खै त हाम्रो आफ्नो नेशनल डे

खै त हाम्रो आफ्नो नेशनल डे

नेपालकै इतिहासमा पहिलोपल्ट ब्याण्डबाजासहितको कन्सर्ट, त्यो पनि दरवारमार्गमा सरकारी तवरबाट आयोजना भएको छ । संविधान दिवशलाई राष्ट्रिय परिवर्तन गर्न यस्तो आयोजनाले सघाउ पुग्ने विश्वाससाथ आयोजित सो कार्यक्रम निम्ति असोज ३ गते सशस्त्र प्रहरी दुई हजार र नेपाल प्रहरी, नेपाली सेनाको ब्याण्डले १५ दिनदेखि तयारी गरेका थिए ।

संविधानको मर्मअनुसार काम गर्न सरकार अघि सरेको भए, नागरिकहरूले यो संविधानप्रति अपनत्व ग्रहण गर्ने वातावरण बनेको भए सरकार प्रमुख आफैं यस्तोमा भिड्नै पर्थेन । नागरिकहरू स्वस्फूर्त रूपमा मैदानमा ओर्लन्थे गीत, नृत्य र विभिन्न विधाका साँस्कृतिक क्रियाकलाप हेर्नै भएपनि ३०/४० हजारको भीड जुट्नु राम्रै कुरा हो । तर यस्तो दिन नाचगानसँगसँगै विचार प्रवाह गर्ने, संविधानको सर्वोपरिता र संविधानभित्रका मूलभूत विषयबारे जानकारी दिने अभ्यासको थालनी पनि सँगसँगै गर्न पाएको भए अझ उत्तम हुन्थ्यो । यसअघि टुँडिखेल, दशरथ रंगशालाजस्ता ठूला ठाउँ भित्र सिमित पाहुना र धेरैजसो फौजी मात्र छिर्न पाउँथे । त्यसलाई बाहिर ल्याउनु सकारात्मक कुरा हो भने उपत्यकाको ट्राफिक नैं अस्तव्यस्त हुने गरी सरकारले नै यस्तो कार्यक्रम अर्थात् ‘रोड शो’ गर्नु कत्तिको राम्रो कुरा हो एकपटक समीक्षा पो गर्नुपर्छ कि !

एकातर्फ संविधान विभेदपूर्ण भएको भनेर आवाज उठिरहेको छ, संघीयता र धर्मनिरपेक्षता विरुद्ध सरकारमा संलग्न दल र तिनका नेताहरूले नै चलखेल गरेको खबर आइरहेको छ । यस्तो बेला यही संविधान दिवशलाई राष्ट्रिय पर्वको रूपमा विकसित गर्न खोज्नु राम्रो कुरा हो । तर सारमा राम्रो देखिए पनि व्यवहारमा राम्रो भएन भने त्यस्तो संविधान फगत कागजको खोस्टोभन्दा केही हुँदैन । तसर्थ सारा नेपालीले अपनत्व ग्रहण गर्न सक्ने वातावरण तयार गर्नु यही संंविधानअनुसार बनेको कार्यपालिका र व्यवस्थापिकाको पहिलो दायित्व पनि हो । किनभने नेपालको खास कुनै ‘नेशनल डे’ छैन । तसर्थ नेशनल डेकै रूपमा संविधान दिवशलाई विकास गर्नु सकारात्मक पक्ष नै हो । 

अर्कोतर्फ अहिले संविधान संशोधनको बहस चलेको छ । संविधान दिवशकै अवसरमा विशिष्ट सेवा र काम गर्ने नागरिक तथा राष्ट्रसेवकलाई विभिन्न मानपदवी र विभूषण तथा अलंकार दिने चलन थियो, त्यो पनि गत सालदेखि बन्द छ । काठमाडौंमा भव्यताका साथ मनाइने संविधान दिवशले उपत्यका बाहिरको नेपालमा कत्तिको उत्साह र जाँगर पैदा गर्‍यो होला । पञ्चायतकालमा राजारानीको जन्मोत्सव भदौ ४ को बालदिवश र फागुन ७ गतेको प्रजातन्त्र दिवसलाई पनि यस्तै भव्यता दिइन्थ्यो । तर त्यसैले सबैलाई समेट्न र सकारात्मक ऊर्जा सम्प्रेषण गर्न सकेको थिएन । तसर्थ दरवारमार्गमा भव्यतासाथ सम्पन्न गरिने यस्ता क्रियाकलापले आमनागरिकमा कस्तो प्रभावको सञ्चार गरिरहेको छ भन्ने कुरा बुझ्नु आवश्यक छ । 

त्यसैगरी एउटा सरकारले थालेको यस्तो परम्पराले कहिलेसम्म निरन्तरता पाउने ? जुनसुकै बेला फेरिन सक्ने सरकारहरूले कसरी अपनत्व ग्रहण गर्ने भन्ने विषय पनि पेचिलो हुन सक्छ । किनभने आपूmले गरेका काम मात्रै राम्रो मान्ने मनोदशामा नेताहरु हुर्किएका छन् । नेतामात्र हुने तर राजनेता हुनै नसक्ने, भरसक पार्टीको मात्रै नेता हुन रमाउनेले, गुटको मात्रै सर्वमान्य बन्ने प्रवृत्तिले संविधान दिवशलाई नेशनल डेमा विकास गर्न पूरै अवरोध पुग्छ । यसतर्फ पनि सबैखाले दल र नेताहरूले गम्भीर हुन आवश्यक छ । जे होस् संविधान दिवशलाई जात्राभन्दा माथि उठेर नेशनल डे बनाउँदा नै उत्तम हुन्छ र सबै नेपालीको स्वाभाविक अपेक्षा पनि यही हो । आशा गरौं आउँदो संविधान दिवशको अपनत्व दरवारमार्ग छिचोलेर म्याङलुङ, गमगढी, मंगलसेन, राजविराज र धनगढीजस्ता जिल्लाका सदरमुकामसम्म पनि पुग्न सकोस् ।
 

टिप्पणीहरू