जनताको पहिले टाउको गनेर, अहिले यस्तो यस्तो हो भनेर
प्रत्येक दश वर्षमा हुने जनगणना यस पटक आगामी जेठ २५ देखि असार ८ गतेसम्म हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार यसपटकको जनगणनामा नेपालको जनसङख्या ३ करोड नाघ्ने अनुमान गरिएको छ ।
यस पटकको जनगणना मुलुक संघीय संरचनामा गए पछिको पहिलो हो । यो गणनामा देशका ७ सय ५३ वटै पालिकाहरूको विवरण संकलन गरिने छ । जसमध्ये ४ सय ६० गाँउपालिका, २ सय ९३ नगरपालिका, महानगरपालिका, उप महानगरपालिकाहरू र सातै प्रदेशको केन्द्रलाई आवश्यक जनसाङख्यिक विवरणहरू संकलन गर्ने बताइएको छ ।
७० लाख परिवारमा गणक पुर्याउने लक्ष्य लिएको विभागले जनसाङख्यिक, आर्थिक, भौगोलिकलगायतका तथ्याङ्क संकलनको तयारीमा जुटिसकेको जनाएको छ । नेपालमा वि सं.१९६८ मा गरिएको पहिलो पटकको जनगणनामा नागरिकको टाउको मात्र गनिएको थियो ।
यस पटक नयाँ तरिकाबाट जनगणना गर्ने तयारीमा रहेको विभागले ८० वटा प्रश्न सोध्ने तयारी गरेको छ । जबकी अमेरिकालगायतका मुलुकमा १० वटा मात्रै प्रश्न सोध्ने गरिन्छ ।
नयाँ मोडलबाट गर्न लागिएको जनगणनामा मिक्स मोडलको प्रयोग गरिने विभागका प्रशासकिय अधिकृत दिनानाथ लम्सालले बताएका छन् । उनकाअनुसार यसपटकको जनगणनामा कागजी प्रश्न, विदेशमा रहेका नेपालीको निम्ति विद्युतीय प्रणाली, ई–सेन्शस, उपत्यकाका काठमाण्डौँ महानगरपालिकासहित ७ वटा नगरपालिका तथा गाँउपालिकामा ट्याबको प्रयोग गरिने छ ।
मिक्स मोडलमा परम्परागत पद्धतिलाई समेत समावेश गरिने बताउँदै लम्सालले सुपरिवेक्षक, गणक र अन्य कर्मचारी गरी झण्डै ५५ हजार जनशक्तिलाई खटाइनेछ । यसपटकको जनगणना नेपालको १२औं शृंखला हो । वि.सं. २०६८ मा नेपालको कुल जनसङख्या २ करोड ६६ लाख २० हजार ८ सय ९ रहेको थियो ।
टिप्पणीहरू