​ताकेको मुढो, थला प¥यो घुँडो

  • संकेत कोइराला

एउटा धनी मानिस अस्पतालको बेडमा थियो । उपचारका सबै प्रयास निष्फल भएपछि डाक्टरले सन्तान बोलाएर घर व्यवहारको काम जिम्मा लाउन आग्रह गरे । ती धनी मानिसले सन्ततिको सट्टा मुन्सी बोलाउन लगाए । मुन्सीसँग सम्पत्तिको फेहरिस्त मागे । लगत्तै ज्योतिष झिकाए । जिज्ञाशा थियो– ‘अर्को जुनीमा कुन ठाउँमा जन्म लिन्छु ?’ ज्योतिषले पेशाअनुसार कुनै ठाउँको नाम लिएर त्यहीँ साल–नाल गाडिने ठोकुवा गरे । ती महाजनले तत्काल वकिल झिकाएर आदेश दिए– ‘सम्पूर्ण जायजेथा ज्योतिषले भनेको ठाउँमा स्थानान्तरण गरी मेरा नाममा पास गराउनू ।’ 

यो ठट्टा नेपाली राजनीतिका सारथिसँग हुबहु मेल खान्छ । सत्ता पाएर के गर्नुपर्छ ? त्यो सत्यसँग दश कोश टाढा भए पनि सत्ताको चास्नी उनीहरूका लागि रुचिकर छ । भर्तृहरि नीतिले भनेको छ– ‘कहिले साँचो, कहिले भूmठो, कहिले कठोर, कहिले मधुर, कहिले हिंस्रक, कहिले खर्चिलो, कहिले प्रशस्त कमाउने यसप्रकार वेश्यासमान राजनीतिका अनेकौं रूप हुन्छन् ।’ मानिसहरू समस्याका कारण आत्तिन्छन्, रुन्छन्, कराउँछन्, गुनासो गर्छन् । तर समस्या त हरेक युगमा थियो । रामराज्यमा राजाको एउटा कपाल फुल्यो भने उत्तराधिकारीलाई राज्य सुम्पिइन्थ्यो । अपराधीहरू अपराध गरेपछि सरासर आपैंm जेल जान्थे । यद्यपि, रामराज्यमै कैकेयीलाई दलाली सिकाउने मन्थराजस्ता पात्र थिइन् । रावण राजमा कूलद्रोह गरेरै भए पनि सत्यपथ नछोड्ने विभीषणको अस्तित्व थियो । अहिले जसरी विज्ञापन गर्नेको संसार छ , त्यो बेला रावणले सीता हरण गरेको अन्तिम सूचना दिएर प्राण परित्याग गर्ने जटायुको खुटखबर पाइँदैन । त्यो सूचना नपाएको भए सम्भवतः रामायण पहिलो पृष्ठमै अन्त्य हुनसक्थ्यो । नल र निल रामायणकालीन त्यस्ता सिद्धहस्त इञ्जिनियर थिए, जसले सागरमा फालेको ढुंगा मात्र तैरिन्थ्यो । तिनैले रातारात तयार गरेको पुलले रामलाई अयोध्याको सार्थक नेता बनायो । रामायण, महाभारत, गीताको प्रचार भएर नै ती ग्रन्थ अमर दस्तावेज बने । तिनैको हाराहारीमा राजा जनक र अष्टावक्रको प्रश्नोत्तर रहेको अष्टावक्र गीता ओझेलमा प¥यो । प्रकृतिको आफ्नो नियम छ । संसारका हरेक प्राणीको लागि समयको लक्ष्मण रेखा एउटै हो । नुन र सुनको भाउ एउटै भएका दिन सत्ययुग प्रारम्भ हुने पण्डितहरूको तर्क छ । तर समय पानी हो । यसमा कस्तो रंग मिसाउने त्यो मानव कर्ममा निर्भर रहन्छ । नेताहरूको तर्कपछि सूर्य पूर्वबाट उदाएर पश्चिम अस्ताउने गरेको होइन । मुलुक संघीयतामा गएपछि लामखुट्टे मानिसको रगत चुस्ने कलामा पारंगत भएको होइन । गणतन्त्रकै कारण गाईले घाँस खान र बाघले मृग मार्न थालेको होइन । ठण्डी मौसममा हिन्दु , मुस्लिम, इसाइ, बुद्धिष्ट सबैलाई जाडो हुन्छ । खुर्सानीको पीरोले ¥याल, सिंगान बनाउँछ । टिम्मुरले सबैको जीब्रो उत्तिक्कै पर्पराउँछ । काँडाले घोच्दा सबैको हातखुट्टाबाट रातै रगत निस्कन्छ । खुशी हुँदा धराका सम्पूर्ण मानिसको अनुहारबाट निस्कने उच्छवास एकै हो । मन दुख्दा निस्कने आँसुको प्रकृति समान हो । मानिसको आँखाबाट निस्कने आँसु त्यस्तो पदार्थ हो, जहाँ एक प्रतिशत पानी र उनान्सय प्रतिशत भाव हुन्छ । त्यसैले आँसुसँग ठट्टा गर्नु हुँदैन । कर्म नराम्रो छ भने भाग्य पनि रुन्छ । सबैलाई थाहा छ– हिंड्ने गोरुकै पुच्छर निमोठिन्छ । लच्केको हाँगालाई झन लच्काउँछ मान्छे । जंगलमा सुरिलो र सिधा रुख नै काटिन्छ । अरू त अरू तपाईंका ईन्द्रीय नै स्वार्थी छन् । अन्धकार भएपछि आँखैले धोका दिन्छ, देखिँदैन । दिन ढलेपछि छायाँले छोड्छ । जीवन एउटा वाक्य हो । जवानी डिक हो भने वृद्ध कमा, अनि मृत्यु फुलस्टप । भूmटले सत्यलाई दुःख दिन त सक्छ तर परास्त गर्न सक्दैन । केराको पातजस्तो सपाट जीवन कसैको हुँदैन । 

बुद्धवाणी छ– ‘धान नबन चामल बन, धान बनेमा फेरि तिमीलाई यो दुःखरूपी हिलोमा रोप्ने छन् । चामल बनेमा मुक्ति पाउने छौ ।’ मूल्य पानीको हैन, प्यासको हुन्छ । मूल्य मृत्युको नभई सासको हुन्छ । मूल्य प्रेमको नभएर विश्वासको हुन्छ । छाताले पानी त रोक्न सक्दैन । वर्षामा उभिने साहस दिन सक्छ । आत्मविश्वासले सफलताको ग्यारेन्टी त गर्न सक्दैन तर संघर्ष गर्ने प्रेरणा अवश्य दिन्छ । जन्म लिनु भाग्य हो । मृत्यु समय हो । मृत्युपछि अरूको मनमा जीवित रहनु कर्मको फल हो । मानिस मिलन चाहन्छ, बिछोड छ । जन्ममा रमाउँछ तर जन्मसँगै मृत्यु टाँसिएर आउँछ । पुन्यको गाथा गाउँछ , पापले सँगसँगै गाँजिहाल्छ । हेर्नुस् त बिहे गराउने पण्डित साइकल चढेर आउँछ , डिभोर्स गराउने वकिल कार चढेर आउँछ । यस्तै छ यहाँ, जुटाउनेभन्दा फुटाउनेको शान बढी हुन्छ । सामाजिक सञ्जालको बाहुल्यपछि त झन् मानिस विवेक शून्य रोबोट बन्दैछ । एक रुपियाँको माल बोकेर मानिस सामाजिक सञ्जालमा करोडौंको दलालीमा समय खर्चिन व्यस्त छ । मेहनतभन्दा मानिस चट्कीको उपलब्धिमा रमाएको छ । पूर्वाग्रहविना उल्लेख यो सन्दर्भ वर्तमानसँग मेल खान्छ । 

स्याङ्जाली र झापाली एकै घरमा बस्थे । झापाली मासु बोकेर आएछ । यो देखेर स्याङ्जाली पनि मूला बोकी पसेछ । झापालीलाई मूला दिंदै भनेछ– ‘ए साथी, यो मूला पनि तिमी नै पकाऊ । मासु एक चोक्टो पनि दिनुपर्दैन मेरो मुला फिर्ता दिए हुन्छ ।’ मासु पाक्यो । झापालीले मुलाका टुक्रा फिर्ता दियो । मूला आउँदा स्वभावतः मासु आउने भइगो । विना लगानी टन्न मासु खायो स्याङजालीले । हो, नीतिहरूको मूल नीति राजनीति यस्तै अवसरवादबाट निर्देशित छ । 

मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नुस् । लेख्नुअघि दुईपल्ट सोच्नुस् । केही काम गर्नुअघि तीनपल्ट सोच्नुस् । सधैं हेक्का राख्नुस्– घमण्डले मान्छे फुल्न सक्ला तर पैmलिन सक्दैन । जो मान्छेसँग धनबाहेक अरू केही छैन नि, त्योभन्दा महादरिद्र संसारमा अरू कोही हुँदैन । कन्जुसलाई दानी मन पर्दैन । लोभी मगन्तेसँग डाढ गर्छ । रूपवानका लागि बुढ्यौली शत्रु सावित हुन्छ । व्यभिचारी महिलालाई पति मन पर्दैन । गरिबलाई धनी मन पर्दैन । तर जसको मन शोकले ब्याकुल छ नि उसलाई केही मन पर्दैन । 

जो मान्छेसँग धनबाहेक अरू केही छैन, ऊ नै संसारको सवैभन्दा महादरिद्र हो । गरिबले त कम से कम सपनामा धनी भएको देख्ला तर धनीले के देख्ला अनुमान गर्न सक्नुहुन्छ ? बाले भन्थे– बाबु , जत्रो ओढ्ने छ , त्यतिमात्र खुटटा पसार्नु । तर विडम्बना म सत्य चाहन्छु , असत्य छ । जीवन चाहन्छु , मरण छ । संयोग खोज्छु , वियोग छ । पूर्णता खोज्छु, जबर्जस्तसँग अपूर्णता आइलाग्छ । मन्त्रको जप गर्ने काम भक्तको हो, तर गन्ने काम भगवानको । प्रेम, धन र जवानीका अगाडि मानिस बफादार हुँदैन । यसरी नकमाउनु कि पाप होस् । यसरी खर्च नगर्नु कि ऋण लागोस् । यसरी नखानु कि अपच होस् । यसरी नहिँड्नु कि पुग्न ढिलो होस् । 

गाई विभिन्न रंगका भए पनि दूध सेतै हुन्छ । अलग–अलग धर्मको शैली अलग भए पनि आखिर त्यसको निष्कर्ष एउटै हुन्छ– मानिसले शुभ कर्म गर्नुपर्छ । 

सधैं एक पन्थ, एक ग्रन्थ र एक सन्तको बाटो अपनाऊ । हाँसेर गरेको पापको सजाय रोएर भोग्नुपर्छ । जसरी हातले बाँधेको गाँठो दाँतले टोकेर फुकाउनुपर्छ । दिनेको हात कहिल्यै खाली हुँदैन तर माग्नेको पेट कहिल्यै भरिँदैन । आजकल पद र पैसाका लागि मानिसको भागदौड छ । तर, शान्ति उसले पाएको छैन । किनभने शान्ति सम्पन्नतामा हुँदैन । शान्ति पाउनका लागि हामीले चार गुणको विकास गर्नुपर्छ– स्वयंसँग मैत्री, करुणा, प्रसन्नता र कृतज्ञता । ज्येष्ठ बन्न सजिलो छ तर श्रेष्ठ बन्न कठिन । श्रेष्ठ बन्न दृष्टिकोण बदल्नुपर्छ । 

घरमा अन्न हुनेलाई भन्दा नहुनेलाई बढी भोक लाग्छ । पत्याउनुहुन्छ ? निकै विलासी भनिएको देश बेलायतका विद्यार्थी सानोभन्दा सानो विषयमा पनि अज्ञानी ठहरिए । भर्खरै गरिएको एक अनुसन्धानअनुसार १० जनामा एकजनालाई गोलभेंडा बोटमा फल्छ भन्ने पत्तै छैन । उनीहरूको बुझाइमा यो माटोमुनि फल्छ । एकतिहाइ प्राथमिक विद्यालयका विद्यार्थी भन्छन्– चिज रूखमा फल्छ । १८ प्रतिशत साना विद्यार्थी माछाबाट बनाइने फिस फिंगर कुखुराको मासुबाट बनेको ठान्छन् । के यसो भन्दैमा लोकतन्त्रको जननी बेलायतलाई दुत्कार्न मिल्छ ? अहँ मिल्दैन । भनिन्छ– उपयोग विनाको धन काम छैन । नम्रता विनाको विद्या काम छैन । सहयोग विनाको हात काम छैन । स्वार्थले भरिएको प्रेम काम छैन । होस विनाको जोस काम छैन । पापसँगैको धर्म काम छैन । परोपकारविनाको जीवन काम छैन । योग्यता भएको मानिस कहिलेकाहीँ इमान्दार हुँदैन । 

एउटा अमेरिकी र एउटा जापानी जुत्ताका एजेन्ट एउटै जहाज चढेर अफ्रिका गए । सँगै उत्रिए । एउटै होटलमा बसे । अमेरिकी कम्पनीका एजेन्टले आफ्नो कम्पनीमा फोन गरेर भन्यो– ‘यहाँ सबै खाली खुट्टा हिंड्दा रहेछन् । कसैको ल्याकत रहेनछ जुत्ता किन्ने । त्यसैले म फिर्ता आउँदैछु ।’ तर जापानी कम्पनीको एजेन्टले खबर पठाएछ– ‘यहाँ जुत्ता व्यापारको सम्भावना सतप्रतिशत रहेछ । एक लाख जोर जुत्ता तत्काल पठाउनू ।’ हेर्नुस् त एउटाले बजार पायो । एउटाले गुमायो । जो मानिस स्वर्ग जाने नाममा हुटहुटिएको हुन्छ, उसैले पृथ्वीलाई बिगारेको हो । एउटा कवितालाई तोडियो भने शब्द मिल्छ, काव्य मिल्दैन । एउटा मानिसलाई काटेर हेरियो भने के हुन्छ ? एउटा राम्रो चित्रलाई २, ४ रूपैयाँको रंग र कुचीको रूपमा परिभाषित गरियो भने के हात लाग्छ ? मूर्ति, पूmल तोडियो भने के हुन्छ ? तीन हजार वर्षदेखि कुतर्क चलिरहेको छ । आशावादी मानिसले जहाज बनाउँछ , निराशावादीले प्यारासुट बनाउँछ । यी दुवै नगर्ने मानिस जमिनमा आलोचना गरेर बस्छ ।
 

टिप्पणीहरू