यौन दुराचारमा पाइलट पक्राउ
आफूले तीन वर्षअघि लिएको सापटी रकम दिन कोठामा बोलाई उल्टै महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एकजना पाइलट नेपाल प्रहरीको महिलासेल,कालिमाटीको हिरासतमा पुगेका छन् । मकालु एअरको पूर्वपाइलट भनिएका सञ्जयकुमार साहले फागुन २५ गते बिहान आफ्नै कोठामा महिलालाई बोलाएर जबर्जस्ती गरेपछि हिरासतमा पुगेका हुन् ।
३ लालको सुनको फुली र घाँटीमा लगाएको १ तोला ४ आनाको सिक्रीसमेत साहको कोठामा जबर्जस्ती गर्दा खसेको महिलाले बताएकी छन् ।
लामो समय सुर्खेतमा रही पाइलट पेशा चलाउँदै आएका विवाहित साहको विवाहित तर एकल ३७ वर्षिया महिलासँग चार वर्षदेखि चिनजान रहेको बताइन्छ । यसबीच महिलासँग पाइलटले पटक पटक गरेर ८ लाख रुपैयाँ सापटी लिएपनि विभिन्न बहानामा नतिरेको महिलाको आरोप छ । मकालु एअर छाडेर समिट एअरको विमान उडाउन काठमाडौं आएपछि साहले महिलालाई सापटी रकम लिन यतै बोलाएका थिए ।
फागुन तेस्रो साता काठमाडौं उत्रिएकी महिलालाई पाइलटले २५ गते आफ्नो कोठामा पैसा लिन बोलाएको महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । त्यहि क्रममा साहले बिहान साढे नौ बजेको हाराहारीमा कोटेश्वर नरेफाँटस्थित डेरामा भित्रबाट चुकुल लगाएर आफूमाथि डर धम्की दिई बलात्कार गरेको पीडितले बताएकी छन् ।
आफूले थाहा नपाउने गरी साहले यौन क्रियाकलापको भिडियोसमेत बनाएको महिलाको दाबी छ । त्यसपछि साहले आफूलाई नाङ्गो फोटो सार्वजनिक गर्ने र ज्यान समेत मार्ने धम्की दिएर कोठाबाट रकम नदिई जर्बजस्ती निकालेको उजुरीमा उल्लेख छ ।
त्यसक्रममा आफूले नाकमा लगाएको ३ लालको सुनको फुली र घाँटीमा लगाएको १ तोला ४ आनाको सिक्रीसमेत साहको कोठामा जबर्जस्ती गर्दा खसेको महिलाले बताएकी छन् । उक्त घटनापछि शुरुमा आफू विक्षिप्तझैँ भएकाले न्यायको लागि कतै जान नसकेको र प्रारम्भमा कालिमाटीको महिलासेल प्रहरीमा जाँदा उल्टै मेलमिलाप गर्न दबाब दिएको पीडितले हिजो राष्ट्रिय महिला अधिकार मञ्चमा हालेको निवेदनमा उल्लेख छ । उनले प्रहरीले पहिले जाहेरी बुझ्न नमानेपछि आफूले मञ्चको सहयोग लिएको बताइन् ।
पर्सा घर भएका पाइलट साहको यसअघि सुर्खेतमा रहँदा विमानस्थलका कर्मचारीहरू बस्ने क्वार्टर नजिकैकी ती महिलासँग चिनजान भएको थियो । चिनजान घनिष्ठतामा परिणत भएपछि उनीहरूबीच ठूलै रकमको लेनदेन समेत भएको देखिन्छ ।
टिप्पणीहरू