अतिथि फर्कंदा मन अमिलो

अघिल्लो आइतबार सुटेड बुटेड भएर आएका उत्तरी पाहुना दुई दिनपछि फर्कंदा भने एकदमै अनौपचारिक पोशाक र गम्भीर मुद्रामा देखिन्थे । शरीरमा सुट, टाई केही थिएन । त्यसो त नेपाल सरकारले राष्ट्रपति, प्रधानमन्त्रीलगायतको भेटघाट र सत्कारमा कुनै कमि देखाएको पनि होइन तर कांग्रेस सभापति र एमाले अध्यक्षसँग भेट्ने बेला पेटको अस्वस्थतालाई कारण जनाएका उनी फर्कने बेला अप्रसन्न देखिनुको कारण अर्कै हुन सक्छ । हाल श्री–सम्पत्तिबाट च्यूत भएर भ्रष्टाचार अभियोगमा जेल परेका पार्टीको आन्तरिक सुरक्षा मामिला हेर्ने नेता चौ योङ्खाङ पछि चार्टर्ड फ्लाइटमा नेपाल आउने उनी यति उच्चस्तरका पहिलो नेता हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको तर्फबाट नेपाल आउने अघिल्ला र यी नेताको भ्रमणबीच चार वर्षको अन्तर छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई लिन र पु¥याउन हाम्रा राष्ट्रपति स्वयं विमानस्थलमा उपस्थित भएको घटनालाई अपवाद मान्ने हो भने विदेशी अतिथिलाई अति विशिष्ट कक्षमा स्वागत र बिदाइ गर्नेको मर्यादाक्रममा भने एकरूपता पाइन्न । अघिल्लो महिना चिनियाँ उद्योग, वाणिज्यमन्त्री चाङ माओलाई लिन हाम्रा आपूर्तिमन्त्री दीपक बोहरा स्वयं विमानस्थल गएका थिए ।

०७१ पुसको दोस्रो साता आएका चिनियाँ विदेशमन्त्री वाङयीलाई हाम्रा परराष्ट्र सचिव शंकर वैरागीले स्वागत गरेका हुन् । यहाँनेर पनि संक्रमणकालको नाममा सबै खालका असमानतालाई चुपचाप नजरअन्दाज गर्ने काम भएकै हो । यसपालि आएका लिऊ छिपाओलाई लिन र पु¥याउन चाइना डेस्क हेर्ने नयाँ सहसचिव गणेश ढकाललाई खटाइयो । निम्तो नेपाल सरकारको । मर्यादाक्रममा उनी आफैं उपल्लो दर्जाका तर नेपालमा पाइला टेक्नासाथ हात मिलाउन आउनेचाहिँ सह–सचिव तहका कर्मचारी । कहाँ, कहाँ के–के नमिलेजस्तो, तरकारीमा नुन नपुगेजस्तो । सम्भवतः यस्तै–यस्तै अप्ठ्यारो महसुस गरेर प्रचार तथा वैचारिक मामिला हेर्ने चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सचिव लिऊ खिन्न मुद्रामा सामान्य पोशाक लगाएर स्वदेश फर्किएको हुन सक्ने माओवादी विदेश विभाग स्रोतको दाबी छ ।

टिप्पणीहरू