प्रहरीमा पनि संक्रमण, सतर्कताको निम्ति सख्त निर्देशन
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण व्यापक रुपमा बढिरहेका बेला नेपाल प्रहरीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा कडाइ गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ । भीड नियन्त्रणमा खट्नुपर्ने भृकुटीमण्डपस्थित नगर प्रहरीमै कोरोना संक्रमण देखिएपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित चुनौतिको सामना गर्न प्रभावकारी व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको हो ।
उपत्यकास्थित प्रहरी कार्यालयका प्रमुखहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले कोभिड–१९ को संक्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयन गराउनु प्रहरीको प्रमुख दायित्व रहेको उल्लेख गर्नुभयो ।
कोरोना संक्रमणको बढ्दो अवस्थालाई दृष्टिगत गर्दै यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदम तथा प्रभावकारी व्यवस्थापनमा प्रहरी कर्मचारीहरु सक्रिय रुपमा लाग्नुपर्नेमा महानिरीक्षक थापाले जोड दिनुभयो । संक्रमण रोक्न प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय,सहकार्य र अनुगमनमा तीब्रता दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
प्रहरी संगठनले तय गरेका नीति तथा योजनाहरुलाई व्यवहारमा लागू गर्दै परिणाम देखिने गरी कार्यान्वयनमा लैजान जोड दिँदै उहाँले सम्भाव्य चुनौति सामना गर्न बैकल्पिक व्यवस्थालाई थप प्रभावकारी बनाउनेतर्फ पनि प्रहरी कर्मचारीहरु अग्रसर हुनुपर्ने बताउनुभयो ।
कोभिड नियन्त्रणमा अपनाईने मास्क,स्यानिटाइजरको प्रयोग लगायतका सम्पूर्ण सुरक्षा विधिहरुको पूर्ण पालना गर्ने तथा उपचार व्यवस्थापन चुस्त राख्न समेत उहाँले प्रहरीलाई निर्देशन दिनुभयो ।
टिप्पणीहरू