जुम बैठकको बहुमत अलग पार्टीको पक्षमा
हिजो सम्पन्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको जुम बैठकमा बहुसंख्याले अलग पार्टी दर्ता गरेर जानुपर्नेमा जोड दिएको छ । हिजो नेपाल पक्षले स्थायी समितिको जुम बैठक आयोजना गरेको थियो ।
बैठकमा धारणा राख्दै नेता नेपालले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीविरुद्ध सबै राष्ट्रिय शक्ति एक ठाउँमा उभिएको अवस्थामा आफूहरूले पनि महत्वपूर्ण निर्णय गर्नुपर्ने बताएको एकजना नेताबाट थाहा लागेको छ ।
नेपालको भनाई उद्धृत गर्दै उहाँले भन्नुभयो ‘ओलीको बलियो आधार भनेको यतिखेर संसद र सरकार मात्रै हुन् । संसद पुनर्स्थापना हुँदा र सरकारबाट च्यूत हुँदा उनी ओरालो लाग्नेछन् । यसर्थ उनको जोड जसरी पनि अदालतलाई प्रभाव पार्ने र हाम्रा साथीहरूलाई फकाउनेतिर हुनेछ ।’
तर केही सहभागीले ‘अब फेरि कात्तिक र मंसिरमा पनि चुनाव नहुने भएकाले अबको परिस्थिति प्रधानमन्त्री ओलीलाई हटाएर मात्रै मान्य हुने भन्ने बन्दै जान्छ । त्यस्तो अवस्थामा फेरि अर्को खिलराज रेग्मीको खोजी हुन्छ । त्यसले गर्दा अहिले पार्टीभित्रै संघर्ष गरौं’ भनेका थिए ।
तर नेपालको हवाला दिँदै आजका केही राष्ट्रिय दैनिकमा हिजोको जुम बैठकमा पार्टी फुटाउने कुरो भएको समाचार आएपछि जुम बैठक विवादमा तानिएको हो ।
एकजना स्थायी समिति सदस्य भन्नुहुन्छ ‘माधव कमरेडको धारणा एकै ठाउँमा बस्न सकिने अवस्था छैन भन्ने खालको थियो भने अरुले पार्टी नफुटाऔं,भित्रै संघर्ष गरौं भनेका हुन् । तर कुरो छिनालेर कसैले पनि भनेको चाँहि थिएन ।’
टिप्पणीहरू