समात्ने मात्र हैन,बाँच्ने उपाय पनि सिकाउँदै प्रहरी

समात्ने मात्र हैन,बाँच्ने उपाय पनि सिकाउँदै प्रहरी

कोरोना नियन्त्रणसम्बन्धी प्रहरीको सचेतनामूलक कार्यक्रमबाट ६६ हजार ७ सय ४७ जना लाभान्वित भएका छन् ।

कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुनसक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीद्वारा पछिल्लो २४ घण्टामा सञ्चालित ४ सय ९१ वटा सचेतनामूलक कार्यक्रमबाट त्यति जनता लाभान्वित भएका हुन् ।

कोभिड–१९ को संक्रमण स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।

अभियानको क्रममा पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ४७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । मास्क नलगाई हिँडडुल गर्ने ३० हजार ८ सय ८३ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको छ ।

तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार २ सय ७१ जनालाई संक्रामक रोग ऐन,२०२० बमोजिम जरिवाना गरिएको छ । साथै मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन प्रहरीले सबैमा अनुरोधसमेत गरेको छ ।

नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देशसहितको माइकिङ,सवारी साधनहरूको चेकजाँच,सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायतका कार्यक्रमहरू सञ्चालन गरेको छ ।

कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय,सहकार्य गरी अनुगमनलाई समेत तीब्रता दिएको बताइन्छ ।

टिप्पणीहरू