बागलुङमा मारिने को थिए ? कसरी मारिए ?

बागलुङमा मारिने को थिए ? कसरी मारिए ?

बागलुङमा फागु (होली) खेल्ने क्रममा दुई समूहबीच भएको झडपमा परी मृत्यु भएकाहरू नेपाली काँग्रेसका कार्यकर्ता भएको खुलेको छ ।

आइतबार जिल्लाको निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सीमाना बल्देधुरीमा होली खेल्न गएका युवाहरूको दुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो । उनीहरू दुबै जना नेपाली काँग्रेसको स्थानीय कार्यकर्ता भएको खुलेको हो ।

नेपाली काँग्रेस बाग्लुङले घटना सुनियोजित र योजनाबद्धरुपमा घटाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । परम्परागत धुरी मेलामा सहभागी भएका पार्टीका सक्रिय कार्यकर्तामाथि नियोजित आक्रमण भएको काँग्रेसले आरोप लगाएको छ । घटनामा संलग्न समूह आपराधिक मानसिकताबाट प्रेरित रहेको भन्दै काँग्रेसले दोषीमाथि कडा कारबाहीको माग पनि गरेको छ ।

प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङले कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलमा पुगेको जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि अहिले बुर्तिबाङ अस्पतालमा राखिएको छ । घटनाबारे प्रत्यक्षदर्शीरूपसँग सोधपुछ भइरहेको बताइएको छ ।

घटनामा केही युवा घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ । झडपपछि केही युवा बेपत्ता भएको बताइए पनि अनुसन्धानका क्रममा त्यस्तो नपाइएको बताइन्छ ।

मृतक दुबैलाई बल्देधुरी चौरको भीरबाट फालिएको थियो । उनीहरूको शव भीरबाट ५ सय मिटर तल भेटिएको थियो । होली खेल्ने क्रममा दुई पक्षबीच उत्पन्न विवाद झडपमा परिणत हुँदा घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

टिप्पणीहरू