कसले भन्छ,महिलाको शक्ति कम छ ?

कसले भन्छ,महिलाको शक्ति कम छ ?

नेपाल क्रिकेट संघ (क्यान) र ललितपुर उपमहानगपालिकाको संयुक्त आयोजनामा शनिबारदेखि त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा जारी प्रथम संस्करणको महिला मेयर्स कप क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले दोस्रो जीत हात पारेको छ ।

आइतबार भएको दोस्रो दिनको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १२७ रनको योगफल तयार पार्यो । एपीएफको जीतका लागि ज्योति पाण्डेले सर्वाधिक ५९ रन बनाइन् भने सरिता मल्लले अविजित ३५,सीता राना मगरले १६ र इन्दु बर्माले अविजित ४ रन जोडेकी हुन् ।

१ सय २८ रनको फराकिलो लक्ष्य पछ्याएको सुदूरपश्चिम १९ ओभरमा अल आउट हुँदै ९० रनमा समेटियो । सुदूरपश्चिमका लागि सुनिता लुहारले २३ र डोली भट्टले १६ रन जोड्नुबाहेक अन्य खेलाडी चल्न सकेनन् । यस्तै बलिङतर्फ एपीएफकी बिनु बुढाले सर्वाधिक ३ बिकेट लिइन् भने सीता राना मगर र सुमन बिष्टले समान २ विकेट तथा सुषमा श्रेष्ठ र रेखा रावलले समान १ विकेट हात पारेका हुन् ।

सुदूरपश्चिम प्रदेशको तर्फबाट सुनिता लुहार र कविता जोशीले १–१ विकेट लिनुबाहेक अन्य खेलाडीले कुनै पनि विकेट लिन सकेनन् । यस्तै,आजै भएको अर्को दोस्रो खेलमा ललितपुर मेयर्स ११ ले पहिलो जीत हात पारेको छ । लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्दै ललितपुर मेयर्स ११ ले आफ्नो पहिलोे जीत दर्ता गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरको खेल खेल्दै ५ विकेटको क्षतिमा १४४ रनको योगफल तयार पारेको थियो ।

ललितपुरको जीतका लागि सुमन खतिवडा र अस्मिना कर्माचार्यले अविजित ७७ र २० रन जोडे । त्यस्तै,अनुराधा चौधरीले १०, बिन्दा कटवालले ५, कञ्चन श्रेष्ठले ७ तथा शोभा आले र सरस्वती कुमारीले समान १ रन बनाए । लुम्बिनीलाई सस्तैमा समेट्न सरस्वती कुमारी,आरती बिडारी र शीला क्षेत्रीले समान १ विकेट लिए ।

१ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीका लागि सरस्वती जीएमले ४६ रन जोड्नु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । ललितपुरलाई रोक्न सुष्मिता भुषाल,स्वस्तिका बजगाईं,कृतिका मरासिनी,सरस्वती पुनले समान १ विकेट लिए पनि ब्याटस्म्यानहरु चल्न नसक्दा पराजय भोग्नुपर्यो ।

टिप्पणीहरू