अमेरिकाबाट तानियो अकस्मात

अमेरिकाबाट तानियो अकस्मात

विदेशी मिसनमा खटाइँदा पनि हप्कीदप्कीदेखि नातापातासम्मका मामिला शुरु भएपछि कर्मचारीको मनोबल गिरेको छ ।

डा.युवराज खतिवडा अर्थमन्त्री हुँदा उनको निजी सचिव रहेका उपसचिव होमकान्त भण्डारी एक वर्षअघि नै इकोनोमिक काउन्सिलर भएर अमेरिका पुगेका थिए । उनलाई फर्किन ठिक्क परेका राजदूत अर्जुन कार्कीले हप्किदप्की मात्रै गरेनन्, उनको सट्टा रमेश खरेल नाम अर्का उपसचिवलाई पठाउन सिंहदरबारमा टिप्पणी उठाइएको छ । आफ्नो निजी सचिवका रूपमा साथ दिएका होमकान्तलाई समेत खतिवडाले आफू राजदूत भएर जाँदासमेत जोगाउन सकेनन् ।

यस्तो भद्रगोल अमेरिकादेखि नेपालसम्मै छ । नारायणहिटीस्थित कन्सुलर सेवा विभागमा लेखापालको दरबन्दी एउटा छ तर कर्मचारी दुई जना । त्यहाँ पहिलादेखि नै विकास भट्टराई थिए । अहिले परराष्ट्रमन्त्रीले गुल्मीकै सुमित्रा भण्डारीलाई काजमा पठाउँदा यस्तो भद्रगोल मच्चिएको हो । काम नगरे पनि उनी पछिल्लो दुई हप्तादेखि हाजिर गर्ने, घर फर्कने हुँदै छ । त्यहाँका हाकिम जीवनप्रकाश श्रेष्ठको कार्यकाल दुई महिना मात्र बाँकी छ । विदेशस्थित हाम्रा नियोग, दूतावाससँग सीधै जोडिने र नेपालीका लास ल्याउने, नेपालस्थित विदेशी कूटनीतिज्ञहरुलाई करमुक्त सुविधा दिने यही अड्डाले हो ।

यता अस्ति आइतबार राति नै परराष्ट्रका अधिकारीहरू बसेर विभिन्न देशका निम्ति नयाँ पोष्टिङ टुंग्याएका छन् । जसमध्ये परराष्ट्र सेवाभित्र सबैभन्दा ‘चार्मफुल’ मानिएको,र त्यहाँ जान कर्मचारीबीच हानथाप रहने दक्षिण एशियाली राष्ट्रहरूको क्षेत्रीय सहयोग संगठन सार्कको डाइरेक्टरमा दोहास्थित नेपाली दूतावासबाट फर्किएका मणिरत्न शर्मालाई पठाइने भएको छ । त्यहाँका दधिराम भण्डारीको कार्यकाल वैशाखमा सकिँदै थियो । काठमाडौंमा बसेर मासिक झण्डै आठ लाख तलब, भत्ता बुझ्न पाइने भएपछि सो पदलाई आकर्षक मानिँदै आएको छ ।

ओमानबाट फर्केकी रोजिना ताम्राकारलाई डिसिएम बनाएर क्यानाडा पठाउने तयारी चल्दै छ भने अन्य देशमा कार्यकाल पूरा गरेर आएका राजदूतलाई डिभिजन चिफ बनाइएको छ । जेनेभाबाट फर्केका डिसिएम सुरेश अधिकारीको भागमा अचेल नराम्रो मानिएको ब्रसेल्स परेको छ भने बैंककबाट फर्केका जंगबहादुर गुरुङलाई जेनेभा खटाउने तयारी चलिरहेको छ । दरबन्दी काटिएपछि छोरीको पढाइ सहज हुने गरी त्यहाँबाट कुमार राई ढाका सरेका छन् । यस्तै, साउदीबाट फर्किएका उपसचिव आनन्द शर्मालाई प्रथम सचिवको हैसियतले हरि ओडारीको ठाउँमा पोलिटिकल काउन्सिलरको जिम्मेवारीसहित नयाँ दिल्ली पठाइने पक्कापक्की भइसकेको छ । अहिले परराष्ट्रको प्रशासनमा अष्ट्रियाको राजदूतबाट फर्किएका प्रकाश सुवेदीलाई राखिएको छ ।

त्यसैगरी बेलायतस्थित राजदूतबाट फर्केका दुबसु क्षेत्रीलाई शिष्टाचार महापालको जिम्मेवारी दिइएको छ । बेल्जियमबाट फर्केका सहसचिव लोकबहादुर थापालाई मन्त्रालयको नर्थ इष्ट एसिया डेस्कमा राखिएको छ । उक्त डेस्कले चीन, जापान, दक्षिण कोरिया, उत्तर कोरिया र मंगोलिया हेर्छ ।

राजदूत बन्ने लाइनको सबैभन्दा माथि रहेका निर्मल काफ्लेलाई भने अहिलेसम्म अड्काइएको छ । उनी यसअघि बेइजिङबाट न्युयोर्क र न्युयोर्कबाट परराष्ट्रको युरोप, अमेरिका डेस्कमा आएका थिए । यसअघि नियुक्त दुई पोलिटिकल फिल्डकासहित तीन जनालाई सरकारले नै रोकिदिएपछि काफ्लेको इजिप्टमा राजदूत बन्ने योजना अहिलेसम्म थाती छ । उता, डेनमार्कबाट फर्केर राहदानी महाशाखा चिफ बनेका डोरनाथ अर्याल पनि राजदूत बन्न तम्तयार छन् ।

नारायण वाग्ले अपांगबाट अधिकृत भएका कर्मचारी । हङकङ र लण्डनबाट एक÷एक महिनामै फर्किए । अफिसलाई थाहै नदिई हिँडेकोमा खोजी गर्दै जाँदा हिथ्रो एयरपोर्टमा भेटिएका थिए । ढाकामा पनि रमाएनन् । उपसचिव भएको ११ वर्ष भयो । सुशील लम्साललाई पनि अमेरिका जानुपर्नेमा बेइजिङमै थन्क्याइएको छ ।

टिप्पणीहरू