झण्डै डेढ सय साँसदको हस्ताक्षर र वारेसनामा भर्दाभर्दै रीट ढिलो

झण्डै डेढ सय साँसदको हस्ताक्षर र वारेसनामा भर्दाभर्दै रीट ढिलो

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाबिरुद्ध रिट निवेदन बोकेर सर्वोच्च अदालतमा कानुन व्यवसायीहरु पुग्ने क्रम दिनभर जारी छ ।

बिहिबार संविधानको धारा ७६ (५) विपरित सरकार गठनको निम्ति आह्वान गरिएको शीतल निवासको सूचनाविरुद्ध शुक्रबार नै एक दर्जन रिट दर्ता प्रक्रियामा रहेको थियो । तर हिजो अदालत बन्द भएका कारण आज अरु थपिएर दुई दर्जन रिट दर्ता भएका छन् ।

उता नेपाली काँग्रेस,माओवादी केन्द्र,एमालेको माधव नेपाल समूह,जसपाको उपेन्द्र यादव खेमासहितका ५ विपक्षी दलका १ सय ४४ सांसदको हस्ताक्षर सिंहदरबारमा संकलन गरिएको छ । आजै सबैको हस्ताक्षर र नागरिकतासहित सर्वोच्च जाने तयारी रहे पनि सबै काम रीट लेख्ने,नागरिकता बटुल्ने र वारेसनामा जुटाउने काम नसकिएकाले राजनीतिक दलको तर्फबाट रिट निवेदन भोलि बिहान मात्र दर्ता हुने भएको छ ।

दलहरुले दर्ता गर्ने रिटको ड्राफ्ट अधिवक्ता गोविन्द बन्दी,खम्ब खाती,पंकज कर्ण,पदमहरुको टोलीले तयार पारेको हो । टिम बिहानदेखि रीट निवेदन लेखेको लेख्यै थियो ।

सभासद् तथा एमाले नेतृ रामकुमारी झाँक्रीका अनुसार माधव नेपाल समूूहबाट २३ सांसदको हस्ताक्षर,सम्पूर्ण कागजात पुर्याएर भोलि बिहान रिट निवेदन दर्ता गरिनेछ ।

यसअघि रिटको निम्ति आज बिहान ११ बजे नै १२ जना वकिल सर्वोच्च अदालत पुगेका थिए ।

यसैबीच एमाले नेता सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई कोरोना ट्रेसिङ र ज्वरो आएको छ । पाण्डे तैपनि आज सँसद पुग्नुभएको थियो । यसअघि कोरोना संक्रमित देखिनुभएका डा. दीपकप्रकाश भट्ट स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अस्तिको भेलामा सिंहदरबार पुग्नुभएको थियो । उहाँको रिपोर्ट हिजो मात्र आएको छ ।

नेता पाण्डेले कोभिडविरुद्धको खोप दुई डोज लगाइसक्नुभएको छ । उहाँ यसअघि नै महामारीको पहिलो लहरमा नै संक्रमित भइसक्नुभएको छ ।

टिप्पणीहरू