हामीलाई जुन कुरा साह्रै मन पर्छ
हामीलाई संसार मनपर्छ, मान्छे पनि मनपर्छ,
गरिबले सुख पा’को साह्रै साह्रै साह्रै मनपर्छ ।
– स्वर्गीय विकास गोतामे
हामीलाई मन नपर्ने कुरा थोरै छन् भने मन पर्ने कुरा धेरै छन् । हामीले मन पराउँछौं सबै सबै मान्छेलाई । चाहे ती पुँजिपति हुन् वा व्यापारी हुन् अथवा शोषक, दलाल, भ्रष्टाचारी, मन्त्री, नेता हुन् ती सबै सबै मान्छे नै हुन् । तिनीहरू सबैलाई मान्छे हुनुका नाताले कुनै प्रकारको रिसराग नराखी मन पराउँछौं र गरिबलाई पनि उत्तिकै मन पराउँछौं । मान्छेका रूपमा तिनीहरू हामीलाई औधी मन पर्छन् ।
हामी सबैको रगत उस्तै छ । हामीले एउटै, उस्तै र आफूलाई चाहिने जति अक्सिजन लिन्छौं वायुमण्डलबाट । सबैले अघाउने गरी खान्छौं । सबैले पानी पिउँछाैँ तिर्खा लाग्दा । यसैले हामीले तिनीहरूलाई पनि आफूजस्तै ठान्छौं र मन पराउँछौं । हामीलाई मन नपर्ने उनीहरूको कर्म हो । हामीलाई तिनीहरूले शोषण नगरेको धेरै मनपर्छ । हाम्रो हक र अधिकार हामीलाई दिएको र हामीमाथि न्याय गरेको धेरै मनपर्छ । कामको न्यायोचित ज्याला दिएको झन् मन पर्छ । हामीसँग तिनले समान व्यवहार गरेको मन पर्छ । मान्छेले मान्छेसँग समान व्यवहार गर्नु मानवीय कर्तव्य पनि हो । तिनले पनि हामी गरिबले जस्तै आफ्नो कर्तव्य पूरा गरेको हेर्न साह्रै साह्रै मन पर्छ ।
हाम्रा छोराछोरीले तिनका छोराछोरीले पाउने शिक्षा पाएका छैनन् । उनीहरूले जस्तै तातो पाको गाँस खाएर स्कुल जान पाएका छैनन् । हाम्रा छोराछोरीको खुट्टामा जुत्ता छैन । शरीरमा सफा स्कुल ड्रेस र घाँटीमा टाई पनि छैन । गुहकार्य गर्ने कापीकलम छैन । पानी पर्दा ओढ्ने छाता छैन । किताब–कापी हाल्ने झोला छैन । हामीलाई यिनै कुरा मन पर्दैनन् ।
गरिबका छोराछोरीले अरुले सरह नपढ्ने, पेटभरि नखाने, जुत्ता नलगाउने, स्कुल ड्रेस नलगाउने ? पानी पर्दा आफू र किताबकापी पनि भिज्ने भिजाउने ? यस्तो कुरा हामीलाई मन पर्दैन । हामीले आत्मसम्मानले भरिएको काम गर्न किन नपाउने ? गिट्टी कुटेरै, रिक्सा चलाएरै, सिमेन्टका बोरा लोड, अनलोड गरेरै गुजारा गर्नुपर्ने किन ? हो, यो कुरा हामीलाई मन पर्दैन ।
हामी पनि बिरामी पर्छौं उनीहरू परे जस्तै । तर, हामीले किन सिटामोल र जीवनजल पनि नपाउने ? ठूला अस्पतालमा हाम्रो उपचार किन हुन नहुने ? किन उनीहरूले मात्रै उपचारमा राज्यको सहयोग पाउने र गरिबले नपाउने ? यो कुरा हामीलाई मन पर्दैन ।
बिरामी पर्दा, सुत्केरी हुन एम्बुलेन्स चढेर अस्पताल जान पाउने कुरा, डाक्टरले स्टेथेस्कोप लगाएर छाती जाँच्ने कुरा, ब्लड प्रेसर नापेको हामीलाई मन पर्छ । धामीझाँक्रीको घर जाने, खुट्टामा चोट लाग्दा गोबर लगाउने कुरा पटक्कै मन पर्दैन ।
हामीलाई पनि राम्रोसँग छाएको, पानी नचुहिने, घरभित्रै ट्वाइलेट भएको, ग्यासमा खाना पकाउन सकिने घरमा बस्न मन पर्छ । नदी किनारा, जंगल, बगर, अनकण्टार पहाडमा छाप्रो बनाउने र कतिबेला सेना र पुलिस आएर बल्लतल्ल बनाएको छाप्रो भत्काइदिने हो भन्ने डर पालेर बस्न मन पर्दैन ।
के गरिबले राम्रो घरमा, यातायातको सुविधा, अस्पतालको सुबिधा, स्कुलको सुविधा भएको ठाउँमा बस्न नहुने हो र ? हामीलाई यो कुरा मन पर्दैन । बाढी आउँछ र गरिबकै झुपडी बगाउँछ, तिनकै छोराछोरी र इष्टमित्रलाई बगाउँछ । जाडोमा सिरेटोले गरिबकै बालबच्चा र बृद्ध बृद्धाको मृत्युु हुन्छ । रातिमा ओढ्ने गतिलो सिरक छैन, गर्मीमा टाँग्न झुल छैन । यस्तो कुरा पटक्कै मन पर्दैन ।
गरिबले पनि आफ्ना छोराछोरीलाई राम्रो स्कुलमा पढाउन पाएको, पेटभरि खान पाएको, मौसमअनुसार लुगा लगाउन पाएको, बिरामी पर्दा राम्रो अस्पतालमा उपचार गराउन पाएको, नचुहिने घरमा, बाढीले नबगाउने ठाउँमा घर भएको साह्रै साह्रै मन पर्छ । गरिबले सुख पाएको साह्रै मन पर्छ ।
देशभरि नै एउटै शिक्षा लागू गर्ने, गरिबको निम्ति न्यूनतम आय सुनिश्चित गर्ने, अस्पतालमा गरिबले उपचार गर्न पाउने परिपाटी मिलाउने, सुकुम्बासी बनाएर जग्गा होइन कि रोजगारीसहित आवासको व्यवस्था गर्ने । तर यस्तो कुरा भ्रष्टाचार गरेर, घुस खाएर, अनियमितता गरेर, ठगेर , भाषण चर्का गरेर गर्न सकिन्न । दुई, तीनथरि शिक्षा दिन बन्द गर ।
अस्पताललाई नाफादायक नबनाऊ । न्यूनतम आयको ग्यारेन्टी गर । गरिब आवासको निर्माण गर । विद्युत् महसुल सस्तो गर । इन्टरनेट सेवा सस्तो गराऊ । मालपोत कम गर । सिफारिस शुल्क हटाऊ । ठूला व्यापारीका ऋण मिनाहा, आयकर मिनाहा , भ्याट मिनाहा बन्द गर । समयमा बीउ र मल उपलब्ध गराऊ किसानलाई । सिँचाइको सञ्जाल बनाऊ । किसानको उत्पादन बेच्ने बजार बनाऊ । उत्पादनको न्यूनतम सपोर्ट प्राइस तोक । यसो गरेपछि गरिबले सुख पाउनेछन् । गरिबले सुख पाउने कुरा हामी खुशी हुने कुरा हो ।
अन्त्यमा, हामीलाई घाम मन पर्छ, हामीलाई जून मन पर्छ । गरिबले सुख पाएको साह्रै साह्रै साह्रै मनपर्छ ।
टिप्पणीहरू