बालुवाटारमा अचम्मको बैठक
सोमबार बिहान ‘एमाले महाधिवेशन आयोजक कमिटी’ को नाममा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठक अचम्मसँग शुरु र अन्त्य भयो ।
अध्यक्षका हैसियतमा प्रधानमन्त्री आफैँले शुरु गरेर आफँै अन्त्य गर्नुभयो । बैठकमा आफैँ एजेण्डा पेश गर्ने, आफैँ छलफल गर्ने, आफैँ त्यसमा भाग लिने, आफैँ निर्णय सुनाउने र आफैँले समापन गर्ने– प्रधानमन्त्रीको यो शैली देखेर उहाँका खाँट्टी समर्थक मानिने केन्द्रीय सदस्यहरू पनि रोमाञ्चित भए ।
न उद्घाटन, न अध्यक्षको आसन ग्रहण, न शहिदप्रति श्रद्धाञ्जली, न रार्ष्ट्रिय गीत, न ब्यानर न त पार्टीकै झण्डा, यी काम–कुरा केही भएनन् । प्रधानमन्त्री छिर्नुभयो, सबैजना उठे । उहाँ बस्नुभयो, सबैजना बसे । अर्थात्, पूर्वराजाहरूको भारदारीसभाजस्तो भयो, सोमबारको बालुवाटार बैठक ।
बैठकको बीचमा महासचिवका हैसियतले ईश्वर पोखरेलले संगठनात्मक कार्ययोजना भनेर केही बोल्दै हुनुहुन्थ्यो । उहाँले जिल्ला अधिवेशन र संगठित सदस्यतासम्बन्धी विषयमा दुई–तीन मिनेट बोल्दाबोल्दै प्रधानमन्त्रीले ‘पख्नोस्, यसमा मै अलिक प्रष्ट पार्छु’ भनी ईश्वरलाई पनि रोक्नुभयो ।
कर्णालीको फ्लोर क्रस प्रकरणमा माधव नेपाल खेमामाथि कारबाही गर्ने कुरा उठ्यो । प्रधानमन्त्रीले नै भन्नुभयो, त्यस्तै २०–२१ जना होलान्, कारबाही गर्नैपर्ने पूर्वबाटै ल नाम टिपौँ, ‘झापाको एउटा के खरेल छ नि, कि निरौला हो…?’ कसैले उठेर ‘पवित्रा’ भन्यो । पवित्रा झापा संघर्षमा १७ वर्ष जेल जीवन बिताएर नख्खु जेल समेत ब्रेक गर्ने नरेश खरेलकी पत्नी हुनुहुन्छ ।
उहाँले ०७४ मा जितेको २ नम्बर क्षेत्रबाट निवर्तमान महान्यायाधिवक्ता अग्नि खरेल उठ्न इच्छुक हुनुहुन्थ्यो । यसो भन्दाभन्दै खगराज अधिकारीले भन्नुभयो, ‘अहिले व्यक्ति–व्यक्तिका नाम नभनौँ, पछि तपाईंहरूले सल्लाह गरेर माइन्युटमा लेखे भयो नि’ अनि प्रधानमन्त्रीको जवाफ आयो, ‘अँ, माइन्युटमा लेखिन्छ यी नामहरू’ बैठकमा भएको जम्मा यत्ति हो । तर, हिजो राति ३२ जनाको नाममा स्पष्टिकरणपत्र काटिएको छ ।
टिप्पणीहरू