बेलैमा सबलाई चेतना भया

राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको वैवाहिक निम्तो मान्न पूर्वराजा ज्ञानेन्द्र शीतलनिवास पुगे । यसले धेरै कुरा एकैसाथ सतहमा ल्यायो । ज्ञानेन्द्रको यो यात्राले राजावादीको पहिचानमा राजनीति गर्ने राप्रपादेखि अति गणतन्त्रवादी माओवादीसम्मलाई निकै अप्ठ्यारो परेको हुनुपर्छ । स्वयं पूर्वराजा नै राष्ट्रपतिको निम्तो मान्न पुगेपछि अब राजतन्त्रको थप वकालतका लागि निश्चय नै धरातल कमजोर भयो भने राष्ट्रवाद संकटमा परेको अनुभूति आमसर्वसाधारणले समेत गरिरहेको अवस्थामा पूर्वराजाले ‘सबै मिलांै र यो देश जोगाऔं’ भनेर जसरी आफ्नो देशप्रेम सार्वजनिक गरे त्यसले सत्ता लुछाचुँडीमा पराइको आशीर्वाद थाप्दै आएका केही नेतालाई निकै रक्षात्मक बनाएको छ । सोमबार शीतल निवासमा के देखियो भने ज्ञानेन्द्र हँसिलो मुद्रामा थिए । पूर्वपञ्चहरूसँग गफिए । शीर ठाडो पारेर बसे ।

अनि उही पोजमा बाहिरिए । तर, ज्ञानेन्द्र शीतल निवासमा रहुञ्जेल राजनीतिक दलका नेता र सुरक्षा प्रमुख लाखापाखा लागे । सोमबारको परिदृश्यबाट के निचोड निकाल्न सकिन्छ भने अब पूर्वराजा ज्ञानेन्द्र स्वतन्त्र छन् र उनले आफ्ना अति महत्वाकांक्षी कर्मको फल भोगिसकेको हुँदा नयाँ ढंगले जनताको मन जित्न समय अनुकूल बन्दै छ । जबकि ०४६ को परिवर्तन ल्याउने राजनीतिक दलका नेता ६ वर्षमै खुइलिएझैं प्रतिदिन जनविश्वास गुमाउने र झन् बदनाम हुने क्रममा छन् । कोही कसैले सायदै सोचेको थियो कि यसरी मुलुकका महत्वपूर्ण व्यक्तित्व एकै ठाउँमा जम्मा हुने सार्वजनिक समारोहमा ज्ञानेन्द्रले यति चाँडै र सहजै आफ्नो उपस्थितिलाई महत्वपूर्ण पार्न सक्लान् ! तर, त्यो सम्भव भइसकेको छ । सरकार पूरापुर विदेशीको जोडबलमा गठन भएर उसैको इशारामा चलिरहेको आरोप झेलिरहेको छ । सत्ता बाहिरका दलले जनमनमा आफ्नो छुट्टै स्थान निर्माण गर्न सकिरहेका छैनन् । प्रमुख प्रतिपक्षी दल एमाले आफूलाई राष्ट्रवादीको कित्तामा उभ्याएर नयाँ शिराबाट चुनाव जित्ने योजनामा छ । तर, महत्वको हिसाबले हेर्ने हो भने केपी ओलीले संसद्मा दुई घण्टा लगाएर लिएको राष्ट्रवादी अडान जत्तिकै पूर्वराजा ज्ञानेन्द्रले ‘सबै मिलेर देश जोगाऔं’ भनेको एक वाक्यको प्रभाव र त्यसले छाड्ने तरंग शक्तिशाली देखिन्छ ।

हुन पनि नियतिले शैशवकालमै श्रीपेच लगाइदियो । त्यसमा उनको कुनै भूमिका थिएन । पछि अधिराजकुमार रहँदा गर्नु÷नगर्नु जे–जे गरे पनि त्यसको दोष भूमिगत गिरोहलाई गयो । वीरेन्द्रको वंशनाश भएपछि फेरि श्रीपेच लगाएका ज्ञानेन्द्रले महत्वाकांक्षालाई काबुमा राख्न नसक्दा जननिर्वाचित प्रधानमन्त्रीलाई दुई÷दुई पल्ट घोक्रेठ्याक लगाए । परिणती जनआन्दोलन भयो । तर, त्यसबेला संयमतापूर्वक सेना परिचालनको बाटो रोजेनन् (सक्ने परिस्थिति पनि थिएन) र मुलुकलाई ठूलो जनधनको क्षति हुनबाट जोगाए । पछि १५ जेठमा संसद्ले नारायणहिटी छाडेर जाऊ भन्दा कुनै नाइँ–नास्ती नगरी झिटीगुन्टी बोकेर बाहिरिए । उनले यसरी लोकप्रियता बढाउँदै जाने र दलहरू रक्षात्मक बन्नुपर्ने स्थिति आयो भने त्यसले नेपालको गणतान्त्रिक भविष्य सुरक्षित राख्दैन ।

टिप्पणीहरू