बिरामी युवतीको ज्यान गएपछि भेनस अस्पतालमा तनाव
उपचारको क्रममा एक युवतीको ज्यान गएपछि मध्य बानेश्वरस्थित भेनस अस्पताल तनावग्रस्त बनेको छ । बान्ता गरेकी युवतीलाई राती अस्पताल लगिएको र बिहानसम्म राम्रैसँग कुराकानी गरिरहेकी उनको निधन भएपछि अस्पतालमा तनाव सिर्जना भएको पीडित पक्षले बताएको छ ।
पीडित पक्षले डाक्टरको लापरबाहीका कारण ज्यान गएको बताएको छ भने अस्पतालले बिरामीको अवस्था गम्भिर रहेकाले उपचारको क्रममा निधन भएको दावी गरेको छ । आइसीयूमा कार्यरत एक जना डाक्टरले भने- ‘बिरामीलाई अस्पतालमा राती साढे १२ बजेतिर भर्ना गरेर उपचार थालिएको थियो ।’ तर, अस्पतालको रिसेप्सनमा रहेका कर्मचारीले बिरामीलाई राती २ बजे भर्ना गरिएको बताएका छन् ।
डाक्टरका अनुसार बिरामीको अवस्था गम्भिर थियो । भर्ना गर्ने क्रममा रामेछाप घर भई हाल भक्तपुरको राधेराधे बस्ने २६ वर्षीया सरिता बोल्नसक्ने अवस्थामा थिइन् । उनले बिहान ५ बजेसम्म कुराकानी गरेको डाक्टरले समेत बताएका छन् । आफन्तले आर्थिक अवस्था कमजोर रहेको बताएपछि आफूहरूले सरकारी अस्पतालमा लैजान सुझाव दिएको तर सरकारी अस्पताल लैजाने क्रममा सरिता बेहोस भएपछि भेनसमै उपचार गरिएको ती डाक्टरको भनाई छ ।
उपचारमा संलग्न डाक्टरका अनुसार सरिताले बान्ता गर्नुको साथै तल्लो पेट दुखेको,पखाला लागेको,रिङ्गटा लागेको बताएपछि सोहीअनुसार उपचार गरिएको थियो । तर एक्कासी बेहोस भएपछि बिरामीको हेमोग्लोबिन,ब्लड प्रेसर थोरै देखिएको तर सुगर एक्कासी उच्च बिन्दुमा पुगेको डाक्टरले बताए । त्यहि क्रममा अस्पतालले सरितालाई बिहान ७ बजेको हाराहारीमा मृत घोषणा गरेको हो ।
त्यसपछि डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै आफन्तले अस्पतालमा तनाव सिर्जना गरेको अस्पताल प्रशासनले जनाएको छ । बिरामीका आफन्तले भने आफूहरूलाई सुरक्षाकर्मीको प्रयोग गरेर अस्पताल प्रशासनले मृतक हेर्न र भेट्न नदिएको बताएका छन् ।
टिप्पणीहरू