प्रधानमन्त्रीलाई डा. बाबुरामको साढे २ महिने अल्टिमेटम

प्रधानमन्त्रीलाई डा. बाबुरामको साढे २ महिने अल्टिमेटम

नेपाल समाजवादी पार्टीले बूढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन सरकारलाई आगामी भदौसम्मको अल्टिमेटम दिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज ज्ञापनपत्र बुझाउँदै सो पार्टीले ‘बूढीगण्डकी करिडोर विकास प्राधिकरण’ गठन गरी तत्काल आयोजनाको काम छिट्टै शुरु गर्न माग गरेको छ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितको टोलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर ज्ञापन बुझाएको हो ।

पत्रमा बूढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरणअन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गरी अधिकार र साधन स्रोत सम्पन्न बूढीगण्डकी करिडोर विकास प्राधिकरण गठनको माग छ । 

त्यस्तै, प्राधिकरणमार्फत् समग्र बूढीगण्डकी करिडोर विकासका कामहरु तिब्रताका साथ अगाडि बढाउनुपर्ने डा. भट्टराईको जोड छ । आयोजना प्रभावित नागरिकहरुका जायज मागहरुलाई पनि यथाशीघ्र सम्बोधन गर्न पत्रमार्फत् माग गरिएको छ ।

‘अहिलेजस्तो विद्युत प्राधिकरणअन्तर्गत एउटा सहायक कम्पनीबाट यो बन्न सक्दैन । त्यो भनेको नबनाउने कुरा हो । आलटाल गर्दै गएर यो अब बन्न सकेन भनेर जुन चलखेलका आशंका हिजोदेखि भएका थिए, त्यसलाई बल पुर्याउनेगरी यसलाई तुहाउने अथवा बनाइहालियो भनेपनि सानो जलविद्युत आयोजनाको रुपमा बनाउने । त्यतातिर जाँदैछ भन्ने हामीलाई लाग्छ’, भट्टराईले भने, ‘त्यसो भएको हुनाले गम्भीरतापूर्वक यो विषय उठाएका छौँ । उहाँहरुले चाहेमा संसदमार्फत बूढीगण्डकी विकास प्राधिकरण ऐन ल्याएर यसलाई अगाडि बढाउन सक्नुहुन्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले आफूहरुको माग भाद्र महिनाभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिनुभयो । ‘हामीले भदौ मसान्तसम्मको समय दिएका छौँ । माग पूरा गर्नुभएन भने सरोकारवाला त्यहाँका जनतासँग मिलेर हामी आन्दोलनमा जान्छौँ’, भन्नुभयो ।

टिप्पणीहरू