आज रातभरमा वामदेवको परीक्षण

आज रातभरमा वामदेवको परीक्षण

झण्डै तीन वर्षअघि एमाले र माओवादी एक भएपछि बनेको नेकपामा स्वभावतः अखिल नेपाल किसान महासंघको जिम्मेवारीबाट उपाध्यक्ष वामदेव गौतम पन्छिनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर पार्टीभित्रको अन्तरकलह र विवाद उत्कर्षमा पुगेपछि एमालेको ओली खेमाले छुट्टै जनवर्गीय संगठनहरु बनाउँदै लग्यो । त्यहि क्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रेम दंगालको नेतृत्वमा किसान महासंघलाई पुनर्गठित गराइयो ।

यसबीच गौतम पहिले नेकपालाई र अहिले एमालेलाई एकीकृत बनाउने अभियानमा लाग्नुभएको छ । पुस ५ गतेपछि उहाँ बालुवाटार र खुमलटार दुवैतिर नलाग्ने भन्दै अलग्गै एकीकृत अभियान बनाउनेतिर लाग्नुभयो ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि एमालेभित्रको अन्तरविरोध पनि स्पष्टसँग बाहिरिएको छ तर पनि उहाँ भने त्यहि एकता अभियान भन्दै हिँडिरहनुभएको छ । आफू दुवै खेमामा नजाने भनेपनि उहाँकी धर्मपत्नी तथा सांसद तुलसा थापा भने आज बिहान बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा उपस्थित हुनुभयो ।

त्यसैगरी,भोलि बिहान किसान महासंघको बैठक बोलाइएको छ । जसको अध्यक्षता साविकबमोजिम वामदेव गौतमले गर्नुहुने टुंगो लागेको छ । यता, गौतमले बैठकको अध्यक्षता गर्ने खबर बाहिरिएपछि ओली समूहका दंगालले भने महासंघको बैठक बहिष्कार गर्ने बुझिएको छ ।

आज संसदीय दलको बैठकमा पत्नीलाई बालुवाटार पठाउनुभएका गौतमले भोलिसम्ममा महासंघको बैठकको अध्यक्षता गर्ने भनिएको निर्णयमा टिक्नुहुन्छ टिक्नुहुन्न होला रातभरिमा थाहा हुने भनिएको छ ।

टिप्पणीहरू