अब भने भुरा माछा पनि हौसिने भए…

अब भने भुरा माछा पनि हौसिने भए…

-कौशल चेम्जोङ

सर्वोच्च अदालतले स्टिङ अपरेशनलाई अवैध ठहर गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) अब ‘दाह्रा र नङ्ग्रा’ नभएको घाइते बाघजस्तै हुने भएको छ ।

यो निर्णयपछि भ्रष्टाचारी,घुस्याहाहरू कुटिल हाँसो गर्दैछन् । अख्तियारको फन्दामा परेका चार सय हाराहारीका ‘भुरा माछा’ हौसिएका छन् । किनकि यिनलाई अख्तियारले ‘स्टिङ अपरेसन’को चारो हालेर पक्रिएको थियो ।

उनले ठड्याएको एक औंला (एकीकरणको प्रतीक) लाई एक लाखसम्म घुस लिँदा अपराध नहुने भनी बङ्ग्याईदों छ ।

‘ठूला माछा’ पनि अदुअआलाई खिसिट्युरी गर्न पछि परेका छैनन् । किनकि अदुअआले डाम्दैमा आकाश खस्नेवाला छैन भन्ने सन्देश छरिएको छ । स्टिङ अपरेशनविरुद्ध सर्वोच्च अदालतको निर्णय बाहिरिएपछि भुरा माछाहरू उन्मुक्तिको लामो श्वास फेर्दै उफ्रिएका छन्, ‘करोडौं लुट्नेलाई केही गर्न नसक्ने,हाम्लाई मात्रै हेप्नी अनि समात्नी ?’ हो, भुरा माछालाई समातेर ठालु पल्टिने अनि ‘ह्वेल माछा’ लाई शार्क सम्झँदै भाग्ने अदुअआलाई लागेको यो झड्काले सुशासन र भ्रष्टाचाररहित बनाउने कुरा अब ‘कुरामैं सिमित’ हुने छाँट आएको छ ।

बडामहाराज पृथ्वीनारायण शाहले ‘घुस लिन्या र दिन्याँ दुवै राष्ट्रका शत्रु हुन्,यिनको जिव हरिलिया पनि पाप लाग्ने छैन’ भनेका थिए । अहिले भने उनले ठड्याएको एक औंला (एकीकरणको प्रतीक) लाई एक लाखसम्म घुस लिँदा अपराध नहुने भनी बङ्ग्याईदों छ । एक खिली बिँडी,एक बिरा पान वा एक चुट्की खैनी होस् वा एक गिलास चिया सेवाग्राहीको मन रुवाएर, बाध्य पारेर ‘दाम एैंठने’ प्रक्रिया पनि अनियमितता र भ्रष्टाचार हो । स्टिङ अपरेशनले यस्तो क्रियाकलाप गर्ने,नियम वा कानून संगत काम नगर्नेविरुद्ध थोरै भए पनि डर पैदा गरेको थियो ।

टेबल मुनिबाट लिनेहरूले हाकाहाकी भन्नसक्ने भएका छन्, ‘सापटी लिएको हो ।’ किनभने रङ्गेहात हुँदा त सापटी लिएको भन्दै बयान सच्चाएर ‘फुर्सद पाउने’ ले अब दिउँसै ‘रत्यौली’ खेल्न सक्नेछन् ।

अब यो फैसलाले यस्ता सेवाग्राहीको मन रुवाउने र कथित् सेवाप्रदायकको ‘चाँदी कटाइ’ का दिन शुरु भएको छ । किनभने टेबल मुनिबाट लिनेहरूले हाकाहाकी भन्नसक्ने भएका छन्, ‘सापटी लिएको हो ।’ किनभने रङ्गेहात हुँदा त सापटी लिएको भन्दै बयान सच्चाएर ‘फुर्सद पाउने’ ले अब दिउँसै ‘रत्यौली’ खेल्न सक्नेछन् । र, यसको मार गरिब र पहुँच नहुनेहरूले खेप्नुपर्ने भएको छ । जसले जे भने पनि स्टिङ अपरेशन भुरा भ्रष्टहरूविरुद्ध नकेल थियो,जुन अदुअआको प्रभावकारी औजार मानिएको थियो । अब त्यो पनि अवैध ठहरिएको छ । हतियारै भुत्ते भएपछि कसको के लाग्छ र ? बाघको दाह्रा र नङ्ग्रा निकालेर शिकार गरी खा भन्नु आफैंमा कति जायज हुन्छ ?

लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा वैकल्पिक मात्र होइन आफूलाई ‘रिप्लेका गभर्मेन्ट’ ठानेपछि तत्कालीन सत्तासिन, शक्तिमा पहुँच र दलका नेताहरू हैरान भए । अन्यले अख्तियारको दुरुपयोग गरे,नगरेको कुरा खुट्याउनुपर्नेमा आफैं अख्तियारको दुरुपयोग गरे । यो कुराको महसुस राज्यका तीनै अङ्गका प्रमुखले मात्र होइन दल र तिनका नेता गण अनि सचेत नागरिकले गरे ।

उनको खिचडी पकाइ ‘सत्ता केन्द्रित र व्यवस्थाप्रति वितृष्णा जगाउने’ किसिमको थियो । ‘सर्पलाई जति दूध ख्वाए पनि….’ उखानको उदाहरण बनेका कार्कीले भ्रष्टाचार निवारण दिवसमा देखाएको तामझामबाट नेताहरू झस्के । त्यसपछि उनीविरुद्ध मोर्चाबन्दी शुरु भयो । फलतः उनको अपमानजनक बिदाइ भयो ।

त्यसो त अदुअआको राजनारायण पाठक र दीप बस्न्यातहरूले पनि हुर्मत लिई सकेका छन् । खाने मुखलाई नछेक्ने हजार दाउ हुँदो रहेछ । चिरञ्जिवी वाग्ले, खुमबहादुर खड्का,जयप्रकाश गुप्ता,केही प्रहरी (जनपथ र सशस्त्र) का पूर्व प्रमुखहरूलाई दोबरदावर पार्दा अबचाँहि केही हुन्छ कि ? भन्ने विश्वास जाग्थ्यो । एकादुई बाहेक सानो माछामै रमाएको अदुअआले एक रन हजार,दुई रन १०।२०, तीन रन ५।१० हान्यो भने चौका र छक्का अहिलेसम्म हान्न सकेको छैन ।

त्यसैले अदुअआको साख भने जस्तो जनतामाझ छैन । सिद्धान्ततः अदुअआ ठीक भए पनि सानो माछा मात्रै पक्रन सक्ने खुबी र ल्याकतबारे जहिले पनि प्रश्न उठेको छ । अहिले पनि प्रश्न उठेको छ । यस्तो बेला एकाएक सर्वोच्च अदालतले अदुअआको एक प्रभावकारी औजार मानिएको स्टिङ अपरेशन अर्थात् ‘अदुअआ नियमावली २०५९ को नियम ३० को प्रावधानअनुसार संकलन गरिएको प्रमाण ग्रहणयोग्य नहुने’ भनेपछि थला परेको छ ।

सर्वोच्च अदालतको यो फैसला अदुअआलाई हात खुुट्टा बाँधेर दौडमा सामेल हुने उर्दी जस्तै हो । किनभने सेवाग्राहीले भने जतिको पैसा दिन नसकेरै अख्तियारलाई गुहार्ने हुन् । दिन सक्ने भए मुद्दामामिला र झन्झटमा कसलाई पो फस्ने रहर लाग्दो हो ! ग्राउन्ड जिरोमा आजकल भ्रष्टाचारीको व्यवहार निकै बदलिएको छ ।

स्टिङ अपरेशनका कारण नगदको रुपमा घुस लिने चलन हराउँदै गएको थियो । यसको बदला जिन्सी वा नगदमा सहजै रुपान्तरण हुने सामग्रीहरू प्रयोगमा ल्याउन शुरु भएको थियो । यस्तो कार्य रोक्न अदुअआलाई अझ वैज्ञानिक शिक्षाको ज्ञान थियो, सबल औजारहरू प्रयोगमा ल्याउन हौस्याउनुपर्ने थियो । तर यस्तो हुन सकेन । सम्मानित अदालतले यो कार्य नियमानुसार नभएकाले अर्को नियम बनाउने समयानुकूल आदेश दिएको भए राम्रो हुन्थ्यो ।

भ्रष्टाचारविरुद्धको लडाइँमा अपराधसंहिता भाग ३ को परिच्छेद १ को दफा २९३, २९४, २९५ र २९७ ले निकै प्रतिकूलता थपेको छँदैछ । कठिन बनाएको छ । यस्तो बेला यो नयाँ नजिरले सम्मानित अदालतले चाहेजस्तो न्याय नै पो नहुने हो कि ? प्रश्नको निरुपण गर्नको निम्ति पुनरावलोकन गर्ने पो कि ?

नभए त भुराहरूले निमुखाहरूलाई खुलेआम मुख छाडेर हुर्मत लिने दिन अब टाढा छैन ।

टिप्पणीहरू