सूर्यबिनायकदेखि सल्लाघारीसम्मको सानो संसार

सूर्यबिनायकदेखि सल्लाघारीसम्मको सानो संसार

भक्तपुरको सूर्यविनायकदेखि सल्लाघारीसम्म धेरै महिलाले फुटपाथ व्यापार सञ्चालन गरेका छन् । पुरुष पनि नभएका त होइनन् तर प्रायः महिलाले नै यस्तो व्यापार धानेका हुन् ।

फुटपाथ व्यापारबाट गुजारा चलेको छ । छोराछोरीको शिक्षादीक्षादेखि कोठाभाडा र रासन खर्चको जिम्मेवारीसमेत आफ्नै काँधमा बोकेका छन् ।

धेरैजसो महिलाले तरकारी व्यापार गरेका छन् भने केहीले कपडा व्यापारलाई पेशाको रूपमा अंगालेका छन् । सडकको छेउछाउ मकै पोलेर बेच्नेको पनि कमी छैन । दिनभर सडक छेउछाउ बसेर धुलो खानु कसैको रहर नभई बाध्यता हो ।

तर यसरी सबेरैदेखि रातिसम्म सडकमा बस्दा कतिपयको सामान्य व्यापारसमेत हुँदैन । यसरी सडकपेटीमा बसेर सामान बेच्नेहरूको पनि आफ्नै पीडा छ । बर्षातमा कि पानी, कि त घाम लागेपछि सडकमा धुलैधुलो हुनु नियती नै हो ।

वर्षातको पानीले कहिलेकाँही सामान सबै बिग्रिने गरेको तीतो अनुभव र पीडा पनि उनीहरूसँग छ । उमेरले ३० वर्षकी सीता तामाङको दैनिकी यसरी नै बित्छ । सूर्यविनायक चोकमा बसेर तरकारी व्यापार गर्ने उनका दुई छोराछोरी छन् ।

छोराछोरीलाई स्कुल पठाएर उनी आफ्नो कामतिर लाग्छिन् । एक मुठा साग दश रूपैयाँमा ल्याएर पन्ध्र रूपैयाँमा बेच्छिन् । कहिलेकाँही साँवा उठाउन पनि निकै मुश्किल हुने तामाङको भनाइ छ । नबिकेको साग किसानले फिर्ता पनि लिँदैन । सडकको छेउमा एउटा सानो झुप्रो बारेर दिनहुँ मकै पोलिरहेकी भेटिन्छिन् ४५ वर्षीया रूपा गहतराज ।

पहिले अरुको घरमा ज्यामी काम गर्न जाने उनले सूर्यविनायकको सडकपेटीमा बसेर मकै बेच्न थालेको ५ वर्ष बितिसक्यो । श्रीमानले काम नगर्ने र भएको पैसासमेत अन्यत्र खर्च गर्ने भएपछि उनको पिरलो बेग्लै छ ।

दिनभरि चर्को घाममा मकै पोल्दा आगोको राप सहनै नसकिने उनको भनाइ छ । हातमुख सबै दाउराको खरानीले कालैकालो हुन्छ । घामपानी भन्न पाईंदैन । त्यहीँका स्थानीयबाट हरियो मकै १५ रूपैयाँ प्रतिगोटा किनेर ल्याउँछिन् । दिउँसो १२ बजेदेखि मकै पोल्ने दैनिकी शुरु हुन्छ । त्यस्तै, सडकपेटीमा गुजारा चलाइरहेकाको छुट्टाछुट्टै वेदनाहरू छन् ।

तर उनीहरूको वेदना सुनिदिने कोही पनि देखिँदैनन् । न सरकार छ, न कुनै जनप्रतिनिधि । भोको पेटलाई बाँधेर बस्न नसकिने भएकाले धुँवा र धुलो खाएर भए पनि आफ्नो र परिवारको पेट उकास्न उनीहरू निरन्तर लागेका छन् ।

टिप्पणीहरू