फौजमा पनि कोरोना डरलाग्दोसँग फैलियो

कोभिड १९ को नयाँ संस्करण युके भेरिएन्टको महामारी नेपालमा नराम्रोसँग फैलिएको छ । तर, फैलावटको स्तरमा सजगता भने अपनाइएको छैन ।

गत वर्ष नै सशस्त्र प्रहरी बलले बलम्बुमा स्थापना गरेको कोभिड विशेष अस्पतालमा जम्मा १ सय २० शैंया छ । नपत्याउँदो तालले अहिले उक्त अस्पताल भरिभराउ छ । २० आइसियु र ८ भेन्टिलेटर भएमध्ये ५४ जना सक्रिय संक्रमित भर्ना गरिएका छन् । आइसियुमा १४ र भेन्टिलेटरमा ४ जनाको उपचार भइरहेको छ ।

अघिल्लो कोभिड महामारी र यसचोटिको अन्तर कस्तो छ भने, यसचोटि जति पनि बिरामी पुग्छन्, उनीहरू सीधै आइसियुमा पठाइनेखालका हुन्छन् । पहिला बालबच्चालाई अस्पताल लैजानुपर्ने अवस्था थिएन । तर, अहिले कोभिडको मारमा सबभन्दा बढी बालबालिका परेको तथ्यांक छ । तैपनि, मान्छेमा डर हराएको छ ।

सेनातर्फ उस्तै महामारी छ । वैशाख ५ गतेसम्म कूल संक्रमितको सख्या ५ हजार १ सय ९८ थियो । त्यसमध्ये निको भएर जानेको संख्या ५ हजार १ सय ६९ छ । अहिले नेपाली सेनामा सक्रिय संक्रमितको संख्या २७ छ भने अस्ति सोमबार ६ गतेमात्रै ४ जना थपिएका छन् ।

त्यसमध्ये दुई संक्रमितले वीर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् भने बाँकीले आ–आफ्नै किसिमले उपचार गराउँदै छन् । तर, संक्रमित सेनामध्ये कोही पनि गम्भीर अवस्थामा छैनन् ।

देशभरका सेनामध्ये २० हजारले पहिलो डोजको भ्याक्सिन लगाइसकेका छन् । दोस्रो डोज अब शुरु हुन्छ । सेनाले गत वर्षदेखिकै शव व्यवस्थापनको हिसाब निकाल्दा अस्तिसम्म ३ हजार ९८ पुगेको छ । त्यसमध्ये पछिल्लो तथ्यांक कहालिलाग्दो छ ।

वैशाखको १ गतेसम्म ३ हजार ७९ शव व्यवस्थापन गरेको सेनाले २ गतेसम्म ३ हजार ८७, ४ गतेसम्म ३ हजार ९२ र ५ गते ३ हजार ९८ शव व्यवस्थापनको संख्या पु¥याएको हो । अर्थात्, पाँच दिनमै १९ शव सेनाले व्यवस्थापन गर्नुपरेको छ ।

यही तथ्यले पनि भन्छ, युके भेरिएन्टको महामारी अघिल्लो कोभिडभन्दा धेरै गुणा कहालिलाग्दो छ ।

टिप्पणीहरू