बिहान वाम एकता हुँदैछ भन्नुभएका प्रधानमन्त्रीको अपरान्ह अर्कै कुरा

बिहान वाम एकता हुँदैछ भन्नुभएका प्रधानमन्त्रीको अपरान्ह अर्कै कुरा

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताका लागि हतार गर्न नहुने धारणा राख्नुभएको छ ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतबाट पाठ सिकेर हतारमा पार्टी एकता गर्ने पक्षमा आफू नरहेको स्पष्ट पार्नुभएको छ । पार्टी एकताभन्दा राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणमा बढी जोड दिनुपर्ने प्रधानमन्त्रीको भनाई छ । 

त्यसक्रममा प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले पार्टी एकताका नाममा पुरानै दुर्घटना नहोस् भन्नेमा सचेत रहेको पनि बताउनुभयो । तर, आज बिहानमात्रै काठमाडौँमा आयोजित एक कार्यक्रममा भने उहाँले वामपन्थी एकताको प्रक्रिया शुरु भैसकेको जानकारी दिनुभएको थियो । 

‘हामी फेरि एकताको प्रक्रियामा फेरि अगाडि बढिसकेका छौँ’, उहाँले भन्नुभएको थियो, ‘यो एकताको प्रक्रियालाई सफल पार्न तपाईं हामी सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने आवश्यकता छ ।’ 

भोलि चितवनमा आयोजना गर्न लागिएको २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, २०८१ मा सहभागी हुन उहाँ आज अपरान्ह गृहजिल्ला पुग्नुभएको हो ।

टिप्पणीहरू