अकस्मात बैठक बस्यो,आजै कार्वाहीको निर्णय भएन

अकस्मात बैठक बस्यो,आजै कार्वाहीको निर्णय भएन

माधव नेपालसहित २७ जना संघीय सांसदलाई पदमुक्त गर्न आकस्मिक रूपमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठक कारवाहीबारे आज पनि अनिर्णित भएको छ । अस्तिको बैठकमा स्पष्टिकरणको जवाफको रिपोर्टिंग सुनेपछि स्थायी कमिटीले आवश्यक निर्णय गर्छ भन्नुभएका अध्यक्ष केपी ओलीले आज अचानक आयोजक कमिटीकै बैठक बोलाउनुभएको हो ।

तर,बैठकमा कारवाहीबारे निर्णय भएन । कमिटीबाट निर्णय नभएपनि ओलीले बोलेपछि कमिटीको निर्णयसरह हुने अवस्था रहेकाले आज साँझ जस्तो पनि विज्ञप्ति आउनसक्ने अनुमान गरिएको छ ।

यता,अस्ति नेपाल पक्षले दर्ता गरेको रिटलाई सर्वोच्च अदालतले ३१ औं नम्बरमा पेशी चढाएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सबैभन्दा पुच्छारको अन्तिम दोश्रो नम्बरमा राखिएको मुद्दाउपर आज पालो आउने सम्भावना छैन ।

अर्को पेशी चढ्दासम्म नेपाल पक्षका केही सांसदको पद खाइसक्ने तयारी छ । सामान्यतया बिषयको गम्भीरता हेरी यस्ता रिटलाई एक,दुई नम्बरमै राखेर आदेश दिने परम्परा यसचोटि तोडिएको हो । कानूनविदहरु भन्छन्, ‘ढिलो गर्नु न्याय नदिनु बराबर हो ।’

नेपाल समूहका चार नेताले अस्ति बिहीबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली,महासचिव ईश्वर पोखरेललगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

अध्यक्ष ओलीले बरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाललगायत सो पक्षका संघीय संसदका २७ जनालाई छुट्टै दल बनाएको आरोपमा स्पष्टिकरण सोध्नुभएको थियो । ओलीको उक्त निर्णयविरुद्ध उनीहरु अदालत पुगेका थिए ।

टिप्पणीहरू