माथि फुटको तलसम्म असर

माथि फुटको तलसम्म असर

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई लिएर पत्रकारिताका निम्ति मोफसलको राजधानी मानिने रुपन्देहीमा मज्जैको भिडन्त हुने देखिएको छ ।

कूल ३१३ मतदाता रहेको रुपन्देहीमा प्रेस युनियनले अहिलेसम्म सभापतिको उम्मेदवार छान्न सकेको छैन । महासंघका पूर्वसभापति हरि लम्सालको संयोजकत्वमा समिति गठन गरेको युनियनबाट सभापतिमा माधव नेपाल, रामराज पोखरेल र हरिश ढकाल उम्मेदवारका आकांक्षी छन् ।

यता, प्रेस चौतारी ओली समूहले दिनेश पाण्डेलाई उम्मेदवार बनाउने निश्चित गरेको छ । तर, सोही समूहबाट निरु गौतमले पनि उम्मेदवारी दिने भनेकी छन् । पाण्डे र गौतम दुवैजना प्रेस चौतारीबाट निर्वाचित महासंघ रुपन्देहीका वर्तमान उपाध्यक्ष हुन् ।

सञ्चारिका समूहको नाममा पाण्डेलाई कमजोर बनाउन ओली समूहको अर्काे गुटले गौतमलाई अगाडि सारेको बुझिएको छ । पाण्डेलाई अफ्ठ्यारो पार्नेगरी गौतमले आइतबार बुटवलको एक होटलमा भेला गरी उम्मेदवारी घोषणा गरेपछि चौतारी ओली समूहभित्र विश्वासको संकट चुलिएको छ ।

अर्काेतिर प्रेस संगठन, चौतारीको नेपाल समूह, प्रगतिशील पत्रकार, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार, प्रेस मञ्चले चुनावी एकता गरेर जाने लिखित सम्झौता नै गरेका छन् । उक्त समूहको सम्झौतालाई बल पुग्ने गरी देशभर प्रतिगमनविरोधी पत्रकारसम्बद्ध संघसंस्था एकता हुने भएपछि रुपन्देहीमा पनि त्यसको प्रभाव परेको छ ।

उक्त समूहले एकल उम्मेदवारी दिनुपरेमा प्रेस संगठनका रुद्रहरि कुँवरलाई सभापति बनाउने तयारी थालेको छ । उक्त समूहबाट चौतारीका विनोद परियार सचिव र प्रगतिशीललाई कोषाध्यक्ष र प्रेस मञ्चलाई सहसचिव दिनेगरी तालमेल हुने भएको छ । उक्त समूहमा युनियनले चुनावी तालमेल गरेमा भने युनियनलाई सभापति, प्रेस संगठन उपाध्यक्ष, चौतारी सचिव, प्रगतिशील सहसचिव लिएर मैदानमा उत्रिनेछन् ।

स्रोतका अनुसार रुपन्देहीमा युनियनसम्बद्ध १०१ मत, चौतारी ओली समूहसम्बद्ध ९२ मत, प्रेस संगठनसम्बद्ध ५१ मत, चौतारी नेपाल समूहसम्बद्ध ३३ मत, जनपत्रकार सम्बद्ध ९ मत, प्रगतिशील पत्रकार सम्बद्ध ८ मत, प्रेस मञ्च सम्बद्ध ६ मत, क्रान्तिकारी पत्रकार महासंघ सम्बद्ध ४ मत र तटस्थ ९ मत रहेका छन् ।

अहिलेसम्म चौतारी ओली समूह र जनपत्रकारको गरी एक प्यानल र प्रेस युनियनको नेतृत्वमा अरु बाँकी संगठनको गरी अर्काे प्यानल बन्ने सम्भावना उत्तिकै देखिन्छ ।

यदि, त्यसो भएमा प्रतिगमनको विपक्षमा रहेको समूहले चुनाव जित्नेछ । अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसमेतले रुपन्देहीका पत्रकारको चुनावमा चासो दिन थालेका छन् । अरु ठाउँमा जे जे भए पनि रुपन्देही र दाङमा आफ्नो पक्षमा निर्वाचन परिणाम पार्न उनीहरूको निर्देशन छ ।

केही दिनअघि चौतारी ओली समूह र प्रेस युनियनबीच एउटा गोप्य सहमति भएको थियो । दुईबुँदे विकल्पसहितको सहमतिमा सभापति ओली समूहलाई दिँदा युनियनले अन्य सबै पदाधिकारी लिने, अर्काे विकल्प युनियनले सभापति लिँदा चौतारी ओली समूहलाई सबै पदाधिकारी दिने कुरा थियो । तर, युनियनले सभापति नछाड्ने बताएपछि चौतारीले अगाडि सारेको उम्मेदवार पाण्डेलाई कमजोर बनाएर ब्याक गराउन सञ्चारिकाको भेला गरी गौतमलाई सभापतिको उम्मेदवार घोषणा गर्न लगाइएको बताइन्छ । तथापि, युनियन केन्द्रीय सहमति बेगर जान नसक्ने देखिएको छ । चौतारी नेपाल समूह, प्रेस संगठनकै साझेदारीमा युनियनका विपुल पोखरेल महासंघ केन्द्रीय सभापतिका उम्मेदवार छन् ।

टिप्पणीहरू