सिंहदरबारतिर भिन्दै स्वाद
अवैतनिक सल्लाहकारको आतंक मच्चिएको छ, सिंहदरबारतिर । पुष्पकमल दाहाल सरकारका मन्त्रीहरूले कानुनविपरीत कार्यकर्तालाई धमाधम सल्लाहकार र विज्ञका रूपमा नियुक्त गरेर कानुनकै धज्जी उडाएको भेटिएको छ ।
सुशासन ऐन र नियमले प्रधानमन्त्री, उपप्रधानमन्त्री र सञ्चारमन्त्री बाहेकले प्रेस सल्लाहकार राख्न नपाइने भनिए पनि अधिकांश मन्त्रीले सल्लाहकार नियुक्ति दिँदै मन्त्रालयअन्तर्गतका विभिन्न आयोजना तथा परियोजनाबाट तलब दिने गरेका छन् । प्रधानमन्त्री, उपप्रधानमन्त्री र सञ्चारमन्त्रीबाहेक अन्य मन्त्रीका लागि प्रेस सल्लाहकार पद खडा गरिएको छैन । तर, अहिले मन्त्रीको प्रेस सल्लाहकार राख्ने फेसन नै चलेको छ । नियमसंगत ढंगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तलब बुझ्ने गरी उपसचिव एक जना, शाखा अधिकृत, कम्प्युटर अधिकृत, कार्यालय सहयोगी, ड्राइभर मात्र हो । यसमा प्रेस सल्लाहकारको दर्जा खडा गरिएको छैन । मन्त्रीको प्रेस सल्लाहकार हुँ भन्दै कर्मचारीलाई यो गरिदे वा त्यो गरिदेको नाममा थर्कमान पार्न थालेसँगै कर्मचारी भने आतंकित हुन थालेका छन् । दरबन्दीबिनाका प्रेस सल्लाहकारहरु धेरैमा शाखा अधिकृतसम्मका तलब खाने गर्दछन् ।
सञ्चारमन्त्री राम कार्की, उद्योगमन्त्री नवीन्द्रराज जोशी, परराष्ट्रमन्त्री प्रकाशशरण महत र स्वास्थ्यमन्त्री गगन थापाले सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई प्रेस सल्लाहकारका रूपमा राखेका छन् । त्यसमध्ये सञ्चार मन्त्रीका प्रेस सल्लाहकार मात्र दरबन्दीवाल हुन् । उनीहरूलाई केही समस्या भएन । काम यता गर्छन्, तलब कार्यरत सरकारी सञ्चारमाध्यबाट बुझ्छन् । अन्य मन्त्रीको हकमा भने अवैतनिक सल्लाहकारका लागि मन्त्रालय मातहतकै विभागबाट तलब बुझ्ने गरेका छन् ।
प्रेस सल्लाहकार पनि कस्ता भने मन्त्रीले पत्रकारलाई होइन, हकरलाई प्रेस सल्लाहकार बनाएपछि प्रेस युनियनले आपत्ति नै जनाउनुप¥यो । मन्त्री केशव बुढाथोकीले हो, यसरी हकरलाई प्रेस सल्लाहकार बनाएको । तिनै हकर सल्लाहकारको आतंक मच्चिएको छ, सामान्य प्रशासन मन्त्रालयमा । युवराज पोडैल नामक व्यक्तिलाई प्रेस सल्लाहकार बनाएसँगै प्रेस युनियनले आपत्ति प्रकट गरेको थियो । अहिले उनै अवैतनिक सल्लाहकारले मन्त्रालयका उपसचिवलाई दैनिक रूपमा पाँच लिटरदेखि १० लिटर तेलसम्मको सिफारिस मागेर हत्तु खेलाउने गरेका छन् । यस्ता प्रेस सल्लाहकारले कर्मचारी मात्र होइन, प्रहरीसम्मलाई थर्काउने कर्मले निरन्तरता पाएको छ ।
गृहमन्त्री विमलेन्द्र निधिले कानुन व्यवसायी अरुण पञ्जियारलाई कानुनविज्ञ र पत्रकार रामजी दाहाललाई प्रेसविज्ञ नियुक्त गरे । सहसचिवस्तरको तलब–सुविधा पाउने गरी नियुक्त दुवैले गाडी सुविधासमेत लिइरहेका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक सल्लाहकारमा पुण्यप्रसाद रेग्मी र पत्रकार त्रिभुवन पौडेललाई प्रेस संयोजक नियुक्त गरेका छन् । दुवैले गाडी सुविधा लिइरहेका छन् । उद्योगमन्त्री नवीन्द्रराज जोशीको प्रेस हेर्ने जिम्मा सेजनका पूर्वअध्यक्ष प्रदीप चापागाईंले पाएका छन् । परराष्ट्रमन्त्री प्रकाशशरण महतले एकराज पाठकलाई प्रेस संयोजक भनेर नियुक्त गरेका छन् । तर, मारमाथि हम्मार भनेझैंको नियतिमा छन् एकराज । पीडा पनि कस्तो भने उनी देउवाको प्रियपात्र प्रकाशशरणको प्रेस हेर्ने जिम्मा त पाए, तर राससमा अध्यक्षको जिम्मेवारी सम्हालेका छन् रामचन्द्र पौडेलकै गृहजिल्ला तनहुँवासी कुलचन्द्र बाग्लेले । वाग्लेले काज स्वीकृत नगरिदिँदा पीडामा छन् । अर्काे राससकर्मी तथा प्रेस चौतारीका नेता प्रकाश सिलवालले २४ पुसमा प्रमुख प्रतिपक्षी एमालेलगायत नौ दलले गरेको संविधान संशोधनविरुद्धको विरोध प्रदर्शनको समाचार लेख्दा सञ्चारमन्त्री राम कार्कीका प्रेस सल्लाहकार राजेन्द्र किरातीले ‘किन नारा लेखेको’ भन्दै नांगो हस्तक्षेपसमेत गर्न भ्याए ।
यस्ता छन् हाम्रा मन्त्रीका सल्लाहकारको धन्दा । शिक्षामन्त्री धनीराम पौडेलले जनार्दन पोखरेललाई प्रेस संयोजक राखेका छन् । अर्का मन्त्री शंकर भण्डारीले मन्त्रालयमा चार जना सल्लाहकार राखेर गाईजात्रा देखाएका छन् । वन मन्त्रालयसँग सम्बन्धित विषयमा कुनै जानकारी नभएका राजु लौडारीलाई उपसचिव सरहको तलब र गाडी सुविधासहित सल्लाहकार पड्काइरहेका छन् भने मन्त्रालयका उपसचिव राजन रेग्मीलाई निजी सचिव बनाएका छन् । त्यहाँ सुरेन्द्र अधिकारी, विमल आचार्यलाई सल्लाहकारको हैसियतमा आफ्नो सचिवालयमा राखेका छन् । कानुनमन्त्री अजयशंकर नायकको प्रेस सल्लाहकारका रूपमा बुद्ध लोप्चन, सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले जिल्लावासी शिव देवकोटा, गगन थापाले राससकर्मी जीवन भण्डारी, सहकारीमन्त्री हृदयराम थानीले पौडेल, सिँचाइमन्त्री दीपक गिरीले अर्जुन गिरीलाई प्रेस सल्लाहकार बनाएका छन् । यस्ता अवैतानिक सल्लाहकारले भने अनेक बाहनामा मन्त्रालका कर्मचारीलाई दुःख दिने गरेको कर्मचारी वृत्तमा चर्चा छ ।
टिप्पणीहरू