शीतल निवासमा शीतल कुरा हुन्छ,गरमागरम होइन’
मंगलबार साँझ राष्ट्रपति भवन, शीतल निवासमा संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेताहरूलाई चियापान कार्यक्रमको आयोजना गरियो । तर,संसदमा र प्रधानमन्त्री निवासमाझैँ त्यहाँ पनि चुनावको कुरोमा गलफत्ति परेपछि राष्ट्रपति विद्यादेवी भण्डारी स्वयम् र राष्ट्रपति कार्यालय चर्को विवादमा तानिएको छ ।
राजनीतिक दलका नेताहरूभन्दा एक कदम अघि बढेर सम्माननीय राष्ट्रपतिबाट व्यक्त धारणाले सम्मानित निकायप्रतिको आमभावनामा नै प्रश्नचिन्ह उठेको हो ।
नाम सर्वदलीय बैठक र चियापानको उद्देश्य चुनावी छलफलको त्यस दिनको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली जोडदार ढंगले निर्वाचनको कुरो गर्नुभयो । लगत्तै नेमकिपाका नेता प्रेम सुवालबाहेक अरु सबैले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको बिरोध गरेका थिए ।
तर, राजनीतिक कुरो बोल्नै नहुने राष्ट्रपतिले प्रधानमन्त्रीलाई सजिलो हुने गरी र अरुलाई असहज हुनेगरी चुनावमै सही थापेपछि चियापान भनिएको कार्यक्रम विवादास्पद बनेको हो ।
यस्तो विवाद भएपछि जनआस्थाले पहिले पनि त्यस्तो हुन्थ्यो ? भनेर पूर्वराष्ट्रपति डा. रामवरण यादवका स्वकीय सचिव तथा अधिवक्ता ललित बस्नेतलाई सोधेको थियो ।बस्नेतले त्यस्तो भन्ने ठाउँ र पद त्यो होइन भन्दै थपे ‘शीतल निवास र सम्माननीय राष्ट्रपतिबाट संविधान र कानुनका सैद्धान्तिक कुरा मात्र अभिव्यक्त हुनुपर्छ । सम्मानित अदालतको फैसलाविरुद्ध हुनेगरी अरुले त बोल्न पाईंदैन भने झन् त्यहाँबाट त्यो कुरा कल्पनाभन्दा बाहिरको हो । प्रधानमन्त्रीले गरेको चुनाव सिफारिश र राष्ट्रपतिको सदरलाई अदालतले बदर भनिसकेको छ । फेरि त्यहि कुरो शीतल निवासमा गर्नु भनेको सोच्न सकिँदैन ।’
नेताहरूसँगको भेटमा पहिले के गरिन्थ्यो भनेर सोधिएको जिज्ञासामा उनले भने ‘सैद्धान्तिक र संवैधानिक सल्लाह दिने हो । दर्शनको कुरो गर्ने हो,’ उनले थपे ‘दुई वर्षअघि नै चुनावमा जानुस् भन्ने आशयले कार्यक्रममा बोल्नु कदापि राम्रो होइन ।
’त्यसैगरी संसदलाई आफैँले बिजनेस नदिने प्रधानमन्त्रीले अन्यत्र गएर त्यसैको विरोध गर्न नसुहाउने बस्नेतको भनाई छ । उनी भन्छन् ‘संसदलाई बिजनेश दिने काम प्रधानमन्त्री र सरकारको हो ।’
टिप्पणीहरू