नेपाली मर्दा,भारत अप्ठ्यारोमा पर्दा,आफ्नाप्रति समवेदना शून्यता !

नेपाली मर्दा,भारत अप्ठ्यारोमा पर्दा,आफ्नाप्रति समवेदना शून्यता !

महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनामा भारतीय सुरक्षाकर्मीको संलग्नतालाई जिल्ला प्रशासन कार्यालय दार्चुलाले अस्वीकार गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेका कारण धामी महाकालीमा खसेर बेपत्ता भएको भन्दै चौतर्फी बिरोध भैरहेका बेला दार्चुला प्रशासनले भने तथ्यहीन आरोप नलगाउन सूचित गरेको हो ।

घटनाको वास्तविकता नबुझी भ्रमपूर्ण प्रचार गरिएको भन्दै प्रशासन कार्यालयले असन्तुष्टि जनाएको छ । घटना अनुसन्धानकै क्रममा रहेकाले भारतीय पक्षलाई आरोपित गरेर दुई देशबीचको सम्बन्धमा खलल नपार्न प्रशासन कार्यालयले विज्ञप्तिमार्फत सचेत गराएको हो ।

विज्ञप्तिमा घटनाको सम्बन्धमा वास्तविकता जानकारी गराई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन भारतीय समकक्षीलाई पत्राचार समेत गरिसकेकाले छिट्टै सत्यतथ्य सार्वजनिक हुने बताइएको छ ।

‘सत्य तथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल ४४ गण दार्चुला, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयबाट टोली खटिएको र हालसम्म कुनै औपचारिक जानकारी प्राप्त नभैसकेकाले अनुसन्धानपश्चात घटनाको सत्य तथ्य जानकारी गराइने व्यहोरा अनुरोध छ’, सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

घटनाबारे प्रष्ट पार्दै जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन फाँटका नायब सुब्बा रामराज पन्तले भारतीय पक्षसँग कुराकानी भैरहेको बताएका छन् । पन्तका अनुसार भारतीय पक्षले मौखिक प्रतिक्रियामा त्यस प्रकारको अमानवीय कार्यको कल्पनासमेत गर्न नसक्ने बताएको छ ।

जनआस्थासँगको कुराकानीमा उनले घटनाबारे भारत संवेदनशील रहेको र आवश्यक समन्वय भैरहेको जानकारी दिए । एसएसबीले तुइन काटे/नकाटेको नखुलेपनि नेपालीहरु दुवैतर्फका सुरक्षाकर्मीहरुलाई छलेर तुइनबाट आवतजावत गर्दा वर्षाको समयमा यसअघि पनि यस्ता क्षति हुने गरेकाले संयमित हुन पन्तले आग्रह गरे ।

घटनालगत्तै स्थानीय प्रत्यक्षदर्शीले जिल्ला प्रशासन कार्यालयमा आएर प्रमुख जिल्ला अधिकारीसामु गरेको रिपोर्ट सुनाउँदै पन्तले भारतीय सुरक्षाकर्मीले तुइन काटेको उनीहरुले नदेखेको जानकारी गराएको बताए । तथापि भारतीय पक्षलाई प्रशासन कार्यालयले पत्र लेखिसकेको र छिटै औपचारिक जवाफ आउने उनको विश्वास छ ।

दुई देशको मामिलामा लुकिछिपी बाह्य मुलुक प्रवेश गर्नु अवैधानिक मानिन्छ । यद्यपि मानवीय क्षतिको बिषय भएकाले अनुसन्धान प्रकृयालाई कडाई गरेर दोषीलाई कारवाही गरिने पन्तको भनाइ छ ।
यसैबीच नेपाल नागरिक अभियानले महाकाली नदी तरेर भारत जाने क्रममा तुइनबाट खसेर दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य छानविन गर्न माग गरेको छ । घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै नागरिक अभियानले दुई देशको संयुक्त उच्चस्तरीय छानविन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको हो ।

आज एक अपिल सार्वजनिक गर्दै अभियानले कूटनीतिक माध्यमबाट ठोस पहलकदमी लिन सरकारलाई सुझाव पनि दिएको छ । घटनाको छानवीन गरी सत्यतथ्य खुलाई दोषीलाई कानून बमोजिम कार्वाही गर्न तथा भविष्यमा यस्ता अमानवीय घटना नदोहोरिने भारतीय प्रतिवद्धता खोज्न अपिलमा भनिएको छ ।

नेपाल-भारत सीमावर्ती नागरिकवीचको आपसी सदभाव नखल्बलिने गरी दिनचर्या सहज सुरक्षित तुल्याउनेतर्फ अल्पकालीन र दीर्घकालीन भरपर्दो व्यवस्था मिलाउनसमेत नागरिक अभियानले माग गरेको छ ।

अमानवीय ढंगले निहत्था नागरिकको हत्या गर्नेको हात काटिदिने कि तिनै अपराधी जोगाउन हत्याराका सामुन्ने लाचारी प्रदर्शन गर्ने ? भन्दै उसले प्रश्न सोधेको छ ।

दुई वर्षमा सम्पूर्ण तुईन विस्थापित गरी पक्की तथा झोलुंगे पुल निर्माण गर्ने हवाई गफ दिंदै विकासका आकाशे किल्ला निर्माण गरी चार वर्ष शासन गरेको ओली नेतृत्वको सरकारको विश्वासघाती चरित्रको कारण यस्ता घटना निम्तिएको नागरिक अभियानको ठहर छ ।

धामी हिजो तुइनबाट भारत प्रवेश गर्ने क्रममा नदीमा खसेर बेपत्ता भएका थिए । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी चुँडाएका कारण उनी नदीमा खसेर बेपत्ता भएको स्थानीयले बताएका छन् ।

उक्त घटनाको विरोधमा विभिन्न राजनीतिक दल र उनीहरु सम्बद्ध भातृ संगठनहरुले आज देशव्यापी आन्दोलन गरिरहेका छन् ।

टिप्पणीहरू