जातजातिभित्रै राजनीति र ज्यादति
– निनाम कुलुङ ‘मंगले’
किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजका अध्यक्षहरू, हजुरहरू कहिलेसम्म राई यायोक्खा (स्मरण रहोस्, ‘यायोक्खा’ कुनै राईको भाषा नभएर बान्तवा जातिको भाषा हो ।) नामक एनजिओ (समाजकल्याण परिषद दर्ता नम्बर– एसडब्लुसी–२६५६, काठमाडौं जिल्ला प्रशासन कार्यालय काजिप्रका, रजिस्टर्ड नम्बर– ३२८/०४९/०५०) को पुच्छर भएर हिँड्नु हुन्छ ?
आठपहरिया, कुलुङ, बान्तवा, बाहिङ, मेवाहाङ, याम्फु आदि किरातीहरूलाई थाहै नदिई चार किराती भन्नेहरूले मात्रै गरेको निर्णय अरूले मान्लान् त ? तपाईंहरूले किरात संवत्, (यले दोङ ३९…) नमानेर किन ५०८१/५०८२ लाई नै मान्दै/लेख्दै आउनु भएको ?
केन्द्रीय तथ्यांक विभागले ०६८ मा गरेको १० औं राष्ट्रिय जनगणनाअनुसार पहिलो नम्बरमा कुलुङ २८ हजार ६१३, दोस्रो नाछिरिङ ७ हजार १५४, तेस्रो याम्फु ६ हजार ९३३, चौथो चाम्लिङ ६ हजार ६६८, पाँचौं आठपहरिया ५ हजार ९७७, छैठौं बान्तवा ४ हजार ६०४, सातौं थुलुङ ३ हजार ५३५, आठौं मेवाहाङ ३ हजार १००, नौ औं बाहिङ ३ हजार ९६, दशौं साम्पाङ १ हजार ६८१, एघारौं खालिङ १ हजार ५७१ र १२ औं मा लोहोरुङ १ हजार १५३ जना छन् ।
भाषिकअनुसार पहिलोमा बान्तवा एक लाख ३२ हजार ५८३, दोस्रोमा चाम्लिङ ७६ हजार ८००, तेस्रोमा कुलुङ ३३ हजार १७०, चौथोमा थुलुङ २० हजार ६५९, पाँचौंमा साम्पाङ १८ हजार २७०, छैठौंमा खालिङ १४ हजार ४६७, सातौंमा बाहिङ ११ हजार ६५८, आठौंमा नाछिरिङ १० हजार १७६, नवौंमा याम्फु ९ हजार २८०, दशौंमा आठपहरिया ७ हजार ५३०, एघारौंमा मेवाहाङ ४ हजार ६५० र बाह्रौंमा लोहोरुङ ३ हजार ७१६ छ । हामी (कुलुङ) ले जातीय स्वपहिचानको मुद्घा/सवाल उठाउन थालेको विसं ०५७/५८ देखि हो । थामी, हायु, सुरेल, जिरेल आदिलाई पनि समेटौं न हामीले भन्ने वा माग्ने आत्मनिर्णयको अधिकारको के अर्थ ? हामीले अरूलाई दलनमलनमा पा¥यौं वा बहिष्करण ग¥यौं भने त बाहुन, क्षेत्री वा राज्य र हामीमा के फरक ?
जसरी मगरभित्र थापा, क्याप्छाकी, आले, सोमई, तिलिजा, पुन, गर्बुजा, मास्की, रम्जाली थरहरू हुन्छन्, त्यसरी नै कुलुङ भनेको पनि नेपालको एक जाति हो । कुलुङ जातिभित्र विभिन्न थर/उपथर छन् । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, वार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, ङोपोचो, रोतेम्बुलगायत ३८० वटाभन्दा बढी । त्यसैले कुलुङ–कुलुङबीचमै विवाहवारी चल्ने गरेको छ ।
अन्यथा ‘मुसलमान’ जात समूह जस्तो हुनुप¥यो ‘दूधको नाता मात्रै बार्ने, रगतको नाता नबार्ने’ तर कुलुङहरू वंशभित्र सात पुस्ता र मावलीतर्फ पाँच पुस्ता नाता पछ्याउने प्रचलन छ । केही गरी नातापातामा अनैतिक ढंगले यौन सम्बन्ध वा विवाह भयो भने, त्यस्ता दम्पत्तिलाई नयाँ थर र दप्निङ/दप्सनिङ/दिइन्छ । त्यसपछि उनीहरू कुटुम्बसरह हुन्छन् । त्यही भएर पनि ‘आदिवासी जनजातिहरूमा पहिलेदेखि नै मानवअधिकारको ग्यारेन्टी रहेको थियो’ भन्ने गरिन्छ । कति हाडनातामा बिग्रनेहरू ‘लाजगाल’ले गर्दा भागेर मुग्लान भासिन्छन् ।
केन्द्रीय तथ्यांक विभागले आगामी ११ औं राष्ट्रिय जनगणनामा ‘कुलुङ’ जातिलाई दिएको अलग्गै जातिगत ‘कोड–२९’ र अलग्गै ‘भाषागत कोड–३३’ छ ।
टिप्पणीहरू