सरकारी टिभीबाट पत्रकार महासंघ चुनावमा अत्यधिक सहभागिता

सरकारी टिभीबाट पत्रकार महासंघ चुनावमा अत्यधिक सहभागिता

२५ गतेलाई निर्धारित नेपाल पत्रकार महासंघको निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारले मतदातासँग भोट माग्ने क्रम बढेको छ । अहिले सत्तानिकट उम्मेदवारको टोली त्यहि क्रममा कास्कीबाट अभियान शुरु गरेर चितवन,सर्लाही हुँदै पूर्व हान्निएको छ । यसरी भोट माग्दै हिँडेको टोलीसामु स्थानीय पत्रकारले महासंघको उम्मेदवारीमा नेपाल टेलिभिजन हावी हुनुको कारणवारे जिज्ञासा उठाएको बताइन्छ ।

टेलिभिजन सञ्चालक समितिका सदस्य बालकृष्ण बस्नेत(महासचिव) मात्रै होइन,अरु धेरैजनाले त्यहाँबाट उम्मेदवारी दिएका छन् । टेलिभिजन अध्यक्ष डा. महेन्द्र विष्ट यसअघि महासंघको अध्यक्ष हुनुहुन्थ्यो । यो नाताले पनि उहाँ कार्यरत सँस्थाका धेरैले अवसर पाउनु स्वभाविकै हुन आउँछ । सचिवमा उम्मेदवारी दिएकी निमा काफ्ले मात्रै होइन मधेशी सचिवमा उठेकी स्वेता सिन्हा पनि त्यहिँको समाचारवाचिका हुनुहुन्छ । कालिका सिवाकोटीले लेखा समिति सदस्यमा उम्मेदवारी दिनुभएको छ । नेपाल टेलिभिजनकै समाचार वाचिका अन्जना शिल्पकारले आदिवासी जनजातिअन्तर्गत महिला केन्द्रीय सदस्यमा मनोनयन हाल्नुभएको छ ।

यसरी महासंघको उम्मेदवारीमा सरकारी मिडियाको घनिभूत उपस्थिति रहेको चर्चा छ । त्यसमा पनि पूर्व अध्यक्ष रहेको नेपाल टेलिभिजन सबैभन्दा अगाडि रहेको हो । त्यसो हुनुमा डा.महेन्द्र बिष्टको लिगेसीले काम गरेको बताइन्छ ।

महासंघको इज्जत धान्नको लागि टेलिभिजनको उम्मेदवारी धेरै परेको स्रोतको दाबी छ । प्रेस युनियनले समेत सरकारी कित्ता भनेर आलोचना नगरेको अवस्थामा सरकारी प्रेस चौतारीका पत्रकार भने केही हौसिएको देखिन्छ । उनीहरुले समग्रमा सोचेभन्दा राम्रो परिणाम आउने बताउन थालेका छन् ।

यसैबीच बालुवाटार निकट भनेर चिनिएका दैनिकी डट कमका माधव तिवारीकी पत्नी निर्विरोध हुनुभएको छ । मन्त्री भानुभक्त ढकालको प्रेस संयोजक माधवको पद ढकाल स्वास्थ्यबाट पर्यटन मन्त्रालयमा जाँदा पनि कायमै छ । श्रीमती पवित्रा मुडभरी एशोसियटतर्फ प्रदेशको उपाध्यक्षमा निर्विरोध बिजयी हुनु भएको हो । दैनिकी डट कमकी प्रोप्राइटर मुडभरीको निर्विरोध बिजयलाई बालुवाटारले विजयी शुरुआत भनेको छ ।

त्यसैगरी प्रतिष्ठानतर्फ पनि हिमालय टाइम्सका रामचन्द्र अर्याल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । सुदूर पश्चिम प्रदेशको महिला उपाध्यक्षमा रेणु कार्की निर्विरोध हुनुभएकाे छ । यसले पनि बालुवाटारको मनोबल बढाएको बताइन्छ ।

टिप्पणीहरू