देउवा आउनासाथ रोकिएको काम दनादन

देउवा आउनासाथ रोकिएको काम दनादन

-अनुषा थापा

अघिल्लो पटक विमलेन्द्र निधि यातायात मन्त्री हुँदा शेरबहादुर देउवाको सालो भूषण राणाहरुमार्फत अघि बढेर सर्वाेच्चले उल्टाइदिएको राज्यलाई अर्बौँ चुना लगाउने प्रक्रिया फेरि प्रारम्भ भएको छ ।

सवारी साधनको नम्बर प्लेट डिजिटलाइज गर्ने (इम्बोइस्ड नम्बर ) प्रक्रिया देउवा प्रधानमन्त्री बनेसँगै फेरि अघि बढेको हो । विमलेन्द्र निधि भौतिक योजना तथा यातायातमन्त्री हुँदा यातायात ब्यवस्था विभागका डिजी थिए,चन्द्रमान श्रेष्ठ । श्रेष्ठ केही महिना अघिमात्र सचिव पदबाट अवकाश पाएर घर गइसकेका छन् । उनीहरुकै मिलोमतोमा सवारी साधनमा इम्बोइस्ड नम्बर प्लेट जडान गर्ने प्रक्रिया अघि बढेको हो ।

नेपालका ३६ लाख बढी सवारी साधनको नम्बर प्लेट डिजिटलाइट गर्ने,५ बर्षभित्रमा यो प्रक्रिया अघि बढ्न नसके बंगलादेशी कम्पनीलाई क्षतिपूर्ति दिने भनेर नेपाल पक्ष आफैं तल पर्ने गरी भएको सम्झौता थियो त्यो । जसले गर्दा नेपाल सरकारको झण्डै ५ अर्ब जोखिममा पर्यो ।

०७३ जेठमा यो प्रक्रिया अघि बढेअनुसार १८ हजार सवारी साधनमा इम्बोइस्ड नम्बर प्लेट जडान गरियो । ०७४ फागुनमा नेपालका सवारी साधनमा अँग्रेजी भाषामा नम्बर प्लेट जडान गर्ने कार्य गलत भएको भन्दै सर्वाेच्चमा रिट दायर भयो ।  झण्डै २ बर्षपछि ०७६ मंसिर २७ मा सर्वाेच्चले यो प्रक्रियालाई रोक लगाएकोमा देउवा प्रधानमन्त्री नियुक्त भएसँगै फेरि प्रक्रिया अघि बढेको हो ।

यसबाट सवारी चालकहरुले झण्डै ६ गुणा महंगो मूल्य चुकाउनुपर्ने छ । नम्बर प्लेट डिजिटलाइट गर्ने काम चार पाँच सयमा सम्पन्न हुने भए पनि एउटा सवारी साधनले २४ सयदेखि ३६ सयसम्म चुकाउनुपर्नेछ ।

यातायात व्यवस्था विभागले नामाकरण भइसकेका प्रदेशहरुमा इम्बोइस्ड जडानको तयारी अघि बढाए पनि नामाकरण नभएका प्रदेशका बासिन्दाहरुले फेरि दोहोरो खर्च गर्नुपर्ने हुन्छ । अहिलेसम्म बागमती,गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको नामाकरण भइसकेको छ । प्रदेश १ र २ को भने टुंगिन बाँकी छ ।

टिप्पणीहरू