माओवादीनिकट कर्मचारीलाई गोर्खेलौरी
जागिरे जीवनमा माओवादीकै कुनै मन्त्रीको निजी सचिवालयसँग जोडिएकै निहुँमा ओली क्याबिनेटका एक मन्त्रीले एक जना सहसचिवलाई हाजिरै गर्न नदिएर फिर्ता पठाएका छन् ।
कर्मचारीले ठूलो प्रतिष्ठाको विषय मान्छन् मन्त्रीकै निजी सचिवालयमा जोडिनुलाई । केहीले यसैबाट मनग्ये आर्थिक लाभ पनि लिन्छन् तर पूर्वमन्त्री मातृका यादवको सचिवालयमा जोडिएकै कारण दुई जना कर्मचारी थकथकको स्थितिमा छन् ।
दुई साताअघि सरकारले ७९ सहसचिवको सरुवा गर्दा धर्मेन्द्रकुमार मिश्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका टेकराज निरौला, वन तथा वातावरण मन्त्रालयका नवराज ढुंगाना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका भरतमणि पाण्डे, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका होमप्रसाद लुइँटेल, विश्वप्रकाश अर्याल, शिवराम गेलाल, राजेन्द्रदेव पाण्डे, सुनील खनाल, कमलराज ढकाल, नवराज सापकोटा, रामप्रकाश पाण्डे, सुशील वैद्य, कृष्णप्रसाद पन्थ र जनार्दन गौतम गृहतिर पुगे ।
यसबीच सबैजसो हाजिर भइसके तर एक जना सहसचिव प्रचण्डनिकट (मातृकासँग) जोडिएकै बहानामा गृहबाट वनतिरै खेदिएका छन् । उनी हुन् नवराज ढुंगाना । मातृका यादव उद्योगमन्त्री हुँदा उनकै सचिवालयमा थिए । प्रेम आचार्य त्यहाँबाट हटेपछि मातृकाको सचिवालयमा पुगेका उनले साउनदेखि मंसिरसम्म चार महिना मातृकालाई सघाए । त्यहाँबाट ९ महिनाअघि मात्र वन मन्त्रालय पुगे । हालै सहसचिवमा लिखिततर्फ एक नम्बरमै नाम निकाल्न सफल उनको पदस्थापन भएको थियो गृहमा ।
पहिला त गृहमन्त्री रामबहादुर थापा बादल सकारात्मक नै थिए । यही बीच पार्टी परित्याग गरेर एमाले बनेका मन्त्रीहरूमाथि प्रचण्डले लाठी बर्साए । गृहमन्त्री बादलको सांसद पद खुस्कियो । त्यही रिसमा उनलाई गृहमा हाजिर गर्न नदिई वनमै पठाइएपछि वन तथा वातावरण मन्त्रालय र कर्मचारीको खटनपटन गर्ने संघीय मामिला तथा सामान्य प्रशासनतिर हलचल छ । वनमा १ जना प्रशासन र ५ प्राविधिक सहसचिवको दरबन्दी छ । बादलले हाजिर गर्न नदिई फिर्ता पठाइदिएपछि अस्तिसम्म वनमा प्रशासनकै सहसचिव तीन जना थिए ।
जसमध्ये उमाकान्त आचार्य महालेखा नियन्त्रकमा खटाइए भने प्रशासनका हाकिम बद्रिराज अर्याल र नवराज ढुंगाना छन् । यसअघि मातृकाकै सचिवालयमा जोडिएका उपसचिव प्रेम आचार्य, प्रधानमन्त्री कार्यालय मातहतकै राजश्व अनुसन्धान विभागतिर छन् । आचार्यले आफू निकटस्थसँग मातृकाको सचिवालयमा बसेकै कारण आफूमाथि कट्टर माओवादीको आरोप लागेर अनेकन अपमान व्यहोर्नुपरेको, नाम मात्र बदनाम भएको भन्दै निकटस्थहरूसँग दुखेसो पोख्ने गरेका छन् ।
यसैबीच, प्रधानमन्त्री ओलीको विश्वासपात्र प्रेम आले वनमन्त्री बनेर भित्रिएसँगै सचिव तथा ओली वंशावली समाजका महासचिव विश्वनाथ ओली सेवा अवधि पूरा गरी हिजो घर फर्किएका छन् । ०४६ साल जेठदेखि निजामती सेवामा प्रवेश गरेका उनी ०७० वैशाखमा वन विभागको महानिर्देशक हुँदै ०७३ वैशाखमा कान्छा सचिव बनेका हुन् । उमेर हदका आधारमा जागिर खान अझै ८ वर्ष थियो तर सेवा हद (५ वर्षे) पूरा भएसँगै भूपू भएका हुन् । स्रोतका अनुसार ओली रातोघर (अख्तियार दुरूपयोग अनुसन्धान आयोग) बाट सावित्री गुरुङ बाहिरिएसँगै प्राविधिक आयुक्त बन्ने खेलोमा छन् । त्यो खेलो सफल नभए लोकसेवा आयोगमा जाने प्रवल सम्भावना छ ।
उनी बाहिरिएसँगै वन मन्त्रालय सचिवविहीन बनेको छ । वन सचिव बन्ने लाइनमा हाल राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सदस्य सचिव कृष्णप्रसाद आचार्यलगायत छन् तर लोकसेवा आयोग पदाधिकारीविहीन हुँदा तत्काल बढुवा भइहाल्ने सम्भावना छैन ।
टिप्पणीहरू