उहाँपछिको को हो त उत्तराधिकारी ?

उहाँपछिको को हो त उत्तराधिकारी ?

एमालेमा नवौँ महाधिवेशनबाट चलेको बहस हो, पुस्तान्तरण । बहस अहिले पनि जारी छ । तर, पुस्तान्तरण भन्नेहरूको सक्रिय जीवन छोटिँदैछ, उत्तराधिकारी भने तोकिएका छैनन् ।

भनिन्छ, कम्युनिष्ट आन्दोलनमा पहिलो पुस्ताले आफू नहुँदाको अवस्थामा उत्तराधिकारी तय गरेको हुन्छ, जसले भविष्यमा पार्टी र देशको नेतृत्व हाँक्न सकोस् । जसरी रुसमा लेनिनपछि स्टालिन, ख्रुस्चेभ, ब्रेजनेभ हुँदै एउटा तप्का अघि बढ्यो । चीनमा पनि त्यस्तै हुने गर्छ– माओ, चाओ, ह्वाको फङ, जियाङ जमिन, हु चिन्ताओ, सि जिनपिङ । तिनलाई विभिन्न जिम्मेवारी दिएर तलैबाट सिकाउँदै लगिन्छ । तर नेपालमा त्यस्तो प्रचलन छैन । सरकार र पार्टीमा प्रधानमन्त्री केपी ओली सर्वेसर्वा हुनुहुन्छ । केपी मात्र हैन, माधव, प्रचण्डपछिको नेतृत्व को हो ? त्यसको समेत टुंगो छैन ।

केपीले पुस ५ को कदमपछि पनि युवालाई नेतृत्व हस्तान्तरण गर्छु भन्नुभयो तर त्यसको कुनै सुुरसार छैन । उहाँले पुस ५ को सेरोफेरो पारेर ठुल्ठूला आमसभा गर्नुभयो– काठमाडौं, विराटनगर र बुटवलमा । तर, कतै पनि कसैलाई दोहो¥याउनुभएन । काठमाडौंमा ईश्वर पोखरेल र मधेशका सत्यनारायण मण्डलहरूलाई अगाडि सार्नुभयो । पूर्वमा भेगीय हिसाबले सुवास नेम्वाङ र बुटवलमा विष्णु पौडेललाई बोल्न लगाउनुभयो । अर्थात्, अबको नेतृत्व यही हो भनेर कसैलाई पनि प्रस्तुत गर्नुभएन ।

बुटवलमै प्रदीप ज्ञवाली, शंकर पोखरेलहरूलाई पनि भाउ दिनुभएन । बरु नवआगन्तुक एमालेहरू टोपबहादुर रायमाझी र रामबहादुर थापा (बादल) लाई प्रयोग गरेर प्रचण्डलाई ‘देखाउने’ रणनीति अख्तियार गर्नुभयो । निश्चित छ, बादल–टोपबहादुरहरू उत्तराधिकारी हुने हैनन् । सुदूरपश्चिममा लेखराज भट्टलाई उभ्याउनुभयो, भीम रावललाई ‘देखाउन’ । अर्थात्, उहाँले आफूपछिको पुस्ताबाट कोही निश्चित पात्रलाई कतै पनि दोहो¥याउनुभएन । एकजना केपीपक्षीय नेता भन्छन्, ‘उहाँको अहिलेको शैली हेर्दा आफू हुन्जेल आफैँ, त्यसपछि भाँडमा जाओस् भन्ने देखियो ।’ मंसिरको महाधिवेशनबाट अध्यक्ष आफू, त्यसपछिका चुनावबाट प्रधानमन्त्री पनि आफैं ।

माधव पक्षमा पनि पुस्तान्तरणको सुरसार छैन । उक्त समूहको युवा पंक्तिमा घनश्याम–योगेशहरू त छन् तर नेतृत्व लिएरै हिँड्ने भन्दा बढी माधव–झलनाथहरूको आदेश कुर्ने भूमिकामा सीमित पारिएका । अरुलाई दिउँला भन्ने त कुरा मात्रै ।

टिप्पणीहरू