काठमाडौं छिर्नेमाथि कडा निगरानी
कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या लगातार बढ्न थालेपछि सरकारले उपत्यका प्रवेशमा कडाई गर्ने भएको छ ।
काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले उपत्यका प्रवेश गर्नेले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको हो ।
समितिले सम्बन्धित नगरपालिकामार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षणको व्यवस्था मिलाउने निर्णय गरेको हो ।
बैठकले नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेष्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
एन्टिजेन टेष्ट गर्दा नतिजा नेगेटिभ आए र व्यक्तिमा लक्षण देखिएमा उनीहरुलाई पीसीआर परीक्षण गर्न पठाउने पनि निर्णय भएको छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमितको सङ्ख्या बढेसँगै नेपालमा पनि यसको जोखिम बढेको छ ।
अहिले दैनिक सयौंको संख्यामा संक्रमित थपिएका छन् । संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै स्थानीय प्रशासनले अनिवार्य मास्कको प्रयोग, भीडभाड हुने सार्वजनिक कार्यक्रम,भेला,र्यालीलगायतमा रोक लगाउने निर्णय गरेको छ ।
टिप्पणीहरू