प्रधानमन्त्रीको संयम प्रशँसनीय,किन रोकियो माधवमाथिको प्रहार ?
नेपाल-खनाल पक्षका २७ सांसदलाई पदबाट हटाउने तयारीका साथ सोधिएको स्पष्टिकरणबारे छलफल गर्न बोलाइएको एमालेको हिजोको बैठक कारवाहीबारे ठोस निर्णय नगरी टुंगिएको छ । नेपालसहित कम्तिमा १० सांसदलाई कुनैपनि हालतमा कारवाही गर्ने तयारीका बीच एकाएक हिजोको बैठकमा प्रधानमन्त्री ओलीले कारवाहीको उच्चारणसमेत नगरेपछि राजनीतिक परिस्थिति अन्तै मोडिएको अनुमान गरिन थालेको छ ।
हिजोको बैठकमा एकाएक १८० डिग्रीमा युटर्न हुँदै प्रधानमन्त्री ओलीले स्पष्टिकरण सोधिएका सँघीय सँसदवालालाई कारवाही प्रस्ताव गर्नुभएन । अघिल्लो बैठकमा माधव नेपाललाई उछित्तो काढ्नु भएका प्रधानमन्त्री हिजो निकै नरम भएर प्रस्तुत हुनुभएको बैठक स्रोतले बतायो । २७ जनालाई एकैचोटी कारवाही गर्दा एकातिर पार्टीमा नसोचेको पहिरो जाने र अर्कोतिर संसदीय अंकगणित पनि आफू प्रतिकूल अघि बढ्ने विश्लेषण सुनाइएपछि उहाँ संयमित हुनुभएको बताइन्छ ।
‘६ गतेको बैठकमा शुरुबाटै माधव नेपाललाई गाली गर्नुभएको थियो । तर, हिजो कुनै गालीगलौज गर्नुभएन’, स्रोत भन्छ, ‘उहाँमा अचानक देखिएको यस्तो परिवर्तनले परिस्थिति नयाँ ढंगले विकास भएको संकेत देखिन्थ्यो ।’
स्रोतका अनुसार स्पष्टिकरणका सम्बन्धमा खासै नबोल्नुभएका ओलीले प्रमुख सचेतक विशाल भटराईलाई बोल्न दिनुभएको थियो । स्पष्टिकरणको जवाफ दुई प्रकारको भएको भट्टराईको रिपोर्ट सुनेपछि ओलीले स्थायी कमिटीले थप निर्णय गर्ने भन्दै टपिक क्लोज गर्नुभयो ।
बैठकमा प्रधानमन्त्री ओलीले माधव नेपालसँग भएको छलफलको ब्रिफिङ पनि गर्नुभएको थियो । सो क्रममा ओलीले आफूले पार्टी मिलाउन धेरै प्रयास गरेपनि माधव नेपालमा गल्तीको रियलाइजेसन नदेखिएको भन्दै अझै पनि प्रयास जारी राख्ने बताउनुभएको थियो । ‘हिजो र अस्ति माधव नेपालसँग कुराकानी भयो, तर उहाँमा रियलाइजेसन छैन । मलाई साधारण सदस्यबाटसमेत हटाइयो । सडकबाट पार्टीको अध्यक्ष फेरियो । तर,उहाँले रियलाइजेसन गर्नुभएको छैन’, बैठकमा ओलीले भनेको कुरालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यद्यपि हाम्रो कोशिस चैं सकभर पार्टीमा क्षति नै नहोस्, भयो भने पनि कम भन्दा कम होस् भन्ने छ ।’
नेपाल पक्षसँग सामूहिक छलफल गर्न अस्वीकार गर्दै आउनुभएका ओली व्यक्तिगत रुपमा भने डिल गरिरहनुभएको छ । नेता नेपाललगायतका केहीलाई छाडेर अरुलाई आफूतिर तान्ने र नेपाललाई कमजोर बनाउने रणनीतिअनुसार ओलीले सांसदहरुसँग एक्लाएक्लै छलफल गरिरहनुभएको छ । क्षति भए पनि कमभन्दा कम होस् भन्नुको अर्थ पनि सबैलाई कारवाही नगर्ने उहाँको मनसाय रहेको निकट स्रोतको भनाइ छ ।
हमेशा तिखा टिप्पणी गरेर नेपाल समूहका नेतालाई गाली गर्ने ओली हिजोको बैठकमा शालीन र नरम भएर प्रस्तुत भएपछि अनेक अड्कल लगाउन थालिएको छ । अझ प्रधानमन्त्रीले राजनीति उत्तेजना र आक्रोशको विषय होइन, देश र पार्टीलाई अगाडि लैजाने सवाल हो भनेपछि बैठकका सहभागीहरुले अचम्मै मानेको बताइन्छ । ओलीले नेताहरुको नामै लिएर भन्नुभएको थियो, ‘मैले माधव नेपाल, वामदेव गौतम र योगेश भट्टराईसँग कुरा गरेको छु । एकताको लागि सकिनेजति गर्न गम्भीरतापूर्वक लागेको छु र अझै लाग्ने छु ।’
प्रधानमन्त्री ओली बैठकमा नरम भएर आउनु र कारवाहीको प्रक्रिया अघि नबढ्नुले ओलीले दुई वटा खतरा देखेको हुनसक्ने बताइन्छ । स्पष्टिकरण सोध्ने ओलीको निर्णयका विरुद्ध नेपाल समूह अदालत गएको छ । अदालतको फैसला आफू प्रतिकूल हुँदा पर्नसक्ने अप्ठेरोको जोखिम नमोल्न निकटहरुले सुझाएपछि ओली ‘पर्ख र हेर’ को अवस्थामा पुगेको हुनुपर्छ ।
अर्को कुरा, फागुन २३ को फैसलाका कारण माधव नेपाललाई ठूलो अन्याय भएको न्यायालयले महसुस गरेको र फेरि नेपाललाई कमजोर हुनेगरी फैसला नआउनसक्ने कुरा ओलीको कानमा कसैले पारिदिएपछि ओली कारवाहीको प्रक्रियालाई थाति राख्ने अवस्थामा पुग्नुभएको पनि बताइन्छ । त्यसो त न्यायाधीशहरु पनि एमाले फुट्नु हुँदैन भन्ने पक्षमा रहेको बताइन्छ । अदालतको फैसलाले नेकपा फुटेको आरोप लागेको बेला फेरी त्यस्तै आरोप नलागोस् भन्नेमा अदालत सचेत भएको विश्लेष्ण सुनेर ओली एक कदम पछि हट्न राजी भएको बताइन्छ ।
ओलीले देखेको अर्को खतरा चैं सभामुखले कारवाहीको सिफारिस कार्यान्वयन नगर्ने पो हो कि भन्ने हो । अहिले ओली र सभामुख अग्नि सापकोटाका बीच तनावपूर्ण सम्बन्ध छ । सरकारका दुई अंगका प्रमुखहरुमा देखिएको विवादले संसदका कामकारवाही नै प्रभावित बनेको अवस्थामा ओलीको सिफारिस सभामुखले तत्काल ओके गर्ने सम्भावना निकै कम छ ।
नेपाल समूहको रिट निवेदनमा सभामुखलाई पनि विपक्षी बनाइएको छ । यो कोर्षमा प्रवेश नै नगरेका सभामुखलाई विपक्षी बनाउनु अर्थपूर्ण भएको बताइन्छ । स्रोत भन्छ, ‘एमाले विवादमा सभामुखलाई जोड्नुको गहिरो अर्थ छ । यदि भोलि अदालतले कारवाही रोक्न स्टे अर्डर दियो भने मैले अदालतको फैसलाअनुसार गरेको हुँ भन्न उहाँलाई सहज हुन्छ । त्यहि कारणले उनलाई विपक्षी बनाइएको हुनसक्छ ।’
टिप्पणीहरू