नेपालबाट हेलिकोप्टरमा भाग्ने को–को त ?

नेपालबाट हेलिकोप्टरमा भाग्ने को–को त ?

कतिपय युट्बरको खेती नै भएको छ बंगलादेशी राजनीतिक घटना । अब नेपालबाट को–को भाग्ने हुन् हेलिकोप्टरमा ? प्रत्येक मुलुकका आफ्नै खाले राजनीतिक आन्दोलन, संघर्ष र क्रान्तिका विशिष्टता हुन्छन् । इतिहास, समाज र अनेकौँ आवश्यकताका कारण क्रान्ति र राजनीतिक संघर्षहरू हुने गर्दछन् । कसैको चाहनाले मात्र क्रान्ति हुने होइन । अर्थात् वस्तुगत, तथ्यगत, तर्कसम्मत आधार र औचित्य बिनाको स्वघोषित क्रान्ति र मुद्दामा नागरिकको समर्थन हुँदैन । अवस्तुगत, अवैज्ञानिक प्रयास र कुतर्कलाई कसैले राजनीतिक रंग दिन खोज्दैमा त्यो राजनीतिक आन्दोलन र क्रान्ति बन्न सक्दैन । 

नेपालमा भ्रष्टाचार भयो, रोजगारी भएन, युवा बिदेसिए, नेताले देश बिगारे, सबै चोर हुन्, सबै दल भ्रष्ट छन् जस्ता अतिवादी सोचबाट प्रेरित भएर गरिएका हुइयाँले आन्दोलन हुने होइन । चोकका सतहमा देखिएका चिया गफमा आएका नागरिक असन्तुष्टि, रत्नपार्कमा बदाम खानेहरूका गफलाई ‘अराजकतावादी’हरूले राजनीतिक मुद्दा ठान्नु बेमौसमको खेती मात्र हो । जनआवाज र असन्तुष्टि हिजो थियो, आज छ र भोलि पनि हुने नै छ । नागरिक असन्तुष्टि र जनआवाज लोकतन्त्रको आधारभूत गहना हो । जुन जहिल्यै आवश्यक छ । लोकतन्त्र चाहिएको पनि त्यसैको लागि हो । जसको संबोधन संविधान र विधिबाट हुन्छ, हुनुपर्दछ । ‘अधिकार र अवसर समान हैसियतमा भएका सबैलाई समान तरिकाले दिनु नै न्याय हो’ भन्ने कुरा ‘अ थ्यौरी अफ जष्टिस’ (१९७१) पुस्तकमा अमेरिकी लेखक जोन रावल्सले उल्लेख गरेका छन् । ग्रिक दार्शनिक अरिस्टोटलको पनि जष्टिसको व्याख्यामा त्यसरी नै आफ्नो विचार दिएका थिए ।

जस्तोसुकै आक्रोश, आक्रमण र हिंसा आन्दोलन होइन । कहिलेकाहीँ सडकमा ट्राफिकले लाइसेन्स लिँदा पनि माइक्रोबसवालाहरू मिलेर सडक जाम गरिदिन्छन् । लोकतन्त्र प्राप्तिपछिका दिनमा त्यस्ता गतिविधि धेरै देखिन्थ्यो । के त्यो आन्दोलन थियो ? राजमार्गमा मान्छे गाडीको ठक्करले मर्‍यो भने घण्टौँ सडक जाम हुन्छन् । त्यस्ता आक्रोश आन्दोलन होइनन् । ऋतिक रोशन काण्डमा राजधानीका दर्जनौँ स्थानमा तोडफोड भएको थियो । उता इराकमा १२ नेपालीलाई मारिएपछि भदौ १२ गते काठमाडौँको सडकमा विरोधको ज्वाला दन्कियो । के ती आन्दोलन थिए ? क्रान्ति थिए ?

इतिहाससँग तुलना गरेर हेर्ने हो भने सुधार भएका छन् । हामी कस्तो इतिहासबाट अघि आएका हौँ ? भुल्नु हुन्न । २०६२/६३ को १९ दिने आन्दोलनले मात्र नेपालमा लोकतन्त्र आएको होइन । राणा काल, संक्रमण काल, पञ्चायती काल र पछिका काल, राजाले कु गरेको काल र समयलाई तुलना गरेर अहिलेको गणतन्त्रलाई विश्लेषण गर्नु पर्दछ । २००७ साल अघिदेखिको राजनीतिक, सामाजिक, संवैधानिक, सांस्कृतिक र नागरिक प्रतिरोधको श्रृँखलालाई जोडेर हालको नेपाललाई विश्लेषण गर्न सक्नु पर्दछ । २०६३ साल वैशाख ११ गते भएको घोषणा त ती सबै संघर्ष र आन्दोलनको एउटा अन्तिम रुप हो । पछिलो किस्ता शासकले जनतालाई तिरेको मात्र हो । अराजकतावादी तत्व बंगलादेशमा भएको राजनीतिक हिंसा र संघर्र्ष नेपालमा पुनरावृत्त गराउन खोज्दैछन् । किन र कसरी बंगलादेशमा त्यो अवस्था आयो ? त्यो जान्नुपर्दछ । नेपाल र बंगलादेशको स्थिति किन र कसरी फरक हो ? त्यो हेर्नुपर्दछ । नेपालमा केका लागि बंगलादेश ल्याउने ? त्यो प्रष्ट हुनु पर्दछ । 

प्रधानमन्त्री शेख हसिना किन भाग्न बाध्य भइन् ? एक महिने विद्यार्थी आन्दोलनसँग जोडेर मात्र बुझ्नु अल्पज्ञानी सोच हो । सन् १९७१ मा बनेको बंगलादेश मुस्लिम बाहुल्य भएको मुुलुक हो । १७ करोड बढी जनसंख्या छ । गार्मेन्ट उद्योग, कृषि, माछा आदिको उत्पादन बढी हुन्छ । यद्यपि, जनसंख्या वृद्धि, गरिबी, अशिक्षा, भ्रष्टाचार, कुशासन, राजनीतिक हिंसा, हत्या, अराजकता, अलोकतान्त्रिक सत्ता, विधिहिनता, निरन्तरको हड्ताल जस्ता कारणले बंगलादेश तहसनहस भइसकेको थियो । मानिसमा आक्रोश र आवेश तीव्र थियो । वर्षाैँसम्मका अनिश्चितकालीन हडतालले जनता वाक्कदिक्क थिए । संघर्षमा हजारौँ जेल परे । सयौँ मरे । हजारौँ घाइते भए । चुनावी हिंसा भइरह्यो । राजनीतिक र साामाजिक सद्भाव, सहयोग, सहकार्य, वार्ता र संवाद, स्वच्छ र स्वतन्त्र निर्वाचनको अभाव प्रमुख राजनीतिक समस्या रहँदै आयो ।

बढ्दो शैक्षिक बेरोजगारी, राजनीतिक दमन र हिंसा, सत्तारुढ दलको दमनकारी नीति, प्रधानमन्त्री शेख हसिनाको निरंकुश शासन शैली, राज्यसत्तामा राजनीतिकरण र विपक्षी दल तथा नागरिकप्रति पेलाहा नीतिका कारण सत्ता र प्रधानमन्त्रीप्रति आम नागरिकमा आक्रोश र विरोधको ज्वाला तीव्र भइरहेको थियो । तीस प्रतिशतभन्दा बढी आरक्षण त सन् १९७१ मा भएको बंगलादेश स्वतन्त्रताका सन्तति र परिवारका सदस्यलाई मात्र छुट्टाइयो । जसले गर्दा विद्यार्थी आगो बने । विद्यार्थीलाई जनताको पूरै समर्थन रह्यो । जनतालाई विद्यार्थी ढाल भए । यही कारण आन्दोलन दिनदिनै फव्रिmयो र बढ्यो । हसिनाले दश हजारलाई थुन्दा पनि सडकमा ज्वाला दन्कन थामिएन । सोही कारण पाँच सय बढीको मृत्यु पनि भयो । त्यहाँ ढिलोचाँडो त्यो तहको आन्दोलन हुने पूर्वानुमान थियो । अन्तिममा आएर सेनाले प्रधानमन्त्री हसिनालाई पौने एक घण्टाको समय दिएर देश छाड्न भन्नुपर्ने वस्तुगत वाध्यतात्मक अवस्था सिर्जना भयो । विपक्षी नेतृ बेगम खालिदा जियालाई पन्ध्र वर्षसम्म नजरबन्दमा राखेर निर्वाचनमा पनि भाग लिन दिइएन । अनेकौँ मुद्दा लगाइयो । यस्ता अत्याचारले त्यहाँ त्यस्तो स्थिति आयो । नेपालमा त्यस्तो अवस्था छ त ? लोकतान्त्रिक अधिकार सरकार र राज्यले सीमित गरेको छ ? सरकार र सत्ता अवैधानिक र अस्वीकार्य विधिबाट सञ्चालित रहेको छ ? नेपालमा नागरिकका राजनीतिक र लोकतान्त्रिक अधिकार हनन भएका छन् ? यस्तो स्थिति हुँदाहुँदै नेपालमा पनि बंगलादेशको जस्तै बाढी ल्याउनुपर्छ भन्ने अराजकतावादी, प्रतिगामी राजावादी हल्लाको कुनै अर्थ छैन । 

नेपालमा अब संविधानअनुसारको निजी अधिकार कसैले खोस्न सक्दैन । संविधानले दिएको त्यही अधिकार प्रयोग गरेर प्रतिगामी, अराजकतावादी र राजावादीले संविधानकै समेत विरोध गर्न पाएका हुन् । नेपालमा यी र यस्ता आधारबाट विश्लेषण गर्दा बंगलादेशबाट शेख हसिना भागेजस्तो गरी निर्वाचित शासकलाई भगाउनु पर्ने अवस्था छैन । नेपाल र बंगलादेशको इतिहास, राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक अवस्था पूरै फरक भएकोले नेपालमा कसैले अराजकता ल्याउने चाहना राखेको कारणले कसैलाई हेलिकोप्टरबाट भगाउने स्थिति देखिन्न । जति पनि असन्तुष्टि, आक्रोश, कुशासन, विकृति र अनियमितता यही संवैधानिक र कानुनी प्रणालीबाट हल गर्दै जानुपर्छ । अर्काे बाटो हामीसँग छैन । हुइयाँ, हल्लाखल्ला र भ्रम छरेर आफू जाने र खाने मात्र सोचले यस्ता गलत अफवाह फैलाउने प्रवृत्ति बढेको हो । गत २०७९ को निर्वाचनअघि रवि लामिछनेलगायत नयाँ भनिएका मान्छेहरूले त्यस्तै भ्रम छरेका थिए । अहिले रविले सहकारी ठगेका कुरा छरपस्ट भएका छन् । ठूला कुरा गर्नेहरू झन् बढी भ्रष्ट र अपराधी हुँदा रहेछन् भन्ने देखिएको छ । यसर्थ नेपालमा बंगलादेशी घटना घटाउने प्रयास भँडुवा र अराजकतावादी सोचबाट आएको कुतर्कबाहेक केही होइन ।
 

टिप्पणीहरू