किन रोकियो खोप अभियान ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान स्थगित गरेको छ । माघ १४ गतेदेखि शुरु भएको अभियानअन्तर्गत पहिलो चरणमा फागुन १० गतेसम्म फ्रन्टलाइनमा रहेर काम गर्नेहरुलाई खोप लगाइएको थियो ।
दोस्रो चरणअन्तर्गत फागुन २३ गतेदेखि खोप लगाउन थालियो । र,२८ दिनभित्र दोश्रो खोप लगाउन पर्ने भनियो । दोस्रो चरणमा चैत ३ गतेसम्म ६५ वर्षमाथिकालाई कोरोना विरुद्धको खोप दिन सुरु गरियो पनि । तर,स्वास्थ्य मन्त्रालयले दोश्रो प्राथमिकतामा परेकाहरुको लागि २० दिनसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान १० दिनपछि नै स्थगित गरेको छ ।
सरकारले ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरुका लागि बुधबारदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरेपनि भारतको कोभ्याक्स फ्यासिलिटी मार्फत आउनुपर्ने खोप अड्किएको छ । दोस्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ गतेदेखि अभियान सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले नै उक्त अभियान दुई चरणमा हुने र पहिलो १० दिनसम्म ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप दिने निर्णय सार्वजनिक गरेको हो ।
नेपालले भारतबाट ३ लाख बढी डोज खोप प्राप्त गरिसकेको छ । प्राप्त गर्न बाँकी १० लाख डोज खोप कहिले आउने टुङ्गो छैन । यस्तै चीनले दिने भनेको ८ लाख डोज खोपसमेत हालसम्म आउने सुरसार छैन ।
नेपालले हालसम्म हात पारेका सबै खोप सिरमको कोभिसिल्ड नै हो । नेपालले २० लाख डोज खोप सिरमसँग ८० लाख अमेरिकी डलरमा खरिद गरेको हो भने १० लाख डोज खोप भारतबाट ‘खोपमैत्री’ अभियान अन्तरगत उपहारस्वरुप पाएको थियो । अर्को ३ लाख ४८ हजार डोज भने कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने भनिएको छ ।
खरिद गरिएको खोपमध्ये १० लाख डोज नेपाललाई फागुन ९ गते नै प्राप्त भइसकेको छ भने बाँकी १० लाख डोज छिट्टै प्राप्त हुने बताइएको थियो । नेपालले हालसम्म पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ र दोस्रो चरणमा १२ लाख १५ हजार ४ सय ७७ गरेर करिब १६ लाख ५४ हजार ३ सय ५६ व्यक्तिलाई खोप दिएको छ भने कूल २३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतबाट खोप नआउनुको कारण विश्वमै खोपको कमि हुनु हो । १० दिनभित्र दिनुपर्ने पहिलो चरणको दोस्रो डोज स्टकमा रहेको र समयमै दिइने उहाँले जानकारी पनि दिनुभयो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई केही महिनाभित्र खोप लगाइसक्ने बताउनुभएको थियो । पछि आफ्नै दाबीलाई सुधार्दै उहाँले एक वर्षभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने बताउनुभयो ।
तर,अहिलेको परिदृश्यले पहिलो डोज लिएका,बृद्ध र आपत्कालीन प्रयोग गर्नेहरुलाई समेत सरकारले खोप उपलब्ध गराउन नसक्ने आशंका बढेको छ । उता,भारतले भ्याक्सिन कूटनीतिलाई भ्याक्सिन राजनीतिमा परिणत गरेपछि नेपाललगायतका धेरै देशमा यस्तै खालको समस्या आउनसक्ने आँकलन गरिएको छ ।
टिप्पणीहरू