तीन वर्षदेखि तलब नपाएका नागरिकका पत्रकार धर्नामा

तीन वर्षदेखि तलब नपाएका नागरिकका पत्रकार धर्नामा

नेपाल रिपब्लिक मिडियाद्वारा सञ्चालित नागरिक दैनिक पत्रिकामा कार्यरत कर्मचारीहरूले तीन वर्षदेखि तलब नपाएको भन्दै बिरोध तथा धर्ना कार्यक्रम थालेका छन् । आज सुन्धारास्थित जेडीए अफिस कम्प्लेक्स भवनमा पत्रकारहरूले तीन वर्षदेखि तलब नपाएको भन्दै बिरोध तथा धर्ना कार्यक्रम शुरु गरेका हुन् ।

नागरिक दैनिक पत्रिकामा कार्यरत करिब ३ दर्जन जिल्लाका संवाददाता तथा स्ट्रिङ्गरहरूलाई पारिश्रमिक नदिइएकाले आजबाट बिरोध तथा धर्ना कार्यक्रम शुरु गरिएको बताइन्छ । प्रदर्शनकारी पत्रकारहरूले हालसम्मको बाँकी सबै पारिश्रमिक भुक्तानी गर, कोरोना महामारीको बहानामा श्रमजीवी पत्रकारलाई दुःख नदेऊ, परीक्षणकाल पूरा गरेका सम्पूर्ण स्ट्रिन्जर र जिल्ला समाचारदातासहित सम्पूर्ण कार्यरत पत्रकारलाई स्थायी नियुक्ति देऊ,प्रचलित श्रमजीवी पत्रकारसम्बन्धी ऐनअनुसार सेवा सुविधा देऊलगायतका नारा समेत लगाएका छन् ।

यसैबीच नागरिक दैनिक पत्रिकाले तीन वर्षदेखि तलब नदिएको विषयलाई लिएर पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले प्रेस विज्ञप्तिमार्फत पारिश्रमिक उपलब्ध गराउन माग गर्दै आन्दोलनमा रहेका पत्रकारहरूको तलब तत्काल उपलब्ध गराउन व्यवस्थापनसँग माग गरेको छ ।

महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा पत्रकारहरूको आन्दोलनमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टलगायतका पदाधिकारीहरू सहभागी भई ऐक्यबद्धता जनाएको बताइएको छ । विज्ञप्तिमा एउटा प्रतिष्ठित मिडिया हाउसबाट लामो समयदेखि पत्रकारहरूलाई काम लगाएर पारिश्रमिक उपलब्ध नगराउनु दुःखद् हुनुका साथै उक्त कार्य श्रमजीवी पत्रकार ऐन विपरित हुने महासंघले ठहर गरेको छ ।

महासंघले नागरिक दैनिकलाई तत्काल पारिश्रमिक उपलब्ध नगराए त्यसविरुध्द दबाबमूलक कार्यक्रममा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ ।

टिप्पणीहरू