बिहीबार रातिदेखि काठमाडौंमा निषेधाज्ञा

बिहीबार रातिदेखि काठमाडौंमा निषेधाज्ञा

कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को हिजोको बैठकले सिफारिश गरेबमोजिम आज बेलुका बस्ने क्याबिनेट बैठकले काठमाडौं उपत्यकालगायत तीब्र रुपमा कोरोना संक्रमण फैलिएका जिल्ला र क्षेत्रमा अहिले स्थानीय प्रशासनले जारी गर्ने निषेधाज्ञा अनुमोदन गर्ने भएको छ । उपत्यकाका तीन जिल्ला काठमाण्डौ,ललितपुर र भक्तपुरको हकमा आगामी बिहिवार राती १२ बजेदेखि हाललाई एक हप्तासम्म दूध,तरकारी,ओखती बोकेका गाडी,एम्बुलेन्स,शववाहन,चिकित्सक,सुरक्षा र सन्चारकर्मी तथा सरकारी निकायका गाडीबाहेक बिशेष इजाजतबिनाका अरु सबै सवारी साधन ठप्प हुनेछन् । अफिस जाने कर्मचारीबाहेक सर्वसाधारणको हिंड्डुलमा पनि रोक लाग्नेछ ।

५ सयभन्दा बढी संक्रमित भएका नगर र जिल्ला तथा २ सय भन्दा बढी संक्रमित भएका गाउँपालिकामा स्वतः निषेधाज्ञा लगाउने गरी निर्णय हुने स्रोतको दाबी छ । काठमाडौं उपत्यकामा सीसीएमसीले तोकेको भन्दा बढी संक्रमित देखिइसकेको छ ।

निषेधाज्ञा गर्दा के केमा प्रतिबन्ध लगाउने भन्ने विषयमा शर्त तथा आवश्यक निर्णय गर्ने अधिकार भने सम्बन्धित जिल्लाका सीडीओलाई दिइनेछ ।

यसैबीच विदेशबाट जहाज चढेर नेपाल भित्रिने यात्रुले १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नैपर्ने नियम बनाइएको छ ।

विभिन्न ठाउँमा हुने निषेधाज्ञाको कारण आन्तरिक उडान स्वतः कटौति हुने बताइएको छ । उता, हिमाल आरोहणलाई भने यथावत राखिएको छ । पीसीआर रिपोर्ट अनिवार्य गर्दै हेल्थ प्रोटोकल पालना गर्न लगाइएकाले हिमाल आरोहणको क्षेत्रमा कुनै समस्या नरहेको सरकारी अधिकारीहरुको दाबी छ ।

 

टिप्पणीहरू