चुनावलाई चुनावै हुन दिऊँ न !
चुनावको तिथि जतिजति नजिक आउँदै छ त्यति नै सुरक्षा चुनौती पनि थपिएको आभाष भइरहेको छ । तुलनात्मक रूपमा स्थानीय तह निर्वाचनमा सुरक्षा दृष्टिले कुनै ठूला र गम्भीर घटना नभएको कारण कतै हाम्रा सुरक्षा निकाय यस विषयमा केही कम सजग बनेका त होइनन् भन्ने प्रश्न पनि उठ्न थालेको छ । तर, अहिलेको चुनावमा प्रतिस्पर्धा अत्यन्तै उच्च तहमा रहेको, चुनावलाई असफल पार्ने आफ्नो योजनामा विगतमा चुकेका बहिष्कारवादी दल ठोस योजनासाथ क्रियाशील रहेको सूचना प्राप्त भइरहेको र विशेषगरी तराईमा चुनावी हिंसा बढ्न सक्ने केही संकेत देखा परेको परिप्रेक्ष्यमा यसप्रति राज्य संवेदनशील बन्नु आवश्यक छ ।
निर्वाचनका गतिविधि बढेलगत्तै भारतीय हतियारसहित काठमाडौं र पोखरामा फेला पर्नुले एकातिर आपराधिक गतिविधि हुने पूर्वाभाषको संकेत गर्छ भने कतिपय नेता र दलका लागि यसपटकको निर्वाचन ‘गर या मर’ को वैधानिक युद्ध भएकाले त्यसमा उनीहरूले अवैधानिक हर्कतसमेत अपनाउने सम्भावना छ ।
त्यसो त नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति चित्त नबुझेका कतिपय शक्तिले पनि यसमा नकारात्मक भूमिका निर्वाह गर्न आवश्यक वातावरण तयार गर्दै छैनन् ? भन्ने संशयवादीको आशंकाप्रति पनि ध्यान दिनु जरुरी देखिन्छ । भारतसँग रहेको खुला सिमाना, नेपाली राजनीतिमा बढ्दो गुण्डाको प्रयोग र अपराधीलाई राजनीतिज्ञको आवरणमा चोख्याउने र वैधानिक ढंगले संरक्षण गर्ने ठूला दलको निकृष्ट व्यवहार आदिले पनि चुनावी हिंसालाई स्वाभाविक त बनाउँदैन भन्ने चिन्ता बढेको छ । गुण्डा, डन, अपराधी र अनैतिक व्यक्तित्वका रूपमा परिचित कतिपयलाई ठूला दलले स–सम्मान टिकट दिनु, व्यापारीले पैसाको भरमा उम्मेदवारी निश्चित गराउने हैसियत राख्नुले चुनावमा गर्न हुने र नहुने व्यवहार र निर्णयको कुनै हेक्का नराखी ठूला दलहरू होमिएको स्पष्ट हुन्छ ।
के अब नेपाली जनताले चित्त नबुझे पनि डनहरूलाई सांसद बनाउनै पर्ने हो ? भोट दिए देऊ नत्र म जे पनि गर्छु, भन्दै हिँड्नेलाई नै जिताउनुपर्ने नियति नेपाली मतदातामाथि थोपरिएकै हो ? या, स्वार्थ पूरा गर्न आफू शक्तिमा रहेको बेला सर्वसाधारणलाई जे गर्न र जसरी पनि लुट्न तयार रहेकाहरूलाई नै तिमी नै भोलि मन्त्री बन र ममाथि अत्याचार गर, भन्न आममतदाता तयार बन्नै पर्ने हो ? नत्र किन चुनावलाई चुनावजस्तो हुन दिइएको छैन ? किन राज्य उम्मेदवार र मतदाता दुवैको सुरक्षाप्रति चिन्तित देखिँदैन ? राज्यले के बुझ्न जरुरी छ भने यो चुनाव भनेको नेपाललाई अगाडि बढाउने कार्यको पहिलो खुड्किलो हो । यो थालनीमा गरिएको महायज्ञ हो । यसको सफलता र असफलता तथा यसक्रममा भए गरेका वा हुने प्रत्येक निर्णय र गतिविधिले भोलिको नेपालको चित्र निर्धारण गर्छ । त्यसैले यसलाई स्वच्छ, सरल, हिंसारहित अनि पवित्र महायज्ञ बनाउन सबै पक्ष जिम्मेवार र सचेत रहनुपर्छ ।
टिप्पणीहरू