बाटोभरि हँसाउन पाउँदा के चाहियो अरु ?
जनसाहित्यिक मञ्च नेपाल, साहित्य सन्ध्या र नेपाल प्रज्ञा–प्रतिष्ठानले १८ मंसिरमा पनौतीमा आयोजना गरेको ‘समकालीन नेपाली कवितामा परिवर्तनको स्वर’ विषयक विचारगोष्ठी श्रोताको उपस्थिति, कविता वाचन गर्न वञ्चित कवि र गुरुभक्तिको प्रदर्शनका कारण चर्चित रह्यो ।
प्रा. केशव सुवेदीले आजका स्थापित प्रगतिशील कविहरूको कमै नाम लिँदै दैनिक पत्रिकामा प्रकाशित भर्खरका युवा÷युवतीका कवितालाई कहाँबाट उद्धृत गरिएको हो नभनी विनासन्दर्भ आफ्नो कार्यपत्र पढे । केही युवालाई वाद र विचारविहीन तथा अराजकतावादमा लागेको बताए । कार्यपत्रमाथि टिप्पणी गर्दै डा. जगदीशचन्द्र भण्डारीले अहिले राजनीति सुगर पोलिटिक्स, साहित्य सुगर लिट्रेचर तथा लेखक र पाठक पनि सुगर राइटर र सुगर रिडर भएको परिस्थितिमा सुबिन भट्टराई प्रवृत्ति मौलाएको र त्यसैको पछाडि सबै लागेको बताए । डा. नारायण चालिसेले आफ्ना गुरुको कार्यपत्रमाथि के टिप्पणी गर्नु भन्दै कार्यपत्रमा परिवर्तनको स्वर उचाल्ने युवालाई अझ धेरै समेट्न सुझाव दिए । प्राज्ञ विष्णु प्रभातले भने चेलाले गुरुभक्ति देखाएकोमा आपत्ति जनाए । प्राज्ञ डा. अमर गिरीचाहिँ समकालीन केही कवि वैचारिक रूपमा अस्पष्ट भएकोमा चिन्तित देखिन्थे ।
काठमाडौंबाट एक बस गएका कवि कविता पाठ गर्न नपाएकामा चिन्तित देखिन्थे । श्रोताका रूपमा काठमाडौंबाट गएका साहित्यकार नै थिए । पनौतीका श्रोता औँलामा गन्न सकिन्थ्यो । तैपनि, मञ्चका महासचिव विनोद मञ्जनले वेद नपल्टाएका पण्डित र गुरुहरूको सुगारटाइलाई नै पछिल्लो युवा पुस्ताले अनुसरण गरेको भन्दै उद्घोषणका बीच–बीचमा श्रोतालाई हँसाइरहे ।
खाजाका रूपमा तातो पुलाउ, तरकारी र अचार खाँदै मुख मिठ्याए । पनौती घुम्न नपाएका श्रोता पनौती नगरपालिका परिसरमा कार्यक्रमको तुल बोकेर फोटो खिची रमाउँदै साँझमा काठमाडौं फर्कन हतारिए । बाटामा मञ्चका कोषाध्यक्ष गोपालकुमार मैनालीले साँगाको माडामा लट्पटिएका कुकुरको भुत्ला नहुने र बाँदरले अर्काे बाँदरको जुम्रा खानुका कारण सुनाउँदै हँसाउनु हँसाए । एक घण्टा ढिलो काठमाडौंबाट गएका कवि बसभरि एकार्कालार्ई व्यंग्य हान्दै फर्कन पाउँदा खुशी नै देखिन्थे । अध्यक्ष राम विनय र उपाध्यक्ष रमेश पोखरेल तथा यशोदा अधिकारीले कार्यक्रम सफल पारेरै छाडे भने कविता पाठ गर्न पाउने जगन्नाथ आचार्य र वासुदेव अधिकारी, यशोदा अधिकारीहरूचाहिँ युद्ध जितेका सिपाही ठहरिए ।
टिप्पणीहरू