धुवाँको मुस्लो फाल्ने गाडीमाथि निगरानी
राजधानीमा धुँवाको मुस्लो फ्यालेर सवारीसाधन हुँइकाउने क्रम बढेपछि काठमाडौं महानगरपालिकाले प्रदूषण चेकजाँच गर्न थालेको छ । महानगरको वातावरण व्यवस्थापन विभागले वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा सवारीसाधनको प्रदूषण चेकजाँच गरी कारबाही गर्न थालेको जनाएको छ ।
पुस २९ गतेसम्म थालिएको चेकजाँचका क्रममा आजसम्म डिजेलबाट चल्ने एक सय ४० र पेट्रोलबाट चल्ने २० गरी एक सय ६० वटा सवारीसाधनको प्रदूषण जाँच गरिएको छ । यीमध्ये डिजेलबाट चल्ने ९४ र पेट्रोलबाट चल्ने ६ वटा सवारी प्रदूषण मापदण्डबाट बाहिरिएका हुन् ।
चक्रपथ सुकेधारा भएर गुडिरहेका ४० वटा डिजेलबाट चल्ने गाडीको प्रदूषण चेकजाँच गर्दा ३१ वटा अनुतिर्ण भएकोे महानगरको भनाइ छ । यस्तै, हिजो टेकूमा चेकजाँच गरिएका ४० वटा सवारीसाधनमध्ये ३३ वटा फेल भए । शनिबार सिनामंगल क्षेत्रमा गरिएको चेकिङ्गका क्रममा २० वटा गाडीमध्ये १० वटा प्रदूषण मापदण्डबाट बाहिरिएका थिए ।
माघ ३ गते पानीपोखरी क्षेत्रमा २० वटा सवारीको चेकजाँच गर्दा १४ वटा फेल र माघ २ गते जमल क्षेत्रमा २० वटाको प्रदूषण चेकजाँच गर्दा छ वटा फेल भएको बताइन्छ । पुस २९ गते बबरमहलमा २० वटा परीक्षण गर्दा छ वटा फेला भएको महानगरले जनाएको छ । परीक्षणमा मापदण्डबाहिर भेटिएका सवारीसाधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कबुलियतनामा गराइएको छ ।
सवारीसाधनबाट निस्किने धुँवाका कारण वायु प्रदूषण बढेपछि न्यूनीकरण तथा नियन्त्रणका निम्ति गाडीको प्रदूषण चेकजाँच गर्न थालेको महानगरको भनाइ छ ।
टिप्पणीहरू