कोरोना बढ्यो,स्वास्थ्यमन्त्री भन्छन् ‘आत्तिनुपर्दैन’
कोरोनाको दोस्रो लहर शुरु भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा कडाई गर्न थालिएको छ । केही दिनयता कोरोना संक्रमितको संख्या लगातार बढ्न थालेपछि स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाई गर्न थालेको हो ।
कोरोना संक्रमणको त्रास बढिरहेका बेला सोमबार काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा कोभिड–१९ सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । महानगरीय प्रहरी परिसरको आयोजनामा उपत्यकाका १७ स्थानमा कार्यक्रम गरिएको परिसरका प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गरिएको उक्त कार्यक्रममा १० हजार थान मास्क वितरण गरिएको थियो । कार्यक्रममा मास्क नलगाउने, सावधानी नअपनाउनेहरूलाई सम्झाइ बुझाई गरिएको थियो भने एक हजार थान पर्चा तथा पम्लेट वितरण गरिएको थियो ।
छिमेकी भारतका केही ठाँउसहित विश्वका धेरै मुलुकमा कोरोनाको कारण लकडाउन गर्ने अवस्था सिर्जना भएसँगै नेपालमा पनि उच्च सुरक्षा सर्तकता अपनाउन थालिएको हो ।
कोरोनाको दोस्रो लहर शुरु भएसँगै फेरि लकडाउनको चर्चा चले पनि सरकारले त्यस्तो अवस्था नरहेको बताएको छ । केही दिनयता लगातार संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले आवागमनमा कडाइ गर्न थालेको छ । जसका कारण आममानिसमा लकडाउनको त्रास बढेको हो ।
तर,स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकार लकडाउनको मनस्थितिमा नरहेको स्पष्ट पार्नुभएको हो । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताउनुभएको हो । उहाँले लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरू चाल्न सरकार तयार रहेको पनि बताउनुभयो ।
लकडाउनले कोभिड नियन्त्रणमा सघाउ पुग्ने भएपनि नागरिकको जनजीवन र अर्थतन्त्रमा दिर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको उहाँको भनाई छ । मन्त्री त्रिपाठीले भन्नुभयो, ‘हामी यो चाहँदैनौं कि नेपाल फेरि पनि लकडाउनको अवस्थामा जाओस् ।
लकडाउनभन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरू छन् सरकार ती सबै कदम चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ ।’
भारतमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै नेपालमा पनि संक्रमणको त्रास बढेको छ । खुला सीमाना र अव्यवस्थित आवागमनका कारण भारतमा फैलिएको संक्रमण नेपाल भित्रिने जोखिम छ ।
यसअघि पनि सरकारले समयमै सीमा नाकामा कडाइ नगर्दा हजारौँको संख्यामा संक्रमितहरू नेपाल प्रवेश गरेका थिए । जसका कारण नेपालमा संक्रमण फैलिएको भन्दै सरकारको आलोचना भएको थियो । मन्त्री त्रिपाठीले भने यसपटक त्यस्तो नहुने बताउनुभयो । उहाँले सीमा नाकामा एन्टीजेन परीक्षण शुरु गरिसकेको जानकारी दिनुभयो । सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै उहाँले कोभिडका कारण आतङ्कित नहुन आग्रह गर्नुभयो ।
‘हाम्रो छिमेकमा सबैतिर अलिअलि बढ्दो स्थिति भएको हुनाले हामी त्यसको लागि सतर्क छौं । तर आतंकित हुनुपर्ने अवस्था छैन । आतंकित हुनु भनेको संक्रमणलाई झन् थप्नु हो । सावधानी अपनाउनु पर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपायहरू अवलम्बन गर्नुपर्छ तर आतंकित गरेर जनतामा भय र त्रासको काम गर्नु हुँदैन,’ उहाँले भन्नुभयो ।
मन्त्री त्रिपाठीले बुधबारदेखि चिनियाँ खोप लगाउने अभियान शुरु हुने जानकारी दिनुभयो । अहिले विश्वभर ८१ प्रकृतिका खोप विकसित भइरहेको र त्यसमध्ये १३ वटा खोप प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि तीन किसिमका खोपलाई मान्यता दिएर प्रयोगमा ल्याएको उहाँले बताउनुभयो ।
टिप्पणीहरू