भारतको अवस्था झनझनै भयावह (भिडियाे सहित)

भारतको अवस्था झनझनै भयावह (भिडियाे सहित)

छिमेकी मुलुक भारतमा कोरोना महामारीको दोस्रो लहर भयावह बन्दै गएको छ । दैनिक तीन लाख भन्दा बढीमा संक्रमण र दुई हजार जनाभन्दा बढीको मृत्युले सबैलाई झस्काएको छ ।

भारतको अधिकांश राज्यका अस्पतालका बेडहरू भरिएका छन् । सयौं बिरामी अक्सिजनको अभावमा अस्पताल बाहिरै मृत्यु वरण गरिरहेका छन् । त्यहाँ जताततै चित्कार मात्र सुन्न थालिएको छ । गत वर्ष इटालीमा देखिएकोभन्दा धेरै गुणा पीडादायी अवस्था अहिले भारतमा उत्पन्न भएको बताइन्छ ।

कोरोनाको नयाँ भेरियन्टको बेलैमा रोकथाममा देखिएको सरकारी र जनस्तरको उदासीनताको परिणाम नै अहिले यो अवस्था रहेको निश्कर्ष निकाल्न थालिएको छ । सरकारले सार्वजनिक स्वास्थ्यलाई कम प्राथमिकतामा राखेको र जनताले महामारीलाई बेवास्ता गरेको कारण दैनिक लाखौं संक्रमित र हजारौंले मृत्यु वरण गर्नुपरेको हो ।

नयाँ दिल्लीस्थित एउटा शवदाह गृहको अवस्थाले सबैलाई स्तब्ध बनाएको छ । जहाँ चौबिसै घण्टा कोरोनाबाट ज्यान गुमाउनेको लाश पोल्ने काम भइरहेको छ । यस्तो दृश्य मुलुकका सबैजसो घाट र शव व्यवस्थापन स्थलमा देखिएको छ ।

दिल्लीस्थित एउटा हिन्दु शवदाहस्थलका प्रमुख जितेन्द्रसिंह सेठी भन्छन् ‘अस्ति एक रातमा मात्रै हामीले ७८ वटा शव जलायौं । त्यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । नवजात शिशुदेखि २० वर्षसम्मका बालक र किशोरको शव देखिन्थ्यो । नव विवाहित युवा युवतीसमेत देखिएका छन् ।’

गला अवरुद्ध बनाउँदै उनले भने ‘यो देखेर मेरो दिल दुखेको छ । साना बालबालिकाको मृत्यु भएको छ । लाश जलाउने ठाउँसमेत छैन ।’
सोही ठाउँमा भेटिएका एकजना मृतकका आफन्त नितिशकुमार भन्छन् ‘यस्तो अवस्थामा पनि कसैको सहयोग पाउन सकिएको छैन । बिरामीलाई पर्याप्त अक्सिजन र भेन्टिलेटर उपलब्ध हुन सकेन । भएको अक्सिजन सकिएपछि बिरामीको निधन भयो ।’

महामारी भारतमा कुन अवस्थामा पुगेको छ भन्नको लागि पछिल्लो आँकडाले पनि पुष्टि गर्छ । गत महिनादेखि विश्वमा फैलिएको कोरोनाको दोस्रो लहरमा थपिएका नयाँ संक्रमितमध्ये भारतको मात्रै २८ प्रतिशत योगदान रहेको छ । जुन एक चौथाईभन्दा बढी हो ।

हालसम्म भारतमा १ करोड ६० लाखभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । धेरै जनसंख्या भएको कारण यस्तो अवस्थामा पनि उसको संक्रमण दर भने अमेरिकाको भन्दा कम देखिन्छ । तर,खुल्ला सिमाना भएको कारण त्यहाँको परिस्थितिको झिल्को नेपालमा समेत पर्नेतर्फ बेलैमा सचेत हुनुपर्ने देखिन्छ । भारतले ९५ देशलाई झण्डै ६५ करोड डोज खोप उपलब्ध गराएको थियो । अहिले ऊ आफैलाई उत्पादनको समस्या छ । मानवीय नाता र छिमेकीको सम्बन्धका कारण पनि सबैले एकाअर्कालाई सहयोगमा ढिलाइ हुन नहुने अवस्था छ ।

भिडियो स्रोत : सीएनएन

 

टिप्पणीहरू