गृहमन्त्रीको लाञ्छना संसद्को रेकर्डबाट हटाउन माग

गृहमन्त्रीको लाञ्छना संसद्को रेकर्डबाट हटाउन माग

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा बोलेका कतिपय विषय संसदीय मर्यादाविपरित रहेको बताएका छन् । 

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले 'सांसदले विदेशीलाई सूचना बेच्छन्' भन्ने गृहमन्त्रीको अभिव्यक्ति निन्दनीय रहेको बताए । उक्त भनाई संसद रेकर्डबाट हटाउन पनि सांसद शर्माले माग गरेका छन् । 

'संसदमा उभिएर गृहमन्त्रीले विदेशीलाई देशका सूचना बेच्ने मान्छे पनि संसदमा छन् भन्नुभयो, त्यो भन्न पाइँदैन', उनले भने, 'सभामुखलाई सोध्छु म, तपाईं विदेशीलाई सूचना बेचिन्छ, सांसदबाट भन्नेकुरा संसदमा बोल्न पाइन्छ भन्नेकुरामा सहमत हो ? यदी होइन भने किन रेकर्डबाट हटाउनु हुन्न ? सहमत हो भने गृहमन्त्रीलाई किन सोध्नुहुन्न, को हुन् तिनलाई गिरफ्तार गर ।’

गृहमन्त्रीजस्तो जिम्मेवार पदमा भएको मान्छेले संसदको रोष्टमबाट यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने बताउँदै महामन्त्री शर्माले प्रमाणित गरेर देखाउन चुनौती पनि दिएका छन् । 

रवि दोषी देखिए आफूहरु राजनीति छोड्ने र काँग्रेसका कोही व्यक्ति दोषी देखिए उनीहरुले राजनीति छोड्नुपर्ने भनी रास्वपाका नेताहरुले दिएको चुनौती स्वीकार गर्दै उनले भने, 'नयाँ दलको एउटा मित्रले के भन्नुभएछ भने- ममाथि छानबिन गर्नुस् यदी दोषी देखिनुभयो भने उहाँले पनि राजनीति छोड्नुहुन्छ हामी पनि राजनीति छोड्छौँ । विश्वप्रकाश शर्मामाथि छानबिन गर्ने, विश्वप्रकाश शर्मा दोषी देखिए विश्वप्रकाश शर्मा जेल जाने हो, बाँकी काँग्रेस जाने होइन । सती प्रथा हो ? श्रीमानको मृत्यु भएपछि श्रीमती जाने ? यो त चन्द्र समशेरको पालामा उहिल्यै अन्त्य भइसक्यो ।'

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडानमा कांग्रेस यथावत रहेको महामन्त्री शर्माको भनाई छ ।

टिप्पणीहरू