छन् ।
त्यस्तै, अमेरिकाबाट नेशनल डिफेन्स कोर्ष (एनडिसी) गरेर फर्किएलगत्तै सुरेन्द्रसिंह रावल र एनडिसी जाने तयारीमा रहेका महासेनानी अनिल खड्काको खोसुवा भयो । त्यस्तै, सिरहास्थित २७ नम्बर बाहिनीमा कार्यरत जर्नेल पंकज कार्कीले फौजमै कार्यरत दुई महिलासँगको सम्बन्धका कारण गत हप्ता जागिर गुमाएका छन् ।
पहिला सर्टिफिकेट काण्डमा जर्नेलहरू सञ्जयसिंह भण्डारी र राजदल गणका शैलेन्द्रसमशेरले पनि कारवाही भोगेका हुन् । बेलायतमा कोर्ष सक्नासाथ सुरेन्द्र सिजापति बर्खास्त भएका थिए । बीचैमा राजीनामा लिएर घर पठाइनेमा दुईतारे भुवन अधिकारी र सुधीर श्रेष्ठसहित महासेनानी भुपाल अधिकारी र म्याद नथपिएका सहायक रथी नयनराज दाहाल पनि छन् ।
टिप्पणीहरू