मदन भण्डारीलाई जीवन्त राख्ने प्रसङ्ग कति छन् कति !

मदन भण्डारीलाई जीवन्त राख्ने प्रसङ्ग कति छन् कति !

साठीको दशकमा लोकप्रिय अमेरिकी रास्ट्रपति जोन एफ.केनेडीको वीच सडकमा दिनदहाडै हत्या, लहरो तान्दा पहरो थर्कने भनेजस्तो त्यसमा आशँकित पात्रहरुको क्रमशः सफाया, बीपी कोइराला उत्तरको भ्रमण सकेर स्वदेश आएको सवा महिनामा ०१७ सालको शाही “कू”मार्फत बर्खास्ती,यता उस्तै आशालाग्दा युवा नेता मदन भण्डारीको चीनबाट फर्केको दुई हप्तामै दिउँसो चितवनमा हत्या,ड्राइभर अमर लामालाई बागबजारबाट अपहरणपश्चात् कीर्तिपुर पुर्याएर दिउँसै गोलीप्रहार-अन्वेषण गर्न छुटेका अन्तर्य कति छन् कति !

तर,म अहिले यतातिर प्रवेश गर्न लागिरहेको छैन । त्यसनिम्ति हाम्रो राज्यसँयन्त्रले नै इमान्दारितापूर्वक खोजी गर्न सक्छ । सरकार कम्युनिस्टको छ,रास्ट्रपति मदन कमरेडकी धर्मपत्नी हुनुहुन्छ,अहिलेका प्रधानमन्त्रीले शुरुदेखि नै मदनको लाइनलाई सघाउँदै आउनुभएको हो । सिङ्गो रास्ट्रले शोकमा बरखी बार्ने गरी भएको मदनको हत्या निर्मला पन्तको हत्याजस्तो ढिसमिस हुने मामिला पनि होइन । न त यो ०३८ सालको नमिता-सुनिता बलात्कार र हत्याकाण्ड जस्तो पहुँचबिहिन प्रकरण नै हो ।आज मैले राख्न लागेको सन्दर्भ बिशुध्द निजी र पेशागत सम्बन्धसङ्ग गाँसिएको छ । फरासिलो स्वभावका हुनुहुन्थ्यो, उत्तर कोरियाली राजदूत आन हुई जोङ । उहाँमार्फत नै हामीले अघि बढाएका थियौं,कमरेड मदन भण्डारीको सुरक्षार्थ रूपनारायण श्रेष्ठसहित केही साथीलाई तीनमहिने कमाण्डो ट्रेनिङका निम्ति प्योङयाङ पठाउने प्रस्ताव । अफसोच,उक्त प्रस्तावले मूर्तरूप लिन नपाउँदै जेठ ३ गतेको कालो छायाँ नेपाली आकाशमा मडारिन पुग्यो ।

आफूले ठीक ठानेको कुरा नै बहुमतलाई ठीक हो भन्ने लाग्यो भने ठीकै छ,होइन आफूलाई बेठीक लागेको कुरालाई बहुमतले ठीक ठान्यो भने त्यो पनि ठीकै छ । किनभने त्यत्तिमै आकाश खसिहाल्दैन, धर्ती उल्टिहाल्दैन ।

प्रधानसेनापति गडुल समशेरमार्फत दासढुंगा दुर्घटनाको अविश्वसनीय एवं अप्रत्यासित खबर प्राप्त हुनासाथ सोझै हान्निएँ म झम्सिखेलस्थित उत्तर कोरियन दूतावासका काउन्सिलर मित्र किम वन गिल (किम अहिले हामीमाझ हुनुहुन्न) समक्ष आक्रोश पोख्न । ‘साम्राज्यवादीसँग लड्ने ठुल्ठूला कुरा गर्थ्यौ त तिमीहरू तर आज यस्तो स्थिति व्यहोर्नुपर्‍यो हामीले । किन ढिला गर्‍यौ ? किन झूठा आश्वासन दियौ ?’ आवेगमा नजाने मैले के-के भनेँ । उनी केही बोल्न सकेनन् । राजदूतलाई पनि पछुतो लाग्यो होला सायद,त्यसैले उनले नेपाल राष्ट्रका आशालाग्दा नेता मदन-आश्रतिप्रति अन्तिम श्रध्दाञ्जलि अर्पण गर्न आर्यघाट आउने हिम्मत गरेनन् । उनको ठाउँमा प्योङयाङले व्यांककस्थित अर्का राजदूतलाई सोझै काठमाडौं पठायो ।

टण्टलापुर घाम । मञ्च दुलहीसरि सिंगारिएको थियो र उहाँ शान्त तलाउरूपी त्यो मानव लहरलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो । केही दिनदेखि राम्ररी सुत्न नपाएकाले आँखा रातो थियो,दाह्री बढेको र दिउँसोको चर्को घामले अनुहार पनि कालै भइसकेको थियो । लुगा मैला थिए,त्यसमाथि अबिरको बर्षाले स्थिति झनै बिजोग थियो । एउटा महत्त्वपूर्ण काम सिध्याइएको खुशियालीमा कार्यकर्ता र नेताहरू दंगदास थिए तर मनभित्र अर्कै कुरा खेलिरहेको हुँदो हो,जसलाई त्यतिबेलै सार्वजनिक गर्नु सायद उहाँलाई उचित लागेन ।

मदन भन्ने गर्नुहुन्थ्यो- फरक मतलाई पार्टीको महाधिवेशनले यो ठीक छैन भनेर परास्त गर्‍यो भने त्यो फरकमत न परास्त भयो,फरक मतवाला त परास्त भएन नि ! फरकमतवाला कमरेडहरू पनि पार्टीका नेता हुन्, कार्यकर्ता हुन् र सदस्य हुन् । यसर्थ म त सबैलाई समेटेर लाने पक्षमा छु ।’

समारोह सकिएपछि दशरथ रङ्गशालाबाट हामी सँगै पैदल फर्कियौँ । बागबजारस्थित पार्टी अफिस जाने बाटैमा हाम्रो अफिस थियो,एक तलामाथि । उहाँ सरासर अग्निशिखा र मेरो साझा कुर्सीमा गएर बस्नुभयो र भन्नुभयो,’साह्रै भोक लाग्यो,लौ खाजा मगाऊँ ।’ उहाँलाई मनपर्ने खाजा मःमः । खाँदै कुरा शुरु गर्‍यौँ । त्यो ०४९ साल माघ २० गते,एमालेको पाँचौँ महाधिवेशन समापनको दिन थियो ।भोलिपल्टको ‘दृष्टि’ मा उहाँसँगको कुराकानी यसरी छापियो,’टनकपुर मुद्दाका सम्बन्धमा नेपालका कम्युनिस्टले के गर्नुपर्छ र नेपालीहरूले के गर्नुपर्छ भन्नेसम्बन्धमा आफ्ना राय र विचार राख्न अरू साथी स्वतन्त्र छन् तर जसले जे भने पनि हामीले के गर्नुपर्छ,के गर्नुपर्दैन भन्ने कुराको फैसला गर्ने अधिकार भने हामीसँगै सुरक्षित छ ।’ र, उहाँको यो भनाइ भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव हरकिशनसिंह सुरजितप्रति लक्षित थियो । एमालेको महाधिवेशनमा आतिथ्य ग्रहण गर्न आउनुभएका सुरजितले अघिल्लो दिन सरकारी दैनिक ‘गोरखापत्र’लाई अन्तर्वार्ता दिने क्रममा भन्नुभएको थियो, ‘टनकपुर सम्झौता नेपालको हितमा छ र यो सम्झौतामा नेपालका कम्युनिस्टले नेपालको सरकार (गिरिजाप्रसाद) लाई सघाउनुपर्छ ।’

बनारसमा पढ्न बस्दा भारतीयले नेपालीमाथि थिचोमिचो गरेका घटनालाई आफ्नै आँखाले देखेकैले सायद उहाँको मनमा त्यो कुरा बिझेको थियो । त्यसैबेलादेखि नै हो उहाँले नेपाली जातिको स्वाभिमानको प्रतीक ढाकाटोपी लगाउन थाल्नुभएको । त्यो बानीलाई अन्तिम घडीसम्म छाड्नुभएन र भारतीयले पनि उहाँलाई पटक-पटक अपमानित गर्न छाडेनन् । भारतीय शासकवर्ग मात्र होइन,त्यहाँका कम्युनिस्ट पनि सानो देश नेपाललाई,त्यो देशमा बस्ने स्वाभिमानी जनतालाई हेप्न, निर्देशनको शैलीमा कुरा गर्न र आफ्नो बडेभैयापन देखाउन पछि हट्दा रहेनछन् भन्ने कुराको ज्वलन्त उदाहरण हुनुहुन्थ्यो- सुरजित । र, ‘उहाँ’ निरन्तर यो प्रवृत्तिको खिलाफमा हुनुहुन्थ्यो ।

अर्को घटना,०४९ बैशाख २२ गतेको हो । त्यसदिन मदन कमरेड र म नयाँ दिल्लीस्थित भाकपा (मार्क्सवादी) को केन्द्रीय कार्यालयमा थियौं । त्यहाँ पनि ती भारतीय कम्युनिस्ट नेताले आधा घण्टासम्म मदन कमरेडलाई यसो गर्नू,उसो गर्नू भनेर कारिन्दालाई अह्राएजसरी कुरा गर्न थाले । मदनले ती नेताको प्रस्तुतिलाई मन पराउनुभएन । र,तत्काल प्रतिवाद गर्नुभयो । उनी तिनै भारतीय कम्युनिस्ट नेता हुन्,जसले माले-मार्क्सवादी एकीकरण हुनुअघि पोखरामा आयोजित मार्क्सवादीको राष्ट्रिय भेलामा यी दुई पार्टी मिलेर चुनाव लडे बढीमा चार सीटसम्म ल्याउने दाबी गरेका थिए । त्यो खबर सुनेर काठमाडौंमा मदन कमरेड मज्जाले हाँस्नुभयो ।

मुखमा मदन, काममा दमन हुन पाएन भएन यो नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ ।

अर्को घटना कोलकाताको हो । भाकपा (माले) को महाधिवेशनमा भाग लिने सिलसिलामा मदन कमरेड कोलकाता पुग्नुभएको थियो । बृगेड मैदानमा आयोजित एउटा विशाल आमसभालाई सम्बोधन गर्नुभयो । १६ गते मुख्यमन्त्री ज्योति बसुसँग उहाँकै कार्यकक्षमा भेट्ने कार्यक्रम बन्यो । पूर्वनिर्धारित कार्यक्रमअनुसार, भेट्न जाँदा बसुले मदन कमरेडलाई ‘बसौं’ पनि भन्नुभएन । बरु पटक-पटक उठ्ने,बाहिर जान खोज्ने काममात्र गरिरहनुभयो । अन्ततः मदन कमरेड आफैं निस्कनुभयो ।

आफूसँग असहमत हुने,आफ्नो निर्देशन नमान्ने र राष्ट्रिय हितको मात्र कुरा गर्नेहरूप्रति आफूलाई वरिष्ठ कम्युनिस्ट नेता हौं भन्नेहरूको यो व्यवहार साँच्चै तीतो थियो । कम्युनिस्ट इन्टरनेशनलले अर्काको देशको वस्तुस्थिति नबुझी निर्देशन दिँदा कोरिया र चीनमा विदेशी नेताहरूले हार खानुपरेको थियो र अन्ततः यिनै सब कारणले गर्दा कम्युनिस्ट इन्टरनेशनल नै बन्द हुन पुगेको थियो । ०४६ सालअघिसम्म पनि नेपालका कैयौं कम्युनिस्ट पार्टी भारत,रुस र चीनको इशाराअनुसार चल्ने गर्थे । नेपालीहरूको त्यही दास मनोवृत्तिले गर्दा विदेशीहरू अरु बढी हौसिँदै जान्थे ।

दशकौंसम्म बृटिश उपनिवेशमा बाँच्नेहरूले अरूमाथि पनि उपनिवेश लाद्न खोज्नु स्वभाविक कुरा होला,तर,आफूमाथिको अपमान सही,राष्ट्र,राष्ट्रियतालाई अपमानित हुन नदिनुचाहिँ सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । मदन भण्डारीले हामीलाई हरदम त्यो पाठ सिकाएर जानुभएको छ । उहाँका उत्तराधिकारीहरुले मदनबाट यो पक्ष नसिकेको देख्दा उदेक लाग्छ ।

विदेशीहरूले अरुमाथि निर्देशनात्मक व्यवहार गर्नु अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हो,चाहे त्यो भाजपाले या कांग्रेसले गरोस्,चाहे कम्युनिस्टले नै । आफ्नो खुट्टामा उभिनेहरूले सगरमाथा चुम्छन्, अरूको बैसाखीमा टेक्नेहरू भुइँको भुइँमै हुन्छन् । यसको प्रमाण खोज्न टाढा जानु पर्दैन । खुशीको कुरा- माले-मार्क्सवादी मिलेमा बढीमा चार सीट ल्याउँछन् भन्ने भारतीय कम्युनिस्ट पार्टीका ती नेताले नेपालमा माले-मार्क्सवादी एकीकृत भएको चौथो वर्षमै (०५१) एमालेले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल र एक्लो सरकार बनाएको पनि देखे । र,नेपालमा विकसित यिनै घटनाक्रमको समेत प्रेरणाबाट भारतीय केन्द्रीय सत्तामा हँसिया-हथौडाको प्रवेश हुन थाल्यो ।

‘अल्पमत’ र मदनको सम्बन्ध

‘म निष्फक्री र खुला छु । महाधिवेशनको फैसलाअनुसार सबैले काम गर्नुपर्छ । जिते काम गर्ने,नजिते एनजिओमा जाने पक्षमा छैन । आफूले ठीक ठानेको कुरा नै बहुमतलाई ठीक हो भन्ने लाग्यो भने ठीकै छ,होइन आफूलाई बेठीक लागेको कुरालाई बहुमतले ठीक ठान्यो भने त्यो पनि ठीकै छ । किनभने त्यत्तिमै आकाश खसिहाल्दैन,धर्ती उल्टिहाल्दैन । फेरि पाँच वर्षपछि महाधिवेशन हुन्छ । त्यो पाँच वर्षमा तय भएका नीतिहरू व्यवहारमा जान्छन्,तिनीहरूको सत्यताको जाँच हुन्छ । बहस,छलफल गर्ने, निष्कर्ष निकाल्ने,त्यो निष्कर्षलाई व्यवहारको कसीमा पुर्‍याउने र जाँच्ने चक्रवत् तरिकाबाट मान्छेको ज्ञान,संघर्ष सबै चिज अगाडि बढ्नेछ । त्यसैले मलाई आफ्नो मत विजयी होस् वा पराजयी कुनै फिकर छैन ।’

यस्तो हुनुहुन्थ्यो,मदन भण्डारी र यस्ता थिए,उहाँका विचार । जतिबेला नेकपा (एमाले) एक हप्तापछि सम्पन्न हुने महाधिवेशनको तयारीमा जुटिरहेको थियो र नेताहरूबीच विचारको तहमा पानी बाराबारको स्थिति थियो,त्यतिबेला अर्थात् माघ ५ गते उहाँ हामीसँग टेपवार्ता गर्दै हुनुहुन्थ्यो । उहाँको त्यो विचार ‘म हारे पनि पार्टीमै रहन्छु’ शीर्षकअन्तर्गत ७ गतेको अंकमा प्रकाशित भयो । सोही अंकमा कमरेड सिपी मैनालीको बहुदलीय जनवादको खण्डन गरिएको एउटा सैध्दान्तिक लेखसमेत छापिएको थियो ।

नेताहरूबीच गुटबन्दी थियो र आरोप-प्रत्यारोप अनि कटुता पनि थियो,तर मदन भन्ने गर्नुहुन्थ्यो- फरक मतलाई पार्टीको महाधिवेशनले यो ठीक छैन भनेर परास्त गर्‍यो भने त्यो फरकमत न परास्त भयो,फरक मतवाला त परास्त भएन नि ! फरकमतवाला कमरेडहरू पनि पार्टीका नेता हुन्, कार्यकर्ता हुन् र सदस्य हुन् । यसर्थ म त सबैलाई समेटेर लाने पक्षमा छु ।’

अहिले ‘दृष्टि’ साप्ताहिक पुरानो अवस्थामा छैन । यसमा तीनचोटि विभाजन आइसकेको छ र म पनि ०५१ माघदेखि ‘दृष्टि’ मा छैन । तर,मदन कमरेडले सहादत प्राप्त गर्नुभएको अढाइ दशक नाघिसक्दा मैले आफू ‘दृष्टि’मा कार्यरत रहँदाताकाका त्यस्ता प्रसंगलाई बिनापूर्वाग्रह यहाँ उल्लेख गर्नैपर्छ,जसले मदनको जीवनको अर्को पक्षलाई पनि राम्ररी उजागर गर्न सकोस् । त्यो हो-उदारता र सहिष्णुताको पक्ष । यस्तै एउटा प्रसंग-२०४९ मंसिर १ गते बुधबारको हो ।

बिहान सबेरै क्यामेराम्यान विजय सैंजु र म नक्सालस्थित मदनको डेरामा पुगेका थियौं,उहाँको फोटो खिच्न । कालो टोपी,खैरो कोट,प्यान्ट र स्वेटरमा हामीले चाहेअनुसार विभिन्न पोजमा उहाँको दुई रिल फोटो खिच्यौं । फर्कने बेला भन्नुभयो- ‘सिपी र एम.सी.(मोहनचन्द्र अधिकारी) कमरेडको पनि फोटो खिच्नुहोला ।’ हामी त्यहाँबाट सीधै मंगलबजार गयौं र बागबजारस्थित पार्टीको केन्द्रीय कार्यालय आइपुग्यौं । ती दुवै ठाउँमा गरी सिपी र कमरेड मोहनचन्द्रका अरु दुई रिल फोटो खिचेका थियौं । पछि महाधिवेशनको संघारमा ‘सूर्य’ मासिक छापिने भयो । केही साथी हुनुहुन्थ्यो,जो आवरणमा मदनको मात्र फोटो राख्न चाहनुहुन्थ्यो । यो कुरा सुनेपछि मदनले भन्नुभयो- ‘त्यसो होइन,कभरमा तीनैजनाको फोटो राख्नु बेस हुन्छ ।’ र, ‘सूर्य’ उहाँले भनेअनुसार नै छापियो । त्यतिबेला ‘दृष्टि’ एमालेको आधिकारिक अखबार थियो । यति हुँदाहुँदै पनि मदन कमरेडले हामीलाई कहिल्यै अल्पमतलाई त्यसमा ठाउँ नदिन निर्देशन दिनुभएन । यदि त्यस्तो निर्देशन हुन्थ्यो भने महाधिवेशनको पूर्वसन्ध्यामा सिपी कमरेडको लेख,अशोक राई र मोहनचन्द्रको अन्तर्वार्ता त्यसमा छापिने नै थिएन ।योचाहिँ २०४८ मंसिर १६ गतेको कुरा हो । नक्सालको डेरामा मदन कमरेडले ‘दृष्टि’ लाई एउटा अन्तर्वार्ता दिनुभयो र मलाई भन्नुभयो- ‘आजै गएर सिपीलाई भेट्नुहोस् र अन्तर्वार्ताको सार बताएर उहाँको प्रतिक्रिया पनि संकलन गर्नुहोस् ।’मैले त्यसै गरेँ । पर्सिपल्ट त्यो अन्तर्वार्ता छापियो, जसमा एउटा प्रश्नको उत्तर यस्तो थियो,’कमिटीले महासचिव मदन होइन,अरु कोही हुनुपर्छ भन्यो भने त्यसमा मेरोसमेत सहमति रहनेछ, होइन,तैंले नै जिम्मा लिनुुपर्छ भन्ने फैसला गर्‍यो भने शीर निहुराएर त्यो निर्णयलाई मान्न र बोक्नका निम्ति पनि म तयार छु । यो मेरो भावना र अभ्यासको विरुद्ध कुनै ढंगले षड्यन्त्र,तिकडमबाजी र अनुचित खालका तौरतरिका प्रयोग गरेर कोही आउँछन् भने त्यस्तो बेला जस्ताको तस्तै टक्कर गर्नको निमित्त एकजना पार्टी सदस्यको हैसियतमा आफ्नो अधिकार प्रयोग गर्ने कुरा कुनै आश्चर्यको विषय हुने छैन ।’

यो अन्तर्वार्ता ‘मेरो भावनाविरुद्ध कसैले षड्यन्त्र गर्छ भने टक्कर लिन तयार छु’ शीर्षकमा प्रकाशित भएको थियो र समग्र अन्तर्वार्ता नपढिकन शीर्षकमात्र पढेर निश्कर्ष निकाल्नेहरूको निम्ति यो अत्यन्त चर्को अन्तर्वार्ता थियो । उक्त अन्तर्वार्तालाई लिएर पार्टीभित्र ठूलो विवाद उत्पन्न भयो । केन्द्रीय कमिटीको बैठकमै पनि चर्काचर्की पर्न थाल्यो । झलनाथ, सिपी र माधवलाई पनि यो प्रकरणमा मुछ्ने काम भयो । तर, मदन कमरेड नै यस्तो व्यक्ति हुनुहुन्थ्यो,जसले कसैलाई दोष दिनुभएन । बरु आफू एक्लै हुँदा पनि स्पष्टिकरण दिइ नै रहनुभयो । उहाँलाई मैले माइक्रोक्यासेट हस्तान्तरण गरेँ । त्यो उहाँले सबैलाई सुनाउनुभयो । यदि मदनमा त्यस्तो सहिष्णुता नहुँदो हो त मलाई लाग्छ,त्यतिबेला उहाँमाथि औंला ठड्याउने धेरै जनाको महाधिवेशनमा पत्तासाफ भइसक्ने थियो ।

पार्टीका नीतिहरूको व्याख्या गर्दा कडाइसाथ,तार्किक शैलीमा र चेतावनीको भाषामा प्रस्तुत हुने मदनको बानी थियो । तर, व्यवहारको मामिलामा भने एमालेका नेतामध्ये सबैभन्दा नरम लाग्नुहुन्थ्यो । उहाँको कार्यकालमा अल्पमतमाथि जे जति ‘दमन’ भयो,ती सब उहाँलाई घेरेर बस्ने कडा स्वभावका मानिसहरूको काम थियो । मदनले हामीलाई छाडेर जानुभयो,तर उहाँलाई घेरेर बस्ने कतिपय पात्रहरू अझै पार्टीभित्रै छन् ।

वि.सं. २०३० को दशकतिर पश्चिम नेपालमा सशक्त ढंगबाट कार्यरत एउटा कम्युनिस्ट समूहको नाम ‘मुक्तिमोर्चा’ समूह हो र मदन कमरेड त्यसको एक हस्ती हुनुहुन्थ्यो । दासढुङ्गामा उहाँसङ्गै दिवंगत कमरेड जीवराज आश्रित,मोदनाथ प्रश्रित , सिध्दिनाथ ज्ञवाली,वामदेव गौतम,देवेन्द्र घिमिरे र भीमनारायण थारु पनि सोही समूहमा हुनुहुन्थ्यो । त्यतिबेला विशेषगरी पूर्वी नेपालमा क्रियाशील अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माले) अर्थात् को.के.ले मुक्तिमोर्चालाई २०३४ भाद्र १४ मा आफूमा समाहित गराएको थियो । ठूलाबडाको मिचाइ कति पीडादायक हुन्छ भन्ने कुरा यो घटनाबाट पनि मदनले अनुभूत गर्नुभएको थियो । यसैकारण पनि उहाँ अल्पमतप्रति कहिल्यै असहिष्णु हुनुभएन भन्ने म ठान्दछु । अहिलेको घटनाक्रम त सबैसामु छर्लङ्ग छँदैछ । मुखमा मदन,काममा दमन हुन पाएन भएन यो नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ ।

(सन्दर्भ जेठ ३, दासढुङ्गा दुर्घटनाको २८ बर्ष र अहिलेको सन्दर्भ)

टिप्पणीहरू