बैतडीमा फलाम खानी भेटियो
बैतडीको सिगास गाउँपालिकामा भेटिएको फलाम खानीको उत्खनन् शुरु गरिएको छ । गाउँपालिकाको वडा नं. १ सुगरखालमा खानी भेटिएसँगै उत्खनन् पनि शुरु गरिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।
उनले चैत्र ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको बताए। उनले उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको र अध्ययनपश्चात् फलाम खानी रहेको देखिएकोले उत्खनन् थालिएको जानकारी दिए ।
अध्यक्ष धामीका अनुसार अहिले फलाम खानी भेटिएको ठाँउसम्म सडक लैजाने काम भइरहेको छ । खानीसम्म पुग्न बृन्दाबनबाट करिब डेढ किलोमिटर सडक खन्ने काम चलिरहेको उनले बताए ।
सुभम मिनरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भइरहेको धामीले बताए । सुभम मिनरल्सले परीक्षणकालमा मात्रै करिब ८० प्रतिशत ढुंगामा फलाम भेटिएको बताएको छ भने उत्खननका लागि वडा र गाउँपालिकाबाट सिफारिस लिएर काम थालिएको कम्पनीले जनाएको छ ।
चीनबाट आएको विज्ञ टोलीले खानी उत्खनन् थालेको अध्यक्ष धामीले बताएका छन् । फलाम खानी भेटिएसँगै सो ठाउँमा स्थानीयहरुले रोजगारीसमेत पाउने अपेक्षा गरिएको छ ।
खानी भेटिएको स्थानमा ३३ केभी विद्युत प्रसारण लाइन,खानेपानीलगायतका आधारभूत सेवा पुर्याउने काम पनि भइरहेको जनाइएको छ ।
टिप्पणीहरू