खोजेको हाम्ले एमाले कि ‘इमाले’ ?
यसबेला नेपाल कम्युनिष्ट पार्टी एमालेमा दुई धारबीच संगठन निर्माणदेखि सरकार ‘हल्लाउने र थेग्ने’ सम्मको प्रतिस्पर्धा चलिरहेको छ । चोक चौराहमा एमाले कार्यकर्ताहरु एकक्षणमै भद्र,एकैक्षणमा उग्र देखिन्छन् । चियागफ सुन्ने हो भने त एकैछिनमा सरकार बनाउँछन्, एकैछिनमा सरकार ढाल्छन् । मानौं यिनको शक्तिको बारेमा शेषनागका हजार जीब्राले पनि वयान गर्न सक्दैन् ।
यस्ता कथित एमालेले कहिले पनि ‘शरीरको शोभा टाउको हो’ भनेर बुझेनन् । ओली र नेपाललाई खुइल्याएको ठान्नेहरुले एमालेलाई जनताको वीचबाटै बिस्तारै खुइल्याउँदै गएको हेक्का राख्न भने भुलेका छन् । त्यसैले त होला,एकताको नाममा भँडुवा गतिविधि गर्न उद्यत छन् । जनताको बहुदलीय जनवादको नाममा ओली र नेपाललाई देवत्वकरण गर्न तयार छन् । तर एमालेलाई सिंगो राख्न तयार छैनन् । एक कदम अघि,दुई कदम पछिको सिद्धान्त पढे पनि अवलम्वन गरेका छैनन् ।
धारबीच एकताको बटम लाइन (क) २०७५ जेठ २ गते अघिको सांगठनिक अवस्था कायम हुनुपर्ने । (ख) नयाँ परिस्थिति अनुकूल २०७७ फागुन २८ का निर्णय तथा दसौं,एघारौं र बाह्रौं बैठकका निर्णयहरु फिर्ता लिनुपर्ने हो । तर परिस्थिति यस्तो बनेको छैन । अध्यक्ष ओलीले असल अभिभावकको भूमिका निर्वाह गर्न कञ्जुस्याइँ गर्दा एमालेजनमा निराशा छाएको छ ।
एकपछि अर्को निर्णयहरु जसले पार्टी एकतालाई भन्दा विभाजनलाई बल पुग्ने गर्छ अध्यक्ष ओलीबाट लादिएका छन् । देशभर समानान्तर कमिटीहरु बन्न थालेका छन् । निर्वाचित कमिटीहरुलाई धोती लाउँदै वडासम्म ‘बा का छोराछोरी’ सल्बलाउन थालेका छन् । भातृ संगठनहरुमा पनि त्यस्तै फुट आएको छ । राजनेता बन्छन् भन्ने ठूलो आस थियो त्यसमा तुषारापात भयो,ओली गुटमा सिमित भए ।
उनले आफ्नै सन्तानहरु कसैलाई लाखा,कसैलाई पाखा पारे । त्यसैको सिको गर्दै माधवकुमार नेपालले पनि समानान्तर कमिटी निर्माण गरे । एमाले दलभित्रै प्रतिपक्ष बन्न पुगे । यो नेपालहरुको लागि ‘मरता न क्या करता’ को अवस्था बन्यो । अध्यक्ष ओलीको वैशाख ६ को निर्णय केही लचिलो देखिए पनि एमालेलाई एकतावद्ध गर्न भने पर्याप्त देखिन्न । किनभने उनकै निर्णय मान्नुपर्ने बाध्यता चतुर्याइपूर्वक अन्यमाथि लादेका छन् ।
अबका केही दिनमा माधवकुमार नेपालसहित धेरैजनाको सांसद पद खुस्काएर अकण्टकरुपमा सर्वेसर्वा हुने दाउमा अध्यक्ष ओली देखिन्छन् । यसले माधवकुमार नेपालको निर्वाचन आयोगबाट पाउनसक्ने राहत पनि ‘कर्ण हेजु काण्ड’ जस्तै हुने देखिन्छ ।
किनभने ओलीको आक्रामक रणनीति र कार्यान्वयन गर्ने क्षमताका सामु नेपालहरु निरिह सावित हुनुका साथै रक्षात्मक स्थितिमा छन् । नेपालहरुले कुनै योजना बनाउन नपाउँदै ओलीले नयाँ फन्डा खडा गर्छन् र नेपालहरु यस्तै यस्तै फन्डामा अल्झेर अन्डा बिगार्न थाल्छन् । यसैको शृङ्खलामा सरकार ढाल्न नसक्ने अवस्था सिर्जना गर्न केही थान संघीय सांसदको पद क्वार्लाप्प पार्ने दाउमा छन् । अबका केही दिनपछि एमालेमा नेपालपक्षका सांसदहरु केही जना खुस्के भने कुनै आश्चर्य हुने छैन । सरकार ढाल्न आवश्यक संख्याको ‘पद रिक्त’ गरेपछि ओली झनै शक्तिशाली हुनेछन् ।
त्यसबेला अन्य ‘अडिएका सांसद’ र ‘केन्द्रीय सदस्यहरु’ आयाराम र गयाराम हुनेछन् । एकीकृत कम्युनिष्ट पार्टीको सपना झनै एकादेशको कथा हुनेछ । नेपाल ‘नहला’ र ओली ‘दहला’ सावित हुँदै गएका छन् ।
बोल्नेको पीठो र बोल्न नसक्नेको चामल नबिकेको अवस्था छ । किनभने यतिखेर एमालेमा कार्यकर्ताभन्दा बढी जागिरे,कमिशनखोर,दलाल र भ्रष्टहरुको बोली ‘क्या बात’ हुने गरेको छ । फलतः एमाले कार्यकर्ता नामधारी यी ‘हनुमान र बाँदर’ सेनाहरुले एमालेको विभाजनलाई अकाट्य जस्तै बनाउँदै छन् । एकार्कालाई पछार्दा सगरमाथाको शिखर टेकेझैं फेसबुकलगायतका सञ्जालमा बढाइँ गर्छन् । ‘शाहीलाई पछार्ने अनि शंकरलाई लतार्ने’ अभ्यासले यो कुरा पुष्टि भइसकेको छ ।
एमाले हौं भन्नेले यतिबेला दास मानसिकतालाई त्याग्दै विद्रोह पो गर्ने हो कि ? दलालहरुको त के कुरा गर्नु ? जतातिरबाट दुनो सोझिन्छ त्यहिँ लाग्ने हो । मलाई सम्झना छ,जनकपुरमा सम्पन्न महाधिवेशनमा रिपोर्टिङ गर्दा एमालेबाहेक बिमाले,सिमाले, डिमाले पनि देखेको थिएँ।
तर अहिले त ‘इ’ माले पनि देखिन्छन् कि नाइँ । एउटा पत्रकार सदैव रिपोर्टर भएर नदुखेको टाउको कन्याउँदो छु ।
टिप्पणीहरू