रविलगायत सबै जनालाई थुनामा राख्नुपर्ने सरकारी पक्षको माग

रविलगायत सबै जनालाई थुनामा राख्नुपर्ने सरकारी पक्षको माग
सुन्नुहोस्

रवि लामिछानेसहित सातै जनालाई थुनामा राखी अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ ।

उच्च सरकारी वकिल कार्यालय पोखराले सूर्यदर्शन बचत तथा सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशमा चित्त नबुझेको भन्दै निवेदन दर्ता गराएको छ ।

न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा भूतपूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछानेसहितलाई धरौटीमा छाड्न आदेश दिएपछि सरकारी वकिलहरुले चित्त नबुझाएका हुन् ।

आदेशपछि छविला जोशी, सूर्यदर्शनका पूर्व सञ्चालक कृष्ण गुरुङ, पूर्व उपाध्यक्ष मीना गुरुंग र पूर्व कोषाध्यक्ष आरती गुरुङ, गोरखा र हर्बाे इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाल र लीला पछाई धरौटीमा छुटेका थिए ।

लामिछानेसँग ६५ लाख, जोशीसँग ८८ लाख, लीला पछाईसँग ३६ लाख, रामबहादुर खनालसँग १५ लाख, कृष्ण गुरुङसँग एक लाख, मीना गुरुङसँग र आरती गुरुङसँग जनही पाँच लाख धरौटी माग भएको थियो । लामिछाने काठमाडौं जिल्ला अदालतमा परेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण सम्बन्धी मुद्दामा ६० लाख धरौटीमा छुटेका हुन् ।

टिप्पणीहरू