काउकुती लाग्ने कुरै नगरौं न कमरेड

काउकुती लाग्ने कुरै नगरौं न कमरेड

हिन्दीमा एउटा कहावत छ ‘का वर्षा जब कृषि सुखानी’ अर्थात् खेती सुकेपछि वर्षाको के मतलव हुन्छ र ! देशले प्राथमिकता तय गर्न नसक्दाको परिणाम राजनीति, अर्थतन्त्र र जनताको स्वास्थ्यमा पर्न गएको असर धमाधम देखिन थालेको छ । यसको पूरा तस्बिर सामुन्ने आइपुग्दासम्म यो–यो हुन्छ भन्न त कठिन होला तर धेरै अप्ठ्यारो हुने प्रष्टै छ ।

जीवन रहे न जहाँको अर्थ रहने हो । जनता वा नागरिकबिनाको वा तिनको जीवनलाई नसमेट्ने अर्थतन्त्र केका लागि ? अर्थतन्त्र डाँवाडोल भएको छ भन्ने रोइलो सुनिन्छ तर अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउन के–के प्रयत्न भयो त यसबीच ? बिग्रेको भनेर जानेपछि त्यसलाई बनाउन उचित कदम चाल्न पहलकदमी लिने कि चुप लागेर बस्ने ? अर्थतन्त्रलाई चलायमान बनाउनु, गतिशील बनाउनु सरकारको जिम्मेवारी हो नि † तर यस्तो प्रकारको जिम्मेवारीबाट भाग्ने र संकट निम्तिएपछि थोत्रा गाला बजाउने काममात्रै भएको छ ।

यो कोरोनाको समस्या सुल्झिइनसकेको बरु नयाँ स्वरुपमा देखिन वा फैलिन सक्छ भनेर लाटागाँडा सबैले अनुमान गरेकै विषय हो । यस्तो भएपछि सरोकारवालाको पहिलो काम वा जिम्मेवारी हुने थियो त्यसविरुद्ध लड्ने योजना बनाउनु र चाहिने सबै प्रकारका सामानको जोहो गर्नु । यो अक्सिजन, अक्सिजनका सिलिण्डर, औषधि, भेन्टिलेटर, आईसीयूको खरिद र भण्डारण, जनशक्तिको उत्पादन, परीक्षण केन्द्र स्थापना, टेस्टिङको प्रबन्ध तथा क्वारेन्टाइन केन्द्र निर्माण गरी तयारी हालतमा बस्ने भनेको हो । तर, यस्तो गर्नुको बदला राजनीतिक उलुलजुलुलमा सरकार फस्यो, अल्झियो ।

अहिले हाहाकार मच्चिएको छ चारैतिर । कस्तो ताज्जुव लाग्ने कुरै सुन्दा पनि क्या ! यो सरकारले गर्न चाहेको कुन काम थियो जुन काम गर्न पार्टीभित्रबाट असहयोग भयो ? प्रदेशमा मुख्यमन्त्री छान्न दिएनन् कि ? प्रदेश प्रमुखहरू नियुक्त गर्न रोके कि ? निर्वाचन आयुक्त बनाउन पाइएन कि ? के काम गर्न दिएनन् दलका साथीहरूले ? कार्यभार सम्हालेको दिन पहिलो हस्ताक्षर तुइन हटाउने फाइलमा गरेको हो । तुइन हटाउन नदिएर बाँकी रहेको हो कि हटाउने काम नगरेर नहटेको ? कुनै मन्त्री यस्ता थिएनन् जसले सवालजवाफ गर्ने हिम्मत राखुन्, सचिवका त कुरै भएनन्, प्रधानमन्त्रीसँग योगेश र घनश्यामलाई मुटुमै ढुंगा राखेर मन्त्री बनाएको भए पनि अल्लि पछि त तिनीहरू पनि लोतेलोते भइसकेको अवस्था थियोे । ओलीको विकल्प ओली नै भन्ने तहमै आएका थिए तिनीहरू पनि । यस्तो भनेको एकदमै अनुकूल अवस्था हो । कुन काम गर्नबाट कहाँ, कहिले र कसले रोक्यो ? हो एमसिसि भने सभामुखले रोकेकै हुन् । तर त्यसलाई पार्टीकाले रोकेर काम गर्न नदिएको मान्न मिल्दैन । फेरि यसबारे के गर्ने भनेर सुझाव दिन त झलनाथ कमरेडको नेतृत्वमा आयोग नै बनेको होइन र ? आफैँले बनाएको आयोगको सुझाव त मान्नैप¥यो नि ! सोही सुझावलाई मानेर चले के बिगार गर्छ ?

तराईमा यो कहावत चल्तीमा छ, सुनाइरहन्छन् साथीहरू, आफ्नो पिठ्युँ आफँै थपथपाउने । मैले यस्तो र उस्तो गरेँ । मेरो नेतृत्वमा यो बन्यो र त्यो बन्यो । धरहरा मैले नै बनाएको, मेलम्चीको पानी पनि मैले नै ल्याएको । उसोभए अर्थतन्त्र ध्वस्तचाहिँ कसले पारेको होला त ? कोरोना भाइरस नयाँ स्वरुपमा अझै खतरनाक भएर आएको छ, कसले ल्याएको होला त? भ्रष्टाचार ब्याप्त छ, कसले गराएको होला त ? खै त मेरै पालामा भएको, आएको हो भनेको ? त्यसकारण मैले जिम्मेवारी लिन्छु भनेको ? भ्वाङ सानो भए मात्रै रफु भर्न पनि सजिलो हुन्छ ।

रफु भर्नेको एउटा किस्सा यस्तो छ– एउटा बादशाह रहेछ साह्रै हाँक्ने अर्थात् गफ दिने । उता भारततिर यस्तोलाई फेँक्ने भन्छन् र फेंक्नेलाई फेंकु भन्छन् । गफ दिँदादिँदै भारदारी सभामा बादशाहले भनेछ– हेर्नुस्, मैले हिजो सिकार खेल्न जाँदा ठ्याक्कै मिर्ग अगाडि प¥यो । बन्दुक उठाएर गोली हानेको त एउटै गोलीले गएर मृगको कान र खुट्टामा लाग्यो र ढल्यो । सबैजना चकित भए बादशाहको कुरा सुनेर, हुनै नसक्ने कुरा थियोे । बोल्ने, सवाल गर्ने कसको हिम्मत ? भारदारहरू नबोले पनि उनीहरूले पत्याएनन् भन्ने कुरा उसले बुझ्यो र छेउमै बसेको सल्लाहकारको अनुहारतिर पुलुक्क हे¥यो । सल्लाहकारले आशय नबुझ्ने कुरै भएन । उसले उठेर भन्यो– कुरा के छ भने बादशाहले ट्रिगर दबाउनु र मृगले कान कन्याउनु ठ्याक्कै उही समय परेछ र गोली कान र खुट्टामा लाग्न पुग्यो । बालुवाटारको राजनीति ठ्याक्कै यस्तै गफ दिने र रफु भर्ने दैनिकीबाट गुज्रिरहेको छ ।

राम्रो र ठीक काम गर्न कहिल्यै ढिला हुन्न भन्छन् । ढिला भएको छैन । आफ्नो पिठ्युँ स्वयं थपथपाउने मनोदशाबाट छिटोभन्दा छिटो बाहिर निस्कँदा सबैको नाक रहन्छ । अरु त जो जिता वही सिकन्दर हो, मान्नै प¥यो, सहनै प¥यो ।

टिप्पणीहरू